लकडाउनको प्रभाव : प्रदूषणमा भारी सुधार, रेड जोनबाट झर्यो

????????????????????????????????????

काठमाडौं । सरकारले मंगलबारदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएपछि काठमाडौं उपत्यकासहित मुलुकभरको प्रदूषणमा व्यापक सुधार आएको छ । सधैं प्रदूषणको ‘रेड जोन’ मा रहने क्षेत्रमा निरन्तर वायुको गुणस्तर सुधार भएको पाइएको हो ।
उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएकाले वायुको गुणस्तरमा सुधार भएको हो । सर्वसाधारण घरबाहिर निस्कन छाडेपछि मानवीय कारणले हुने वायु प्रदूषण पनि घटेको छ । हिउँदमा प्रदूषण मापन गर्दा सधैं ‘रेड जोन’ मा रहने काठमाडौं ‘लकडाउन’ पछि ‘ग्रिन जोन’ मा पर्न थालेको हो । यसले काठमाडौंको हावाको गुणस्तर धेरै राम्रो भएको देखाउँछ ।
सरकारले राखेको प्रदूषण मापन केन्द्रको तथ्यांकअनुसार सिमरा, सुुर्खेत, धनकुटा र दमकबाहेकका अन्य क्षेत्रमा वायु प्रदूषण कम भएर ग्रिन तथा एल्लो जोन कायम भएका छन् । शुक्रबार बिहान सिमरा मात्रै रेड जोनमा रहेको थियो । शुक्रबार अपरान्हपछि भने मुलुकका चार स्थान रेड जोनमा परेका थिए । शुक्रबार साँझ ५ बजेको तथ्यांकअनुसार सिमरामा पीएम २.५ को मात्रा १६९ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो । यस्तै, सुर्खेतको १५७ माइक्रोघनमिटर, धनकुटाको १५६ र दमकको १५४ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको वातावरण विभागको वायु प्रदूषण मापन यन्त्रले जनाएको छ ।
तथ्यांकअनुसार काठमाडौंको रत्नपार्क आसपासका क्षेत्रमासाँझ ५ बजेको आसपासमा वायु प्रदूषण पीएम २.५ को स्तर ३२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ । वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ ।
रत्नपार्कको पीएम २.५ को मात्रा भनेको नेपाल सरकारले तोकेको मापदण्डभन्दा कम हो । यसबाट काठमाडौंको वायुको गुणस्तर निकै सुधार गएको प्रस्ट हुन्छ । यसैगरी, काठमाडौंको शंखपार्कमा पीएम २.५ को मात्रा ४६ दशमलव २ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो । यस्तै, भैंसेपाटीमा ३० दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो । शुक्रबार बिहान मापदण्डभन्दा कम प्रदुषित भए पनि साँझ परेपछि वायु प्रदूषणको मात्रा बढ्दो क्रममा रहेको मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार भक्तपुरमा २७ दशमलव २ र धुलिखेलमा ४१ दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ । बिहान र दिउँसोसम्म प्रदूषण कम भए पनि साँझ परेपछि मात्रा बढेको पाइएको छ । लकडाउनको अवधिमा धेरै कम प्रदूषणको मात्रा पाइएको वातावरण विभागले जनाएको छ । विभागका अनुसार विगतका वर्षमा यस समयमा अत्यधिक प्रदूषणको मात्रा हुने गरेको थियो ।
उपत्यकाबाहिर पनि हावाको गुणस्तर राम्रो छ । पोखरामा पीएम २.५ को मात्रा ३५ दशमलव २ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण मापन गरिएको छ । सुनसरीमा ९४ दशमलव ४, नेपालगन्जमा १५ दशमलव ३, दाङमा २० दशमलव ६ र दमकमा १५४ माइक्रोग्राम प्रतिघनमिटर छ ।
नेपाल सरकारको वातावरण संरक्षण नियमावली २०५४ ले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले २०६९ ले पीएम २.५ को मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । सामान्यतया पीएम २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ । भारत, पाकिस्तानलगायतका मुलुकमा पीएम २.५ को मात्रा मापदण्डमा तोकिएको छ ।
नेपालका सबैजसो भागमा पीएम १० मा मापदण्डअनुसार कै वायुप्रणाली सक्रिय छ । पीएम १० भनेको १० माइक्रोनभन्दा कम व्यास भएका कण हो । यी कणहरू श्वासप्रश्वासको तल्लो भागसम्म पुग्न सक्छ, जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्छ ।
विभिन्न देशमा पीएम १० को मात्रा फरक–फरक छ । नेपाल सरकारले पीएम १० को मापदण्ड १२० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । नेपाल सरकारको वातावरण संरक्षण नियमावली, २०५४ तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले वायु प्रदूषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ । टीएसपी भनेको ‘टोटल सस्पेण्डेड पार्टिकल्स’ हो । यसमा पनि सबै क्षेत्रमा राम्रो सुधार देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई