एक–अर्काको आलोचना गर्दै मनाए स्थापना दिवस


काठमाडौं । विभिन्न पार्टीमा विभाजित नेपालका कम्युनिस्ट पार्टीले ७५औं स्थापना दिवस पनि छुट्टाछुट्टै मनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार आयोजित कार्यक्रममा छुट्टाछुट्टै मञ्चमा एक अर्काको आलोचना गर्दै स्थापना दिवस मनाए ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपील गरे ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

उनले विगतका वामपन्थी एकता र ध्रुवीकरणको प्रसंग कोट्याउँदै एकता र ध्रुवीकरणको प्रक्रियालाई नेता–कार्यकर्ता र जनताले उत्साहको साथ अनुमोदन गरे पनि आफूहरूले नै बचाउन नसकेको स्वीकार गरे ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालले सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाए ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उनीहरू कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको बताए ।

ओलीले कम्युनिट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिस्ट सरकार कतिपयलाई नपचेको बताए ।

उनले कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको भन्दै सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको बताए ।

‘कसरी असल संस्कार भएका कम्युनिस्ट बन्ने भन्ने’boutमा बृहत् छलफल र बहस गर्न जरुरी छ ।’ उनले भने ‘सच्चा कम्युनिस्ट एक ठाउँमा मिल्नुको विकल्प छैन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको दाबी गरे ।
उनले देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउन वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न पनि अन्य कम्युनिस्ट पार्टीलाई आग्रह गरे ।

जनताको शासन सत्ता ल्याउन आफ्नो पार्टीले अन्य कम्युनिस्ट पार्टीसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको भनाइ थियो । उनले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको पटकपटक दोहो-याए ।

१० वैशाख २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कम्युनिस्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रूपमा त्यहाँ उपस्थित थिइनन् ।

२००६ मा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसअघि २३ चैत २००५ मा उनले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी