काठमाडौं । विकास निर्माणको सबैभन्दा ठूलो रोग बनेको छ, वर्षौंसम्म आयोजना अलपत्र पार्ने काम । यहीँ रोगको बिचमा कतिपय यस्ता पनि काम भएका छन् जुन समयअगावै सम्पन्न भएका छन् ।
विकास निर्माण तथा भ्रष्टाचारका बीच यस्ता आयोजनाको कामले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने गरेको पाइन्छ । अर्कातर्फ समयअगावै निर्माण सम्पन्न गरेर सम्मान र बोनस पाउनुका साथै निर्माण कम्पनी र व्यवसायीले वाहवाहीसमेत पाउने गरेका छन् ।
समयमा काम नगरेकै कारण ठेकेदारहरू बदनाम भइरहेका बेला २०७५ को साउनमा पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरीलाई जोड्ने रातु पुलबाट पनि यस्तै सकरात्मक सञ्चार आयो ।
उक्त पुल सम्झौतामा तोकिएको भन्दा डेढ वर्ष पहिले नै पूरा भएको थियो । २०७४ असारमा कामको जिम्मा लिएको कालिका÷तुँदी÷रसुवा जेभी कम्पनीले २०७६ पुस मसान्तसम्ममा बनाउनुपर्ने पुल २०७५ को साउनमा नै बनाएर हस्तान्तरण ग¥यो । २३ करोड ७० लाख लागत रहेको रातु पुल बनाउन रातारात काम भएको थियो ।
यो समयअगावै निर्माण भएको पहिलो घटना भने थिएन । २०७४कै साउनमा मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पवृक्ष जोड्ने पक्की पुल समयअगावै बनेको थियो ।
२०७३ असार २९ गते ठेक्का लागेको पुल ०७६ पुस २८ गतेभित्र निर्माण सकाउनुपर्ने थियोे । कालिका÷रसुवा÷तुदी जेभीले २० महिनामा नै काम सकेर पुल सञ्चालनमा ल्याउन सफल भएको हो ।
राप्ती नदीमा आठ महिना अगाडि नै पुल निर्माण
ठेक्का भएको वर्षौंसम्म पनि पुल निर्माण भएन, पुल अलपत्र प¥यो भनिरहेको बेला २०७६ कात्तिकमा दाङमा भने ठीक उल्टो काम भयो । दाङको राप्ती नदीमा समयभन्दा अघि नै पुल निर्माण भएपछि सुरुमा धेरैले विश्वाससमेत गरेनन् ।
दाङकै विभिन्न नदी तथा खोला वर्षांैसम्म पुल बन्न नसकिरहेको अवस्थामा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुलको निर्माण कार्य समयभन्दा ८ महिनाअघि नै सम्पन्न भएको थियो ।
बर्दियाको कोठियाघाटको पुलपछि राप्ती नदीमा बनेको यो दोस्रो लामो पुल पनि हो । कोठियाघाटको पुल १ हजार १५ मिटर रहेको छ । यो पुल ८ सय ६० मिटर लामो र साढे १० मिटर चौडाइ छ ।
सो पुल अनक निर्माण सेवाले समयअगावै निर्माण सम्पन्न गरेको हो । ७७ असारभित्र भित्र निर्माण सम्पन्न गर्नेगरी अनेक निर्माण सेवालाई आर्थिक वर्ष २०७२÷७३ मा टेन्डर परेकोमा थियो । निर्माण कम्पनीले १ अर्ब लगानीमा समयभन्दा आठ महिनाअघि नै काम सम्पन्न गरेको थियो ।
ओराही खोलामा पनि नौ महिनाअघि नै निर्माण
बर्दियामा पनि एउटा पुल निर्धारित समयअगावै निर्माण सकिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा ओहोरदोहोर गर्ने ओराही खोलाको पुल तोकिएको भन्दा नौ महिना पहिले नै बनेको हो । ९ करोड ९६ लाख रुपैयाँ लागतमा बनेको यो पुलमा ओहोरदोहोर सुरु भइसकेको छ ।
पुल बनाउने कम्पनी सपना गाल्वा जेवी ज्वाइन्ट भेन्चरलाई जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले सम्मानसमेत गरेका छन् । कम्पनीले २०७४ को साउनमा ठेक्का लागेको यो पुल २०७७ साल असार मसान्तभित्र बनाउनुपर्ने थियो ।
