पोखरा । मजदुरकवि इन्द्र राना ‘प्रतीक’ खुमपार्वती कलासाहित्य पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन्। तीन दशकदेखि कविताकर्ममा संलग्न भई नेपाली साहित्यको श्रीबृद्धिमा योगदान पु¥याएकोमा दमौलीमा आयोजित राष्ट्रिय साहित्य सम्मेलनमा उनलाई १० हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको हो । गण्डकी वाङ्मय प्रतिष्ठान’ को आयोजनामा शुक्रबारदेखि सुरु महोत्सव २ दिनसम्म चलेको थियो ।
प्रतिष्ठान अध्यक्ष सागर उदासले स्व. पिता खुमप्रसाद र माता पार्वतीका नाममा स्थापना गरेको पुरस्कार पहिलो पटक प्रतीकलाई प्रदान गरिएको हो।
साहित्यकार सरुभक्त र पुरस्कारका संस्थापक उदासकी माता पार्वतीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन्। हरेक वर्ष यसैगरि साहित्य, कला र संगीतका क्षेत्रमा काम गर्ने प्रतिभालाई सम्मान गरिने उदासले बताएका छन्।
कार्यक्रममा मजदुर कवि प्रतीकको योगदानका विषयमा पत्रकार अमृत भादगाउँलेले चर्चा गरेका थिए। कवि प्रतीकको जीवनसंघर्ष र सृजना प्रेरणादायी भएको उनले बताए।
पोखरामा कहिले सेती नदीका बालुवा चालेर, कहिले घरआँगनको रंगरोगन गरेर र कहिले गाउँघरका खेतबारीमा मजदुरी गरेर जीवन गुजारा चलाउँदै आएका कवि प्रतीक अचेल पोखराकै विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्।
वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले काठमाडौंमा भुइँमान्छेका कविता कार्यक्रम गरेर उनको योगदानको प्रशंसा गरेको थियो । त्यतिबेलै उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्णसँगै एकल वाचन कार्यक्रम गरिएको थियो ।
सम्मेलनको समापनका अवसरमा कविहरु भूपिन, चीनबहादुर कुमाल, गजलकार प्रदीप रोदनसहित धेरै कविले आ–आफ्ना कविता सुनाएका थिए ।






