कुशलको कीर्तिमानी शतकमा नेपालद्वारा ओमानलाई ३११ रनको विशाल लक्ष्य

काठमाडौँ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मदतमा १०८ रन बनाए। यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए।

यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे।

ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट हात पारे । यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो। प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´