धनगढी । कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्तरूपमा यसै सातादेखि गणना सुरु गरेको हो । विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ ।
ग्रीष्मयामको सुरुवातदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय मानिन्छ । यो समयमा खरमजुर घाँसे मैदानमा देख्न पाइन्छ । शुक्लाफाँटाको विशाल घाँसे मैदानमा यसको अनुगमन भइरहेको छ । चैत ८ देखि सुरु भएको गणनाअन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरुलाल डगौराले बताए ।
‘साँझबिहानको समय भाले पोथी भेट्ने समय हो,’ डगौराले भने, ‘यही अवधिमा हामीले पनि देख्न सक्छौं ।’ उनका अनुसार भेन्टेज प्वाइन्ट विधिबाट खरमजुरको गणना भइरहेको छ ।
यो विधिअनुसार सुरुमा खरमजुर पाइने निश्चित स्थानलाई विभिन्न केन्द्रमा विभाजन गरिन्छ । उक्त केन्द्रमा एउटा टोलीले कम्तीमा दुई घण्टासम्म चारैतिर वाइनाकुलर र टेलिस्कोपको सहायतामा हेर्छ र क्यामेराले तस्बिर लिन्छ । ५ प्राविधिक दुई समूहमा विभाजन गरिएको छ ।
निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, लालपानी र अर्जुनीलगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरिएका छन् । सबै केन्द्रमा गणना सकिएपछि मात्रै नतिजा यकिन गर्न सकिने डगौराले बताए ।
सन् २०२१ मा गरिएको गणनामा शुक्लाफाँटामा ७ खरमजुर भेटिएको डगौराले बताए । यसपटक पनि ७÷८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ । खरमजुर घाँसे मैदानमै बस्ने पन्छी हो । यसको रंग पनि घाँसजस्तै हुन्छ ।
निकुञ्जको विशाल घाँसे मैदानमा व्यवस्थापन गरिएको क्षेत्रमा खरमजुर देखिन्छ। वन्यजन्तुकै भीडमा यो पन्छी देखिने डगौरा बताउँछन् । वनमै पाइने फल र किरा यसको मुख्य आहारा हो । गोबरमा पाइने किरा खानका लागि यो चरा वन्यजन्तुसँगै आउने गरेको छ ।
५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । साँझबिहानको समयमा यहाँ सयौंको संख्यामा बाह्रसिंगा देख्न सकिन्छ । तिनै बाह्रसिंगाको भीडमा कहींकतै खरमजुर पनि देखिने गरेको डगौरा बताउँछन् ।
शुक्लाफाँटामा पछिल्लो गणनाअनुसार ४ सय ५४ प्रजातिका चरा छन् । खरमजुर विश्वमै संकटापन्न अवस्थामा छ । नेपाल, भारत, कम्बोडिया र भियतनाममा मात्रै पाइने यसको संख्या १ हजारभन्दा कम छ ।
खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ । करिब एक सातासम्म गणनापछि नतिजा सार्वजनिक गरिनेछ । पन्छी संरक्षण संघका प्राविधिक डगौराका अनुसार अहिले कोसीटप्पुमा पनि गणना जारी छ । सबैभन्दा बढी खरमजुर कोसी टप्पुमै रहेको उनले बताए ।