रेडियो–एफएमसँग रोयल्टीमा किचलो कायमै

काठमाडौं । मुलुकमा सरकारी, निजी तथा सामुदायिक गरेर करिब ७ सयवटा रेडियो एवं रेडियो एफएम–फ्रिक्वेन्सी मेडुलेसन) रहेका छन् । यीमध्ये ९९ प्रतिशत रेडियो तथा एफएममा नेपाली गीतसंगीत बज्ने गर्छन् । तर, बहुसंख्य रेडियो एवं एफएमले अझै पनि नेपाली स्रष्टाका लागि रोयल्टी नतिरेको गुनासो रोयल्टी संकलन समाज नेपालमा अध्यक्ष सुरेश अधिकारीको छ ।

‘राज्यले सबै रेडियोका लागि अनिवार्यरूपमा रोयल्टी तिर्नुपर्ने प्रावधान तय गरेको छ । सोही प्रावधानअनुसार हामीले रोयल्टी माग्दा मेरा सम्पूर्ण गीतसंगीत नै बहिष्कार गरेर रेडियो तथा एफएमले हामीलाई हतोत्साहितसमेत गरे ।’ गायक संगीतकार तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले भने, ‘हाम्रा गीत संगीत दिनभर बजाएर नै नेपालका रेडियो टेलिभिजन सञ्चालन हुँदै आएका छन् । बहुसंख्यक टेलिभिजन च्यानलले गीतसंगीतको रोयल्टी बुझाउँदै आए पनि रोयल्टी बुझाउने रेडियो संख्या अत्यन्त न्यून रहेको छ ।’

अध्यक्ष अधिकारीका अनुसार मुलुकमा करिब ७ सयवटा रेडियो तथा एफएम रहेको सम्बन्धित संस्थाले नै बताएका छन् । तर, यतिबेला करिब सय एफएम तथा रेडियोले मात्र रोयल्टी तिरिरहेको पनि अधिकारीले बताए ।

नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छातासंस्था, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल (आरबिए एफ), ब्रोड्कास्टिङ एसोसियन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (एकोराक)लाई संगीत रोयल्टी संकलन समाज नेपालले रोयल्टी तिर्न अपीलसहित पत्राचार हालै गरेको थियो । सो पत्राचारपछि गत ४ साउनमा रेडियो तथा एफएमसम्बन्धी यी संस्थाले संयुक्त विज्ञप्ति निकाल्दै रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीको कुनै पनि गीत संगीत आफ्ना रोडियोमा नबजाउने भन्ने घोषणा गरे । आफूहरूले तिरेको रोयल्टी वास्तविक स्रष्टाले नपाएको, रोयल्टीसम्बन्धी संस्थामा बस्ने पदाधिकारीले नै रोयल्टीको हिनामिना गरेको भन्दै यी संस्थाले सरकार आफैंले रोयल्टी लिएर सम्बन्धित स्रष्टालाई बुझाउने सर्तमा मात्र रोयल्टी तिर्ने घोषणा गरे ।

सो घोषणापछि अन्य क्षेत्रले पनि रोयल्टी तिर्न आनकानी गरेको प्रस्तोता समाज नेपालमा कार्यकारी अध्यक्ष निर्णय श्रेष्ठले बताएका छन्, ‘हामीले काठमाडौंका दोहोरीसाँझ, स्कुल, कलेज, विभिन्न कलकारखाना र उद्योगमा पुगेर रोयल्टी तिर्नुपर्ने आवाज उठाइरहेका बेला रेडियोसम्बन्धी संघसंस्थाले सामूहिकरूपमा विज्ञप्ति जारी गर्दै रोयल्टी नतिर्ने घोषणा गरे । सो घोषणासँगै उनीहरूले रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीको गीतसंगीत नै ब्यान्ड गरेपछि अन्यत्र पनि रोयल्टीमा किचलो सुरु भयो ।’

प्रस्तोता समाजका कार्यकारी अध्यक्ष निर्णय श्रेष्ठका अनुसार प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ ले व्यवस्था गरेबमोजिमको निकाय रोयल्टी बुझाएर वा बुझाउने सम्झौता गरेर मात्र स्रष्टाका गीतसंगीत व्यावसायिक रूपमा बजाउन पाउने प्रावधान रहेको छ ।

