आज पुष्पलाल स्मृति दिवस

काठमाडौं । ‘माइला ! मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।’

यो वाक्य सहिद गंगालालले आफ्ना १६ वर्षीय भाइलाई अन्तिम भेटमा भनेका हुन् । ती माहिला भाइ पुष्पलाल श्रेष्ठ थिए । क्रान्तिकारी दाइ गंगालालका यी शब्दहरूले युवा पुष्पलालको मस्तिष्कमा गहिरो छाप प¥यो । लगत्तै १९९८ सालमा उनी अन्य केही उत्साही व्यक्तिका साथ नेपाल राष्ट्रिय कांग्रेसमा आबद्ध भए र राणाविरोधी अभियानमा होम्मिए । २००६ सालमा उनले नरबहादुर कर्माचार्यलगायत पाँच जनासँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे ।

पुष्पलाललाई नेपाली बामपन्थी आन्दोलनका जनक भनेर मान्दा अत्युक्ति नहोला । २०१५ सालको आमनिर्वाचनमा पुष्पलाल कांग्रेसका नेता गणेशमान सिंहसँग पराजित भएका थिए । पुष्पलालले पाएको मत देखेर गणेशमान थोरै झस्केका थिए र मतान्तर कम भएकोमा असन्तुष्ट समेत भएको बताइन्छ ।

‘कम्युनिस्ट मेनिफेस्टो’को नेपालीमा अनुवाद गर्ने उनी पहिलो व्यक्ति थिए । कम्युनिस्ट सिद्धान्तप्रति अगाढ आस्था रहँदा रहँदै पनि उनी सधैं लोकतान्त्रिक प्रणालीका अविचलित समर्थक रहे । आफूले स्थापना गरेको पार्टीभित्र अस्वाभाविक ढंगले अल्पमतमा पर्नेदेखि लिएर कम्युनिस्टबाटै ‘गद्धार’को बिल्लासमेत बेहोर्नुप¥यो उनले । २०१७ सालको शाही ‘कु’पछि त पुष्पलाल मृत्यु पर्यन्त अभाव र कष्टले भरिएको निर्वासित जीवन बिताउन बाध्य भए ।

साँच्चै भन्ने हो भने पुष्पलालले ‘सफलता’को थोरै पनि स्वाद कहिल्यै चाख्न पाएनन् । २०३६ सालमा जनमत संग्रहको घोषणा भएर थोरै खुलापनको अनुभव हुने बेला त उनको निधन भएको ९ महिना नाघिसकेको थियो । पुष्पलालले ७ साउन २०३५ का दिन भारतको नयाँदिल्लीमा अन्तिम सास फेरे । उनको शवसम्म पनि नेपाल ल्याउन सकिएन । तर, यति हुँदाहुँदै पनि लोकतान्त्रिक मूल्यप्रति उनी अडिग रहे, कहिल्यै झुकेनन् ।

२०३३ सालतिरै उनले नेपालमा गणतन्त्र आउने भविष्यवाणी गरेका थिए । कांग्रेस र कम्युनिस्ट मिलेर संघर्ष गर्नुपर्छ भन्ने उनको मान्यताले २०४६ सालमा मात्र मूर्तरूप लियो । ध्यान दिएर हेर्ने हो भने आज एमालेको बहुदलीय जनवादको सिद्धान्तलाई पुष्पलालले उहिल्यै अंगिकार गरिसकेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 831 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?