मजदुर पारिश्रमिक दिन ठेकेदारलाई अल्टिमेटम

खोटाङ । खोटाङमा सडक, पुल, भवनलगायतका संरचना निर्माणका क्रममा श्रम गर्ने मजदुर ठेकेदारबाट ठगिइरहेका छन् । एकदुई पैसाका लागि दुःख गरिरहेका मजदुरहरू वर्षौंसम्म पारिश्रमिक पाउनबाट वञ्चित छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भने मजदुरलाई मारेर नाफा कमाउने ठेकेदारलाई तत्काल भुक्तानी दिन एक साताको अल्टिमेटम दिएको छ । नगरपालिकाले दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ–दुबे चौतारा–खरबारी सडक स्तरोन्नतिका क्रममा पसिना बगाएका श्रमिकलाई एक साताभित्र पारिश्रमिक भुक्तानी दिन ढुकुचु-बगाले थापा-बिएनटी जेभीलाई अल्टिमेटम दिएको हो । सडक स्तरोन्नतिका क्रममा पसिना बगाएका कामदारले पारिश्रमिक नपाएको भन्दै मौखिक तथा लिखित उजुरी परेको आधारमा ठेकेदारलाई तत्काल हिसाब भुक्तानी दिन बिहीबार पत्राचार गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

ठेकेदारले कामदारको पारिश्रमिकबाहेक होटलमा खाएको खाना, खाजा तथा खाद्यान्न पसलबाट लगेका सामग्रीको भुक्तानीसमेत नदिएको भन्दै व्यवसायीबाट नगरपालिकामा उजुरी परेको छ । मजदुर तथा व्यवसायीको बक्यौता भुक्तानीका लागि फोन गर्दा ढुकुचु÷बगाले थापा÷बिएनटी जेभीका गणेश भण्डारी, कुमार भण्डारी, मोहन श्रेष्ठ र सम्पर्क व्यक्ति सञ्जीव गुरुङले फोन नउठाउने र सम्पर्कमा आउन नमानेकाले अल्टिमेटम दिनुपरेको नगरप्रमुख भट्टराईले बताए । ‘आजको मितिले सात दिनभित्र सम्पर्कमा आई मजदुर र अन्यलाई भुक्तानी गरी आफ्नो जिम्मेवारी एवं कर्तव्य पूरा गर्नुहोला,’ पत्रमा भनिएको छ, ‘अन्यथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाई सम्बन्धित निकायमा पक्राउ गर्न अनुरोध गरिने जानकारी गराइन्छ ।’

जिल्लाको सेखुवा–चखेवाभञ्ज्याङ सडक, महुरे–फोक्सिङटार सडक, पंखुखोला पुल निर्माणलगायतका ठुला आयोजनाको काममा पसिना बगाएका कामदारले समेत वर्षौंसम्म पारिश्रमिक पाउनसकेका छैनन् । अन्य ससाना ठेक्का तथा निर्माणसम्बन्धी योजनाको काममा पसिना बगाएका कामदारहरू ठेकेदारबाट ठगिइरहेका छन् । तर, ठगिएका मजदुरको पक्षमा आवाज उठाउने कोही नभएको बाहुनीडाँडा बेत्ताका हरिकुमार राईले गुनासो गरे । स्वयं मजदुरको हकहितको नारा लगाउँदै खुलेका संगठनहरूसमेत यस’bout बेखबर छन् ।

सडक स्तरोन्नतिको काम अलपत्र
ढुकुचु÷बगाले थापा÷बिएनटी जेभीले दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नतिको काम अलपत्र पारेको छ । २० पुस २०७८ भित्रमा सम्पन्न गर्नेगरी २० जेठ २०७८ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेका ठेकेदार अहिले काम अलपत्र छाडेर सम्पर्कविहीन छन् । पछिल्लोपटक थप भएको म्याद आगामी असोज मसान्तमा सकिँदै छ तर ठेकेदारको अत्तापत्तो नभएको नगरप्रमुख भट्टराईले बताए ।

सडक स्तरोन्नतिको अलपत्र काम तत्काल सुचारु गर्नका लागि नगरपालिकाले गत २६ साउन २०७९ मा पनि निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । तर, ठेकेदारले त्यसको समेत बेवास्ता गर्दै आएका छन् । स्तरोन्नतिको काम अलपत्र पर्दा हाल सो सडक हिलाम्मे बनेको छ । हिलाम्मे बनेको सडकमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अन्य पैदलयात्रीलाई आवत–जावत गर्नदेखि लिएर एम्बुलेन्स सञ्चालनमा समेत कठिनाइ भइरहेको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी