मोटरसाइकल चोर्न आएका चोर आफ्नै बाइक छाडेर भागे, चप्पल पनि घटनास्थलमै

रौतहट । रौतहटको देवाही गोनाहीमा मोटरसाइकल चोरी गर्न आएका चोरहरू चोरी गर्न नपाउँदै आफ्नै मोटरसाइकल र चप्पल छाडेर फरार भएका छन्।

देवाही गोनाही नगरपालिका–४ गोनाही टोलमा आइतबार मध्यराति करिब १२ बजेतिर चार जनाको समूह मोटरसाइकल चोरी गर्न पुगेको थियो। घरअगाडि राखिएका चार वटा मोटरसाइकल चोरी गर्ने प्रयास भइरहेका बेला घरका सदस्यले थाहा पाएपछि चोरहरू भागेका थिए।

चोरहरू भाग्ने क्रममा स्थानीयले प्रतिकार गरेपछि उनीहरूको समूहमा रहेको एउटा मोटरसाइकल नियन्त्रणमा आएको हो।

स्थानीय रामाप्रवेश कुर्मीका अनुसार आफू घरमा नभएको समयमा चार जना व्यक्ति घरअगाडि रहेको बैठक कोठामा राखिएका मोटरसाइकल चोरी गर्न आएका थिए। उनका दाइ रामकिशोर प्रसाद पटेलले चोरहरूको गतिविधि थाहा पाएपछि होहल्ला गर्दै प्रतिकार गरेका थिए।

प्रहरीका अनुसार राति करिब १ बजेतिर रामकिशोर घरबाहिर निस्कँदा एक जना अपरिचित व्यक्तिलाई देखेपछि सोधपुछ गरेका थिए। त्यसपछि ती व्यक्ति भाग्न खोज्दा मोटरसाइकल छाडेर फरार भएका हुन्।

चोरले घटनास्थलमै भारतीय नम्बर प्लेट विआर ०६ ए एफ २५५१ नम्बर भएको मोटरसाइकल र एक जोर प्लास्टिकको चप्पल छाडेका छन्।

प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा राखेको छ। मोटरसाइकल कसको हो भन्ने पहिचान गर्नुका साथै चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चोरी गर्न आएका चोरले आफ्नै मोटरसाइकल र चप्पल छाडेर भागेपछि घटना अहिले देवाही गोनाही क्षेत्रमा चर्चाको विषय बनेको छ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीद्वारा हत्या अभियुक्तमाथि सार्वजनिक रूपमा कुटपिट