बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका २०७४कै चुनाव यता विवादमा रहेको पालिका हो । उतिबेला जनप्रतिनिधिले पालिकाको केन्द्र आफु अनुकुल ठाउँमा राखेको भन्दै असन्तुष्ट बनेका व्यक्तिहरु अहिले पालिकाको नेतृत्वमा छन् ।
उतिबेला नेकपा एमालेमा रहेका उनिहरु अहिले स्वतन्त्रबाट जितेका हुन् । ७ वडा रहेको डिलाशैनीमा गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशी सहित ३ वडाहरुको नेतृत्व स्वतन्त्रले गरेकाछन् । उनिहरुका बिषयमा बेलाबेला टिका टिप्पणी भैरहन्छ ।
बिहिबार गाउँपालिकामा सुचना माग गर्न भन्दै २६ बुँदे ज्ञापनपत्र सहित ४ राजनितिक दलका प्रतिनिधी गाउँपालिकाको कार्यालयमा पुगे । उनिहरु संग गाउँपालिका अध्यक्षको केहि समय भनाभन भयो । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सुचना माग गर्न दलबलका साथ गाउँपालिकामा गएका ४दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र गाउँपालिका अध्यक्ष जोशी बीच भनाभन भएको हो ।
कांग्रेसबाट जयानन्द जोशी, एमालेबाट बिपिन नाथ, माओवादीबाट तिलक माल, नेकपा एसबाट बाशुदेव नाथ अग्रपन्तीमा थिए ।
ज्ञापनपत्र पेश गरिसकेपछि अनौपचारिक रुपमा बसौँ भन्ने धारणा राखेकाले दलका केहि प्रतिनिधिहरु गाउँपालिका अध्यक्षको कार्यकक्षमा उपस्थित भएको नेपाली कांग्रेसका डिलासैनी गाउँपालिका सभापति जयानन्द जोशीले बताए । ‘हामिहरु अनौपचारिक रुपमा छलफल गरिरहेका थियौँ, त्यहिबेला बाहिर भएका केहि ब्याक्तिहरुले गाउँपालिकाका एक कर्मचारीले सामाजिक सञ्जालमा राखेको धारणालाई लिएर वादविवाद भएको रहेछ ।,’ जोशीले भने । ‘त्यहि समयमा भित्रबाट गाउँपालिका अध्यक्ष ज्यू पनि जोस्सिएर बोल्नु भएको हो ।,’
झगडा गर्ने मनसाय आफुहरुको नरहेको बताउदै माओवादीका युवा नेता मालले गाउँपालिकाका कर्मचारीले फेसबुकमा स्थानियबासीहरुलाई होच्याउन लेखेको स्टाटसका बिषयमा विवाद हुदाँ गाउँपालिका अध्यक्ष कड्कीएको बताए ।
गाउँपालिका अध्यक्ष जोशीले हल्ला गरिरहेकाहरुलाई भित्रै बसौँ भन्दा नमानेपछी आक्रोस पोखेको बताए । ‘बाहिरनिर हान हान ‘घोगाड फाल’, लखेट त्योलाई, भन्ने आवाज सुनियो, मैले के भइरहेको हो, यो राम्रो भइरहेको छैन भनेर बुझ्न खोजे झन उग्र भइरहे, भित्र रहेका साथीहरुलाई पनि के भइरहेको छ भने केहि प्रतिक्रिया आएन, सबैलाई शान्त हुने भनेपनि कसैले मानेनन्, त्यसपछि आक्रोसीत हुन पुगेँ अन्य केहि होइन ।’ उनले भने ।
जोशीले गाउँपालिकाबाट सुचना माग भएको विषयलाई सम्बन्धित साखामा पठाइसकेको र प्रक्रिया अनुसार मागे अनुसार सूचना उपलब्ध गराईने बताए ।
गाउँपालिकामा हुदैँ गरेका कामकारवाही र भइरहेका कामहरुको जानकारी सहितको विवरण माग गरेको माओवादी केन्द्रका युवा नेता मालले बताए । ‘स्वास्थ्य केन्द्रको विषय जोडिएको छ, कर्मचारी नियुक्तीको विषय जोडिएको छ, योजना निर्माण देखि भएको भुक्तानीको विषयमा जान्न खोजेका हौँ ।’ मालले भने ।
गाउँपालिकाले खरिद गरेको डोजरको विषयमा पनि जान्न चाहेको कांग्रेस नेता जोशीले बताए । कार्यकर्ता भर्तीकेन्द्रको रुपमा गाउँपालिकालाई प्रयोग गरिएको समेत उनले आरोप लगाए ।
यसैगरी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले हालैमात्र सार्वजनिक सुनुवाई गरेको र त्यसमा धेरै योजना र कामका ’boutमा जानकारी गराइसकेको बताए । ‘अधिकांस जान्न चाहेको विषयमा सार्बजनिक सुनुवाई कार्यक्रममा बताइसकेका छौँ, त्यो दिन पनि सबै साथिहरु अन्तिमसम्म बसेनन्, हिजो सूचना माग्न आउदा जम्भो टोलि लिएर आए ।’ उनले भने ।
गाउँपालिकाको सर्वपक्षिय विकाससँग हातेमालो गर्न गाउँपालिका अध्यक्ष जोशीले आग्रह गरे ।
गाउँपालिकामा यस अघिको नेतृत्वका बिरुद्धमा ३बर्ष सम्म लगातार बिरोध भएको थियो भने, अहिले स्वतन्त्र बाट जितेका व्यक्तिहरुका बिरुद्धमा सामाजिक सञ्जालमा टिका टिप्पणी भैरहन्छन् । गत असारमा गाउँपालिकाकै कर्मचारीहरु बीच कुटाकुट भएको थियो । उक्त घटनामा संलग्न कर्मचारीहरु प्रहरी चौकी सम्म पुगेका थिए ।






