काठमाडौं । नेपाल सहित विभिन्न देशमा कोरोना मत्थर भएपछि नेपाली कलाकारहरु सांस्कृतिक कार्यक्रमका लागि विभिन्न देश पुग्न थालेका छन् । यसै क्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपको २२ जना कलाकारको टोली यतिबेला युरोप यात्रामा छ ।
सो ग्रुपका प्रमुख रामचन्द्र कोईरालाको नेतृत्वमा गएको नृत्य समुहले चेक गणतन्त्रको प्लिजेन शहरमा ७ देखि ११ जुनसम्म आयोजित २५ औं अन्तराष्ट्रिय लोक संस्कृति महोत्सबमा नेपालका तर्फबाट विभिन्न लोक नृत्य प्रस्तुत गरिएको छ ।
नेपाली टोलीमा टोली प्रमुख आरसी कोईराला, नृत्य संयोजक एवम् कोरियोग्राफर जोगेन्द्र केसीसहित राम भुजेल, राम पान्डे, कृष्ण रेउले, शम्भु शाही, रिता बुढाथोकी, धनेश्वर तिवारी, भवानी कोईराला, गौरी ढकाल, उत्तम शर्मा, अनिषा श्रेष्ठ, चन्द्रमान मुनिकार, परी रिजाललगायत छन् ।
जोगेन्द्र अनुसार सो महोत्सबमा नेपालसँगै चेक गणतन्त्र, जर्मन, युक्रेन, स्लोभाकिया, क्रोएसियाका करिब ५०० कलाकारले आ आफ्नो भेषभुषामा लोकनृत्य प्रस्तुत गरेका छन् । कोरियोग्राफर जोगेन्द्रले भने,‘महोत्सबको उद्घाटनमा प्लिजेन शहरको विभिन्न मार्ग, चोक तथा सार्वजनिक स्थलमा सबैले आ आफ्नो सांस्कृतिक झाँकी सहित लोक नृत्य प्रस्तुत गर्ने क्रममा नेपालका तर्फबाट हामीले आफ्नो भेषभुषामा झाँक्री नृत्य, लाखे नृत्य तथा पञ्चेबाजा सहित नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका छौं । सो महोत्सबमा पाँच दिनसम्म हामीले नियमित रुपमा नेपालका धिमे नाच, कौडा नृत्य, गर्रा नृत्य, झ्याउरे नृत्य, झाँगड नृत्य, धिमाल नृत्य, थाली नृत्य, टप्पा नृत्य, मारुनी नृत्य, सोरठी नाच, डम्फु सेलो नाच, लाखे नाच, हुड्केली नाच, मञ्जुश्री नाच, भैरवकाली नाच, कुमारी नाच जस्ता मौलिक नृत्य प्रस्तुत गरियो ।’ त्यहाँ महोत्सबमा दिन दिनै नेपाली टोलीले फरक फरक नृत्य प्रस्तुत गर्दा दर्शक र आयोजक पक्ष निकै खुसी भएको पनि कोरियोग्राफर तथा नृत्य सँयोजक जोगेन्द्र केसीले बताएका छन् ।
करिब दुई महिनाको अभ्यास पछि हिमाल, पहाड र तराईकै डेढ दर्जन जति नृत्य लिएर आफुहरु सो महोत्सबमा गएको पनि जोगेन्द्रले राजधानीलाई बताए,‘हामीले नेपालको विविध लोक संस्कृतिलाई विश्वभर चिनाउन डेढ दशक भन्दा लामो समयदेखि अन्तराष्ट्रिय महोत्सबमा नेपाली नृत्य प्रस्तुत गर्दै आएका छौं र यसपटकको प्रस्तुति पनि भव्य भएको छ ।’ कार्यक्रममा आफुहरुले निकै प्रसँसा पाएको पनि उनले बताए ।
युद्धबाट ग्रस्त देश उक्रेनका कलाकारहरुले युद्धको पीडा विर्सेर महोत्सबमा आफ्नो लोकनृत्य प्रस्तुत गर्दा दर्शकहरु भावुव भएको जोगेन्द्रले बताए । तर युक्रेनका कलाकारहरुले युद्धको पीडाको भाव आफ्नो प्रस्तुतिमा नदेखाएको पनि उनले बताए ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको अध्यक्ष रामचन्द्र कोईरालाको नेतृत्वमा नेपाली टोली चेक रिपब्लिकमा कार्यक्रम सकेर शनिबार श्लोभाकिया पुगेको छ । श्लोभाकियामा आयोजना भईरहेको लोक संस्कृति महोत्सबमा आफ्नो प्रस्तुति दिएपछि यो टोली तीन दिनपछि अष्ट्रिय पुगेको छ । अष्ट्रियमा नेपालका झन्डा फहराउँदा त्यहाँ पनि विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर केही दिनमै नेपाल फर्कने नेपाली टोलीका नृत्य निर्देशक जोगेन्द्रले बताएका छन् ।