रोयल्टी मागेकै कारण सुरेश अधिकारीका सम्पूर्ण सांगीतिक सिर्जनालाई गत साउन ४ मा बहिष्कार गर्दै रेडियोसम्बन्धी संघसंस्थाले रोयल्टी नतिर्ने घोषणा गरेका थिए । सो घोषणाको लगत्तै गीतसंगीतसम्बन्धी संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सुरेश अधिकारीको संगीत सिर्जना खुला गर्न र रोयल्टी तिरेर मात्र गीतसंगीत व्यावसायिकरूपमा प्रयोग गर्न रेडियोलाई अपील गरे । सो अपीलपछि पनि रोयल्टीमा किचलो गर्न रेडियोसहितको प्रयोग कर्ताले अझै नछाडेको अध्यक्ष सुरेश अधिकारीले बताएका छन् ।

सो प्रावधानअनुसार रोयल्टी बुझाउन गत ९ साउनमा गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान, संगीत उत्पादक संघ नेपाल, नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत रोयल्टी संकलन समाज नेपालले संयुुक्त विज्ञप्ति जारी गर्दै रेडियोसँग सम्बन्धित संघसंस्थालाई दबाब दिए, ‘सो दबाबपछि उहाँहरूले मेरा सिर्जना बहिष्कारको निर्णय फिर्ता त लिनुभयो । तर रेडियो नवीकरण गर्ने क्रममा सञ्चार मन्त्रालयमा अझै पनि हाम्रो रोयल्टी तिर्न मान्नुभएको छैन,’ अधिकारीले भने ।

प्रतिलिपि अधिकार ऐनअनुसार जति गीत संगीत प्रयोग गरे पनि हजार वाटभन्दा मुनिका रेडियो तथा एफएमले वार्षिक २५ सय रुपैयाँ रोयल्टी तिर्नुपर्ने प्रावधान छ । हजार वाटभन्दा माथि क्षमताका रेडियोले वार्षिक १० हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ । हजार वाटभन्दा बढी प्रसारण क्षमता भएका कान्तिपुर एफएम, इमेज एफएम, सगरमाथा एफएमलगायतले वार्षिक १० हजार रुपैयाँ रोयल्टी तिर्ने गरेका छन् । १ हजारभन्दा कम वाटका रेडियोले वार्षिक २५ सय रुपैयाँ तिर्दा हुने पनि अध्यक्ष सुरेश अधिकारीले बताए ।

‘सरकारदेखि मन्त्रीसम्मको पहुँच देखाएर रोयल्टी नै तिर्दिन भन्दै किचलो गर्नु गलत हो । कानुनअनुसार रोयल्टी एक न एक दिन त तिर्नैपर्छ ।’ त्यसैले पछि जरिमानामा पर्नुभन्दा समयमै रोयल्टी तिरेर कानुनीरूपमा माथि पर्न पनि अध्यक्ष सुरेश अधिकारीले सम्बन्धित रेडियो तथा एफएम सञ्चालकलाई अपील गरेका छन् । यति बेला रेडियो तथा एफएम नवीकरण गर्ने समय सुरु भएकाले केही रेडियो तथा एफएम रोयल्टी तिरेर नवीकरणमा आउनुलाई अध्यक्ष अधिकारीले सकरात्मक मानेका छन् । व्यवसाय गरेपछि राज्यलाई कर तिर्नुपर्ने हुनाले स्रष्टाको रोयल्टी तिर्न पनि उनले अनुरोध गरेका छन् ।

‘संगीतकर्मी साथीलाई सम्बन्धित रेडियो तथा एफएमसँग सम्झौता गरेर मात्र आफ्नो गीत बजाउन दिनुहुन म अनुरोध गर्दछु । गीत बजाएबापत् रोयल्टी तिर्नु व्यावसायिक प्रयोगकर्ताको दायित्व भएकाले सम्झौताबिना गीतसंगीत नदिन पनि हाम्रो अनुरोध छ,’ अध्यक्ष सुरेश अधिकारीले राजधानीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार