काठमाडौं । भाइबर र ह्वाट्सएपमा दोलखा प्रहरी प्रमुखलाई म्यासेज पठाएको निहुँमा गालीगलौजमा मुद्दा दर्ता गर्ने धम्की दिएको भन्दै एक स्थानीयले प्रहरी हेडक्वार्टर नक्सालमा निवेदन दिएका छन् ।
दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले आफूलाई म्यासेज किन पठाएको भन्दै गालीगलौज गरी दुव्र्यवहार मुद्दा दर्ता गर्छु भनेर धम्की दिएको भन्दै एन्टिकरप्सनका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले प्रहरी हेडक्वार्टर नक्सालमा आफूसँग भएको कल डिटेल झिकेर छानबिन गर्न माग गर्दै निवेदन दिएका छन् । पाख्रिनले फोन संवादमा भएको कल डिटेल छानबिन गरेर प्रहरी नायब उपरीक्षकमाथि छानबिन गर्न र सो प्रमाणको प्रतिलिपी आफूलाई उपलब्ध गराउनसमेत माग गरी प्रहरी हेडक्वार्टर नक्सालमा निवेदन दर्ता गरेका छन् ।
३१ साउन बिहान ९ः४१ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख खड्काले ह्वाट्सएप र भाइबरमा मलाई किन म्यासेज गरेको ? कानुन तपाईंले मलाई सिकाउनुपर्छ ? भनी थर्काउँदै जिल्ला प्रहरी कार्यालयमा नआए गालीगलौजमा मुद्दा दर्ता गर्छु भनेर धम्काउने काम गरेको पाख्रिनले प्रहरी हेडक्वार्टरमा दिएको निवेदनमा उल्लेख गरेका छन् ।
त्यस्तै, प्रहरी प्रमुख खड्काले तपाईंको नाममा उजुरी परेको छ, उपस्थित नभए मुद्दा दर्ता गर्छु भने पनि के विषयमा मुद्दा दर्ता भएको हो ? सो कुरा आफूलाई जानकारी नदिएकाले अनुसन्धान गरेर विभागीय कारबाही गर्न माग गर्दै निवेदन दिएका छन् । उनले सो पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगलाई पनि दिएका छन् ।






