काठमाडौं । विश्व रंगमञ्च दिवसको अवसर पारेर भर्चुअल रंगमञ्च महोत्सव ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ हुने भएको छ । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै थिएटर मल, कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा यस्तो महोत्सव आयोजना गरेको हो । यो महोत्सव विश्व रंगमञ्च दिवसको दिन शुक्रबारबाट सुरु भएको छ । विश्व रंगमञ्च दिवसबाट प्रत्यक्ष नाटक महोत्सव गर्न नसकेपछि फेसबुक पेजमार्फत उनीहरूले यो उत्सव सुरु गरेका हुन् ।
हरेक साँझ ठीक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट दैनिक एउटा नाटक देखाइने भएको छ । महोत्सव निर्देशक केदार श्रेष्ठका अनुसार कोभिड–१९को महामारीले पैदा गरेको संकटको समयमा रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्न लागिएको हो, ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ ।’ घरमै बसेर नाटक हेर्न र प्रतिक्रिया दिन पनि सकिने निर्देशक श्रेष्ठले जानकारी गराएका छन् ।
अहिलेको अवस्थामा नाटकप्रति दर्शकको चाहना जगाउने उद्देश्यसमेत रहेको जानकारी गराउँदै निर्देशक श्रेष्ठले भने, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रंगमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो । यसले रंगमञ्चका कलाकार र दर्शकबीच अन्तक्र्रियाको अवसर पनि सिर्जना गर्छ ।’ महोत्सवको पहिलो दिन शुक्रबार विश्व रंगमञ्च दिवसको सन्देश वाचन गरेर र अग्रज नाट्यकर्मीहरूको रेकर्डेड शुभकामना सन्देश सुनाएर महोत्सव सुरु गरिएको छ ।
‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ विश्व रंगमञ्च दिवस अर्थात् २७ मार्चकै दिनबाट सुरु गरिएको छ । महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको नारा ‘क्वारेन्टाइन, इट्स योर टाइम’ भन्दै हरेक बेलुका पाँच बजेबाट नाटक हेर्न आग्रह गरिएको छ ।
‘यस्तो विपद्, दुःख र भिन्न वातावरणमा नेपाली रंगमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन । रंगमञ्च आफैंमा त्यस्तो जटिल माध्यम हो, जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्ष मात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रंगमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन,’ उनले भने, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रंगप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दै छौं । यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रंगमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भने, ‘क्वारेन्टाइन अभियान नाट्योत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रंगकर्मीलाई आग्रह पनि गरेका छन् ।
लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरका नाटक पनि पालैपालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रसुन सिन्धुलीयले जानकारी दिए, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइमजस्तै ठीक समयमा हुनेछ र थिएटरकै नियम लागू हुनेछन् ।’ उनले लाइभ स्ट्रिमिङपछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे ।
फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ । त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने उनले बताइन्, ‘हामीलाई थाहा छ कि हामीले यो समयमा जे काम गर्दै छौं, रंगमञ्चका दर्शकको मनोभावना बुझरै गर्दै छौं । दर्शकहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ, सिर्जनामाथिको सर्वाधिकारलाई यहाँहरूले सम्मान गर्नुभएको छ र गर्नुहुने नै छ ।’
फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईका अनुसार नाटक सुरु हुनुअघि कोरोना (कोभिड १९)’bout सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमसमेत उद्घोषण गरिनेछ । नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा सेयर गर्न सकिने उनले जानकारी दिए ।






