बझाङमा बोक्सो धपाउने पर्व सम्पन्न

बझाङ । परापुर्व काल देखी मनाईदै आएको बोक्सो धपाएको सम्झनामा मनाईने पर्व सम्पन्न भएको छ । नव बर्षको आगमन संगै मनाईने यो पर्व धुमधामका साथ मनाईएको हो । थलारा गाउँपालिका वडा नम्बर ९ अफ्लामा यो पर्व प्रत्यक बर्ष नव बर्षको आगमन संगै २।४ दिन सम्म विभिन्न मनोरन्जनात्मक तरीकाले मनाईने र मिठा मिठा परिकारहरु खाएर मनाउने परम्परा रहेको छ । यस बर्ष पनी डेउडा खेल, भारी खेल , लिङ्गो खेल (काँकर), भकुण्डो खेल सहित पर्व मनाईएको हो ।

परापुर्वकालमा महिसासुर दानवले अफ्लाको तोल्यानी मानव बस्ति भएको ठाउँमा भुतप्रेत लाग्ने विभीन्न किसीमका छलकपटहरु गर्ने गरेको पौराणीक भनाई छ । तोल्यानी भन्ने ठाउँमा कोही कसैले पनी जान नहुने, त्यहाँ भएका घर परिवारहरु समेत भागेर गाउँ नजीकैको अर्को ठाउँ बस्नु परेको थियो । पछी मष्टा देवताले उक्त दानवको अन्त्य गरेको सम्झनामा यो पर्व मनाईदै आएको पौराणीक भनाई छ ।

दिदि बहिनीको पुल्ती(पुत्ला) सेलाउने पर्व लोप हुदै

स्थानीय समाजसेवि धन बहादुर भण्डारीका अनुसार,‘ महिसाशुरको बध गरेको खुसियालीमा यो पर्व मनाईन थालेको हो । हामी साना हुँदा पनी तोल्यानी, भुवाखाँडा तर्फ जान हुदैन थियो । स साना बालबालीका तथा महिलाहरुलाई बोक्सो लाग्ने विभिन्न छलकपटहरु गर्ने हामीले पनी देखेका थियौ । त्यहाँ केही परिवारको बसाई पनी थियो । यही महिसाशुर र बोक्सोको कारणले त्यो ठाउँ बस्न छोडेर गाउँकै अर्को ठाउँमा बस्नु परेको थियो ।

जब महिसाशुरको बध मष्टा देवताले गर्यो । त्यस खुसियालीमा लिङ्गो (काँकर) खेल्ने, भकुण्डो हाल्ने, भारीखेल चाँभाई खेल, डेउडा,लगायत विभिन्न खेल खेल्नुका साथै मिठा मिठा परिकार बनाएर खाने प्रचलन अहिले सम्म पनी छ । महिसासुरको पेट चिरेको खुसियालीमा काठको झण्डै २५ मिटर लामो कांकरलाइ मानिसहरुले समाएर १ सय ५० मिटर जति हिडाउने गरिन्छ । काँकरलाई हिडाईसकेपछी गाउँ परिक्रमा गरी चौर भन्ने ठाउँमा उक्त काँकरको पुजाआजा सहित छोड्ने प्रचलन रहेको स्थानीय समाज सेवि ज्ञान बहादुर विष्टले बताए ।

यस पर्वको खुसियालीमा र आफ्नो कला संस्कृतीलाई जगर्ना गर्नका लागी सधैका बर्ष जस्तै यस बर्ष डेउडा खेल संचालन गरीएको थियो । पहिला बोक्सोले डराएको र महिसासुरले डराउने ठाउँमा अहिले भने मानबस्ति छ । जब मष्टा देवताले महिसासुर तथा बोक्सोको अन्त्य गर्यो । त्यसपछी यहाँ मानिसको बसाई भएको यहाँका बुढापाका बताउन्छन् । अहिले भने भुखाडामा कालिका प्रावि समेत संचालनमा छ । तोल्यानीमा भने परिवारको बसोबास भएको उहाँको भनाई छ ।

महिलाहरुको पुल्ती सेलाउने पर्व लोप हुदै
नयाँ बर्षको आगमन संगै पुरुषहरुले बेलुकी पख काँकर खेल खेल्ने र दिउसो तर्फ महिला दिदि बहीनीहरुले पुतली सेलाउने परम्परा थियो । अहिले यो परम्परा धेरै गाउँ बाट लोप भै सकेको छ । थलारा गाउँपालिका वडा नम्बर ९ अन्तरगत फकाली अफ्ला, मालुमेला, रावली, चित्रु,सिरेटा लगायतका ठाउँका महिला दिदि बहीनीहरुले नयाँ कपडाको पुत्ला(पुतली) बनाउने र पछी बाजागाजा सहित गाउँभरीका महिला दिदि बहीनीहरुले पानीको पधेरोमा गएर पुजाआजा सहित सेलाउने चलन थियो । अहिले यो प्रचलन कुनै पनी गाउँमा देखीदैन ।

यो परम्परा थलारा गाउँपालिकामा मात्रै नभई बझाङ जिल्लाका धेरै जस्तो गाउँहरुका दिदि बहीनीहरुले खेल्दै आएका थिए । दुलही बनाएर रुने र पधेरोमा पुगेपछी पुजाआजा गर्ने गाउँ भरी बाट विभिन्न किसीमका मिठा परिकार बनाउनका लागी अनाज जम्मा गरेर मिठा मिठा परिकार बनाएर खाने परम्परा लोप भएको स्थानीय बयवृद्ध महिला झिरकुली विष्टले बताईन् । उनले भनिन्,‘नयाँ कपडा बनाउदा बाँकी रहेका कपडा टुक्राहरु जम्मा पारेर पुतली (पुत्ला) बनाउन्थेऊ ।

पोईली घर गएका छोरी चेलीहरु गाउँमा जम्मा हुने सबै संगै एउटै ठाउँमा खाना खाने र रमाईलो गर्ने परम्परा थियो । अहिले अफ्लाको गाउँमा पुतली नसेलाएको ३ बर्ष भन्दा बढी भयो । अहिलेका छोरी चेलीहरुलाई यो पर्वको ’boutमा नत चाँसो छ, नत चिन्ता नै । कुनै पनी वास्ता नगरेका कारण महिला दिदि बहीनीहरुको मनोरन्जन गर्ने पुतली(पुत्ला) सेलाउने परम्परा लोप भएको हो’।

फकालीमा भने यो परम्परा लोभ भएको एक दशक भन्दा बढी भयो । अहिले छोरी चेली एक आपसमा भेटघाट हुने, माईती घरका र पोईली घरका खुःख दुखका कुरा हुने माद्यामको अन्त्य समेत भएको आफुले पाएको सन्तु देवि भण्डारीले बताईन् । पहिला पहिला यस्तो चलन थिएन । फोन भन्ने थिएनन् । महिला दिदि बहिनीको भेटहुने एउटै माद्याम भनेको र सुख दुखका कुरा गर्ने थलो भनेको नै यही पर्व थियो । सबै महिला दिदि बहीनीहरु संग कुरा गर्नका लागी र भेट गर्नका लागी १ बर्ष सम्म कुर्नु पथ्र्यो ।

अहिले त के हातहातमा मोबाईल छन् । सुख दुखका कुरा त्यसै बाट भै हाल्छ । यस्तो पर्वको यीनीहरुलाई के को आवष्यकता ? र यो पर्वको के महत्व ? हामीलाई त कति रमाईलो हुन्थ्यो । पुतली सेलाएको सम्झदै उनले विवाह हुनु अघि आफुले माईती घरमा धेरै पटक पुल्ती सेलाएको सम्झीन् । अब अरु संग संगै यो पर्वको समेत जगेर्ना गर्न जरुरी रहेको उनले बताईन् । यो पर्व छविसपाथिभेरा , खप्तडछान्ना गाउँपालिकाका केही गाउँहरुमा भने अहिले पनी मनाईदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह