गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट सिमलटरीसम्म जाने सडकमा समयमै पुल नबन्दा नागरिकले सास्ती खेपेका छन् । कुल २९ किलोमिटर पक्की सडकको घमिर, फुलवारी, धनार्जे र हुलाके गरी चारवटा खोलामा पुल निर्माणाधीन छन् । तर, निर्माण व्यवसायीले काम नगर्दा दुईवटा पुलको म्याद थप गरिएको छ भने अन्य दुई पुल पनि समयमै निर्माण सम्पन्न हुने कुनै आधार छैन । चारैवटा पुलको कुल लागत कुल १९ करोड २६ लाख ५५ हजार २०१ रहेको छ । हालसम्म व्यवसायी २ करोड ६४ लाख ७० हजार ५२५ रुपैयाँ आठ पैसा भुक्तानी पनि लिएका छन् । तर, करोडौंका पुल अलपत्र पर्दा नागरिकले भने सास्ती खेपेका छन् ।
नागरिक भन्छन्, ‘नेताले धोका दिए’
इस्मा गाउँपालिका–६ का नरबहादुर अर्यालले पुल निर्माणका सन्दर्भमा नेताले आपूmलाई पटक–पटक धोका दिएको गुनासो गरे । ‘निर्वाचनअघि बन्छ भनेर भने तर जितेर गएपछि कुनै वास्ता गरेनन्,’ उनले भने, ‘ठेकेदारले पनि सुस्त गतिमा काम गरे ।’ खोला तर्ने क्रममा आफ्नै आँखाअगाडि मोटरसाइकल पल्टिएको र बगाएको देखेका उनले वर्षा हुँदा यातायात नै ठप्प रहेको दुखेको पोखे । मालिका गाउँपालिका–६ का माधव खनालले घरै अगाडि राजमार्ग बन्यो भनेर आनन्द नभएको बताए । राजमार्गमा निर्माणाधीन पुल समयमै नबनेर आपूmले सास्ती भोगेको उनले बताए । गुल्मी–२ का सासंद समेत रहेका गोकर्ण विष्टले कागजमा पुल बनाएर भोट लिएको तर अहिले वास्ता नगरेको समेत उनले आरोप लगाए । आफ्नो सवारी थुप्रैपटक हुलाके र धनार्जे खोलामा फसे पनि ठेकेदारले समयमै डोजर नपठाउँदा गाडी मर्मतमै थुप्रै खर्चनुपरेको उनको गुनासो छ ।

विद्यालय जान समेत समस्या
खोलामा पुल नबन्दा विद्यार्थीले पनि हैरानी खेपेका छन् । वर्षा भएका बेला खोला बढेर आउँदा विद्यार्थीहरू समयमै विद्यालय पुग्न नसक्दा पढाइमा पनि असर गरिरहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालय स्नातक तेस्रो वर्षमा अध्ययनरत इस्मा गाउँपालिका–५ की आयुष्मा अधिकारीले बताइन् ।
सडकमा उस्तै झाडी
सदरमुकाम तम्घासमा कार्यालय रहेको मदन भण्डारी राजमार्ग आयोजनाले हिउँदको समयमा नाली सफा गर्न लेन्थवर्कर राख्ने गर्दछ । तर, अहिलेको समयमा उक्त सडकमा एक जना पनि लेन्थवर्कर छैनन् । जसले गर्दा ढल सिधै सडकबाट बगेको छ । सडककै बिचबिचमा पहिरो जाँदा सवारी एवं यात्रुलाई समस्या भएको धुर्कोट गाउँपालिका–५ वस्तुका मनिराम भण्डारीले बताए ।
तम्घासबाट सिमलटारीसम्म जाने सडक पाँच वर्षअगाडि करिब एक अर्ब लागतमा पक्की भयो । तर, सडकबीच रहेका खोलामा पुल नबन्दा समस्या आएको छ । उक्त सडकबाट इस्मा, मदाने, मालिका र धुर्कोट गाउँपालिकाका नागरिकले प्रत्यक्षरूपमा लाभ लिने गर्दछन् ।

ठेकेदारको मनपरी, निरीह कार्यालय
सडक हेर्ने जिम्मा पाएको मदन भण्डारी राजमार्ग आयोजना गुल्मीका अनुसार पन्थ निर्माण सेवाले निर्माणको जिम्मा पाएको १५ मिटरको घमिर खोला पुल २० मिटरको फूलबारी खोला पुलको समयमै काम हुन नसकी म्याद थप गरिएको छ । दुवै पुल २०७८ फागुन २ गते सम्झौता भई यही भदौ १ गतेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।
कुल ३ करोड १३ लाख ८४ हजार २३४ दशमलव ८९ रुपैयाँमा निर्माण सम्झौता गरिएको घमिर खोला पुलको हालसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । ८४ लाख ४० हजार ४७८ दशमलव ५० भुक्तानी लगेको कम्पनीले यही गतिमा काम गरे उक्त पुल सम्पन्न गर्न अझै अढाइ वर्ष लाग्नेछ । ३ करोड ३२ लाख ६८ हजार ६३६ रुपैयाँ ८२ पैसामा सम्झौता गरिएको पूmलवारी खोला पुलको हालसम्म जम्मा २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कम्पनीले भने ७२ लाख २९ हजार ५१५ रुपैयाँ १३ पैसा भुक्तानी लगेको छ ।
सुनिल समिर निर्माण सेवा प्रालिले जिम्मा पाएको धनार्जे र रोदी खोला पुल निर्माणको प्रगति पनि निकै दयनीय छ । ३५ मिटर लामो धनार्जे खोला पुल ७ करोड ४८ हजार ९ सय ९३ रुपैयाँ ४९ पैसा एवं २५ मिटर लामो हुलाके खोला पुल ५ करोड ७९ लाख ५३ हजार ३३५ रुपैयाँ ६३ पैसामा निर्माण सम्पन्न हुनेगरी २०७९ साल जेठ २७ गते सम्झौता गरिएको थियो ।

तर, अहिलेसम्म ६८ लाख २६ हजार ६३५ रुपैयाँ १० पैसा भुक्तानी लगेको कम्पनीले धनार्जे खोलामा जम्मा १५ प्रतिशत मात्रै काम गरेको छ । १ करोड ५ लाख ९३ हजार ७ सय ६ रुपैयाँ पाँच पैसा झुक्तानी लगेको हुलाके खोला पुलको प्रगति २५ प्रगति मात्रै भएको कार्यालयले जनाएको छ । धनार्जे खोला पुल आगामी माघ २६ र हुलाके खोला पुल आगामी मंसिर २६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको कार्यालयका इन्जिनियर सन्तराम पाण्डेले बताए ।
इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणको समयअवधिभर कार्यालयले केही भन्न नमिल्ने बताए । ‘निर्माण व्यवसायीले ढिलाइ गरेका छन्, तर पनि दुईवटाको म्याद थप र दुईवटाको म्याद सकिन बाँकी छ ।’ उनले भने, ‘झाडी सफाइ र पहिरो हटाउन पनि टेन्डर गरेका छौं ।’