भेरी–बबई सुरुङको छलाङ
ठूला आयोजना समयमा नै निर्माण सम्पन्न भएको उदाहरण भेट्न नै कठिन छ । भेरी–बबई डाइभर्सन आयोजना भने एक उदाहरणीय कार्य भएको छ । नेपालमै पहिलोपटक सुरुङ खन्ने विशाल उपकरण टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर आयोजनाको सुरुङ खन्ने काम निर्धारित समयभन्दा आगावै सम्पन्न भएको होे । १२ किलोमिटर यो सुरुङमार्ग खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीले पाएको थियो ।
आयोजनाले २०७४ कात्तिक २० गतेबाट सुरुङ निर्माण गर्न टीबीएम मेसिन प्रयोग गर्न सुरु गरेको थियो । सम्झौताअनुसार २०७६ चैत १५ गतेसम्म काम सक्नुपर्ने थियो । आयोजना एक वर्षअघि नै सम्पन्न भयो । यो सुरुङमार्गबाट भेरी नदीको पानी बबई नदीमा झारेर ४७ मेगावाट विद्युत् निकाल्दै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रम छ । यो सुरुङ खन्नका लागि साढे १० अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो ।
सामुदायिक भवनहरू पनि सयममा नै निर्माण
धनकुटाको शहीदभूमि गाउँपालिका–६ थलथले बजारको आँखीसल्ला स्वास्थ्यचौकी भवन पनि यस्तै उदाहरणीय कार्यमा पर्छ । १८ महिनाको म्याद भए पनि साढे १३ महिनामा नै भवन बन्यो । ठेकेदार कम्पनी सगरमाथा सुदिक्षा थुलुङ जेभीले भवनको चावी साढे १३ महिनामै सरकारलाई जिम्मा लगायो । समयअघि नै योजना पूरा गरेपछि कम्पनीले सरकारी नियमानुसार कुल लागतको करिब २० प्रतिशत बोनस रकमसमेत पाउन सफल भयो ।
हालै मात्र बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको भवन पनि समयमा नै निर्माण सम्पन्न भएको छ ।
भवन निर्माण गर्न २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग ९५ लाख ८५ हजार ४ सय १२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवन विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा निर्माण गरिएको हो । ५ कोठेको एक तले भवनमा दुईवटा शौचालय पनि छन् ।
विक्रम संवत् २०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गते नै हस्तान्तरण गरेको क्याम्पसले जनाएको छ ।
यसअघि, कर्मचारी सञ्चय कोष शाखा कार्यालय कोहलपुरको भवन पनि समयमा नै निर्माण सम्पन्न भएको थियो ।
थोडुङ-एचटीसी-वसना जेभी वीरेन्द्र्रनगर सुर्खेतले निर्माण सम्पन्न गर्नुपर्ने समय भन्दा १५ दिनअगावै सो भवन निर्माण सम्पन्न गरेका थिए ।
नराम्रा कामको ओझेलमा राम्रा काम
भौतिक पूर्वाधार तथा विकास निर्माणमा राम्रा काम नराम्रोको छायामा पर्ने गरेका छन् । आयोजना समयमा नै सम्पन्न नगर्ने, ढिलासुस्ती गर्ने हुने र भ्रष्टाचार बढी मात्रामा हुँदा समयमा नै निर्माण सम्पन्न गर्नेहरू पनि अन्य निर्माण व्यवसायीजस्तै बदनाम हुने गरेको पाइन्छ ।
सडक विभागले पनि नराम्रा काम धेरै हुँदा राम्रा कामको प्रचार धेरै हुन नसकेको बताउँछ । विभागका प्रवक्ता रामहरी पोखेरेल काम नभएका आयोजनाको दुर्गतिले राम्रा काम ओझेलमा पार्ने गरेको बताउँछन् ।






