सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, ढोर जस्पुरमा रहेका वंशु गुरुङका सन्ततिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार भेट गरी यस्तो माग गरेका हुन् ।

सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका तर्फबाट ज्ञापनपत्र बुझाउँदै सिन्धुली गढीको युद्धमा वीरतापूर्ण कदम चालेर नेपालको स्वाभिमान रक्षा गरेको भन्दै वंशु गुरुङलाई उच्च सम्मान गर्न माग गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ र बेलायत संयोजक लेख गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा इतिहासको कालखण्डमा नेपालीभूमिको रक्षाका लागि योगदान गर्ने वीर योद्धाको राज्यले सम्मान गर्नुपर्ने माग गरिएको छ ।

प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्नुपर्ने, इतिहासमा वीर योद्धाको भूमिकालाई उचित सम्मान गर्दै पुनर्लेखन गर्नुपर्ने र प्रतिष्ठानका लागि उचित बजेट विनियोजन गर्नुपर्ने लगायत माग राखिएको थियो ।

सिन्धुलीगढीमा अंंग्रेजसँग सन् १८२४ सालअसोजमा भएको युद्धमा वीरता प्रदर्शन गरेर नेपाल भूमि जोगाउने काममा वंशु गुरुङको अतुलनीय योगदान रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष लालजंगले सरकारले उच्च सम्मान गरिनुपर्ने बताए ।

ज्यानको बाजी राखेर नेपालीभूमि रक्षाका लागि खेलेको भूमिकाको सम्मानमा नेपाल सरकारले ऐतिहासिक निर्णय गर्नेमा आफूहरू आशावादी रहेको प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले बताए । उनले भने, ‘इतिहास जित्नेहरूको लेखिन्छ भनिए पनि वंशु गुरुङको सवालमा न इतिहास लेखियो, न त उचित सम्मान नै भयो ।’

ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगै रहेका तनहुँ १ का प्रतिनिधिसभा सांसद शंकर भण्डारीले सरकारले वंशु गुरुङलाई उचित सम्मान गर्नुपर्ने र आफ्नातर्फबाट निरन्तर पहल गरिने बताए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस’bout थप अध्ययन गरिने र यथोचित निर्णय लिइने बताए ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लेम तमू (लाम्छाने गुरुङ) समाजका अध्यक्षमा ओम गुरुङलगायतको उपस्थिति थियो ।

विश्वको कुनै पनि युद्धमा पराजित नभएका इस्ट–इन्डिया कम्पनीका अंग्रेज फौज सिन्धुली गढीमा भएको युद्धमा सन् १८२४ साल असोज १५ गते पहिलोपटक पराजित भएका थिए । विश्वमा नहारेका अंग्रेजलाई पराजित गराउने नाइकेमध्येका सिकारी सरदर वंशु गुरुङ एक थिए ।

उनले अंग्रेज फौजको परास्त गरी नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीरयोद्धा सिकारी सरदार वंशु गुरुङप्रति राज्यका तर्फबाट कुनै सम्मान नभएको गुनासो उनका सन्ततिको छ ।

अहिलेसम्म सिकारी सरदार वंशु गुरुङका सन्तानले २०७६ साल असोजमा प्रतिष्ठान स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएका समेत प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए । प्रतिष्ठानको निजी खर्चमा वंशु गुरुङकै पुख्र्यौली थलो तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२, ढोर जस्पुरमा अर्धकदको शालिक निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप