स्याङ्जा । अहिले स्याङ्जामा आँखा पाक्ने रोगको संक्रमण दिनहुँ बढ्दो रुपमा जान थालेको छ । एकसाता अगाडी स्वास्थ्य केन्द्रमा दैनिक १० जनामा देखिदै आएको संक्रमण अहिले दैनिक झण्डै १ सयभन्दा बढीमा देखिन थालेको हो । जिल्ला आँखा उपचार केन्द्र वालिङको तथ्याङ्क हेर्ने हो भने आँखा पाक्ने रोगका कारण अधिकांश बालवालिका धेरै रहेका छन् । दुइतिन देखि दैनिक ६० भन्दा माथी आँखाको समस्या लिएर आउने बिरामी रहेको केन्द्रले जनाएको छ ।
जिल्लाका सबै स्वास्थ्य केन्द्र र नीजि क्लिनिकमा आँखाको उपचार गर्न आउने बिरामीहरुको भिड लाग्ने गरेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । देशभर यो समस्या देखिएको र स्याङ्जामा पनि यो समस्या विकराल बन्ने अवस्था आउन सक्ने भउकाले सबै सचेत बन्न आग्रह गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखाको पाक्ने समस्या लिएर दैनिक ६० देखि ६५ जना बिरामी केन्द्रमा आउने गरेको जानकारी दिए । आँखाको समस्या लिएर आउने अधिकांश बिरामी वालवालिका रहेको उनले बताए ।
यस्तै जिल्ला अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि दैनिक आँखा पाकेर आउने बिरामीको संख्या धेरै रहेको बताइएको छ । यस्तै चापाकोट नगर अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि बिरामीको समस्या दैनिक बढिरहका नगर स्वास्थय शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाका अनुसार अस्पतालमा आउने बिरामीहरुमा आधा आँखाको समस्या लिएर आउने गरेको बताए । अस्पतालमा दैनिक ३० भन्दा धेरै बिरामी आँखाको समस्या लिएर आउने गरेका कोईरालाको भनाई छ ।
आँखा पाक्ने समस्याको उपचारका लागि विद्यालयमा अध्ययनरत बालबालिका, युवा तथा प्रौढहरू बढी आउने गरेको स्वाथ्यकर्मीको भनाई छ । ।
भिडभाड हुने स्थानबाट भाइरसको सङ्क्रमण छिटो फैलिने भएकाले ज्येष्ठ नागरिकभन्दा बालबालिका, युवा तथा प्रौढ समूहमा सङ्क्रमण बढी देखिएकोे स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेजस्ता लक्षण देखिने जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले बताए । ‘एडिनो भाइरस’ सङ्क्रमण निश्चित समयसम्म रहने भए पनि केहीलाई भने जटिल बनेर आँखाको नानीमा समेत असर गर्न सक्ने भएकाले लक्षण देखिएमा तुरुन्त आँखा अस्पतालमा परीक्षण गराउन गुरुङ्ले अनुरोध गरेका छन् । यो भाइरस रुघाखोकी जस्तै लक्षण हो उनले भने,‘यसलाई हल्का किसिमले लिन हुदैन, समयमै स्वास्थ्य केन्द्रमा पुगेर उपचार गर्नुपर्छ ।’ आँखा संवेदनशिल अंग भएकाले भाइरसबाट जोगाउन सचेत हुनु आवश्यक छ उनले भने ।
रोगबाट बच्न आँखाबाट निस्किने आँसु, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा सङ्क्रमण सर्नसक्ने भएकाले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले हात धुन स्वास्थ्यकर्मीको सुझाव छ । बिरामीको आँखालाई सिधा आँखाले नहेर्न, सङ्क्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न नदिन, सरसफाइमा ख्याल गर्न चिकित्सकहरुको सुझाव छ ।
बालवालिकामा सबै भन्दा बढी संक्रमण देखिएपनि पालिकाहरुले यसको न्युािकरणमा भने चासो देखाएको पाइएको छैन । जसले विद्यार्थी बालवालिका सबैभन्दा बढी प्रभावित भएका छन् । दैनिक आँखाका रोगी बढेसगै औषधकिो समेत अभाव हुने देखिएको छ ।