सप्तरी । गाउँपालिकाभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसानको पहिचानका लागि रुपनी गाउँपालिकाले बिहीबारदेखि वर्गीकरणसहितका किसान परिचयपत्र वितरण कार्य शुभारम्भ गरेको छ ।
पहिलो दिन एक कार्यक्रमबीच गाउँपालिकाका विभिन्न वडाका गरी ३९ जना किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।
गाउँपालिकाका किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यस्तो योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए ।
कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको व्यावसायीकीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गरी गुणस्तरीय उत्पादन तथा किसानलाई समय समयमा विशेष सुविधा दिन सो परिचयपत्र वितरण कार्य प्रारम्भ गरिएको अध्यक्ष यादवको भनाइ छ ।
युवालाई कृषि पेसामा आबद्ध गरी उत्पादनमा जोड्न र रोजगार सिर्जना गरी आयमूलक विशेष कृषि कार्यक्रमको थालनी गरिएको उनले उल्लेख गरे । यो अभियान अझै जारी रहने उनले जानकारी दिएका छन् ।
गाउँपालिकाले किसान वर्गीकरणसम्बन्धी कार्यविधि गाउँसभाबाट स्वीकृत गराई राष्ट्रिय कृषक समूह महासंघसँग सम्झौतापश्चात सो योजना अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।
राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भुकुमार यादव, राष्ट्रिय किसान आयोगका प्रवक्ता जीवन्ती पौडेल, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रतिनिधि कुलप्रसाद रेग्मी, गाउँपालिकाका प्रशासन प्रमुख जामुनकुमार दासलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
रुपनी गाउँपालिकाले यसअघि किसानलाई प्रोत्साहन गर्न विद्युत् प्राधिकरणसँग सम्झौता गरी गाउँपालिकाभित्र सञ्चालित सिंगल फेज कृषि मिटरको सबै किसानको मासिक विद्युत् महसुल पनि बेहोर्ने निर्णय गरिसकेको छ ।






