काठमाडौं । गत वर्ष जेठदेखि मंसिरसम्ममा कुल ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको बिजुली निर्यात भएकोमा यसपालि दुई महिनामा नै ५ अर्ब ४३ करोडको बिजुली भारततर्फ निर्यात भएको छ ।
गत वर्ष जेठ १९ देखि निर्यात भएकोमा यस वर्ष साउनबाट बिजुली निर्यात गरेर गत वर्षको हाराहारीमा बिजुली निर्यात कात्तिकसम्ममा भइसक्ने देखिएको छ ।
रन अफ दि रिभरको आधारमा बनेका जलविद्युत् आयोजनाका बिजुली नेपालमा खपत भएर बढी भएका युनिट मात्र भारतमा निर्यात गर्दा चालू आर्थिक वर्ष (आव) २०८०–८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ नेपाल भित्रिएको हो । आर्थिक वर्ष २०७८–७९ को जेठ तथा असारमा पनि प्राधिकरणले २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो ।
– दुई महिनामै ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
– १० वर्षभित्र बर्सेनि १० खर्बको बिजुली निर्यात गरिने
बर्सेनि जलविद्युत् आयोजना थपिँदै जाने क्रम बढेकाले र भारतसँगको व्यापार सम्झौतामा पनि बिजुली खरिदबिक्री तथा प्रसारण लाइनको सम्झौता एकपछि अर्को हुँदै आएकाले नेपाल बिजुली निर्यातबाटै आर्थिक समृद्धितर्फ लम्किने सम्भावना बढ्न थालेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनमा मात्रै १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँको बिजुली निर्यात भएको छ भने भदौमा बढेर ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ अर्थात् ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् निर्यात बढेसँगै सेयर बजारमा पनि जलविद्युतका सेयरको मूल्य बिहीबार बढेको छ । बिहीबार जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ३१ प्रतिशत बढेको हो ।
साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा रहेका नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५ सय २२ मेगावाट र एनभिभिएनलाई १ सय १० मेगावाट गरी ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५ सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १ सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको बताइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबिचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि बिजुली निर्यातबाट भारतसँगको व्यापार घाटा कम गर्न सकिने धारणा सार्वजनिक गरेका छन् । उनले वर्षमा १३ खर्बको बिजुली निर्यात गर्ने वातावरण बनाउन सके राम्रो हुने धारणा राखेका थिए ।
बिजुली निर्यातबाट भारतसँगको व्यापार घाटा कम गर्न नेपाल विद्युत् प्राधिकरणले पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेको छ । यसैगरी देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न विद्युत् नपुगेका ठाउँमा विद्युत् पु¥याउन विद्युतीकरणको कार्य पनि चलिरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबिच अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रूपमा प्रयोगमा ल्याउन पहल गरिरहेको जानकारी पनि उनले दिए ।
सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रूपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)मा बिक्री सुरु गरिएको थियो । त्यसपछि गत वर्षको जेठ २७ बाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३ सय ६४ मेगावाट भारतीय बजारमा बिक्री गरिएको थियो ।
गतवर्ष आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४ सय ८ मेगावाट बराबर पुगेको थियो । अहिले भने ६ सय ३२ मेगावाटसम्म नेपाली बिजुली निर्यातका लागि बाटो खुलेको छ ।
प्राधिकरणले हाल निजी क्षेत्रका परियोजना र आफ्ना आयोजना गरी १४ आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरिरहेको हो ।
यस वर्ष भने नेपालले दैनिक करिब ११ करोड रुपैयाँबराबरको बिजुली भारततर्फ निर्यात गर्न थालेको छ । भारतमा अहिले दैनिक औसतमा ११ हजार मेगावाट आवर अर्थात् १ करोड १० लाख युनिट बिजुली निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।
हाल त्रिशूली जलविद्युत् आयोजना, देवीघाट, मस्याङ्दी, कालीगण्डकी ‘ए’ र मध्यमस्याङ्दीका भारततफ निर्यात भइरहेको छ । यसैगरी स्वीकृति पाएका चिलिमे, सोलु खोला, काबेली बी–१, लिखु–४, तल्लो मोदी, सोलु–दूधकोसी, दोर्दी खोला, माथिल्लो कालंगा गाड र माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात भइरहेको छ ।
भारतले ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट १ सय १० र महेन्द्रनगर टनकपुर प्रसारण लाइनबाट ७० मेगावाट गरी थप १ सय ८० मेगावाट बिजुली निर्यातको बाटो खोलेपछि कुल निर्यात गर्न सकिने बिजुलीको परिमाण ६ सय ३२ मेगावाट पुगिसकेको छ ।
यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ४ सय ५२ मेगावाट बिजुली निर्यात गर्दै आएको थियो ।
विगतका वर्षमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा अहिले निर्यात बढी र आयात कम हुन थालेको छ । प्राधिकरणले वर्षातमा भारततर्फ बिजुली निर्यात गर्छ भने हिउँदमा खरिद गर्ने गर्छ । नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ दि रिभरका आधारमा रहेकाले वर्षातमा बिजुली खेर जाने र हिउँदमा कम उत्पादन गर्ने खालका रहेका छन् ।
अहिले भारत प्रसारण लाइनको क्षमता ८ सय मेगावाटभन्दा बढी कायम गर्न राजी भइसकेकाले भविष्यमा बिजुली निर्यात अझ हुन सक्ने संकेत मिलेको छ ।
यसका लागि नेपालले हाल निर्माणको करिब अन्तिम चरणमा पु¥याइरहेको हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभीको प्रसारण लाइन कार्य सम्पन्न भएपछि ढल्केबर–मुजफ्फपुरको क्षमता पनि ८ सय मेगावाटभन्दा माथिको हुनेछ ।
हेटौंडा–ढल्केबर–इनरुवाको प्रसारण लाइन निर्माण नभइकन ८ सय मेगावाटभन्दा बढी बिजुली ढल्केबर पुग्दैन । हाल ढल्केबरसम्म खिम्तीबाट गएको २ सय २० केभीको एक मात्र प्रसारण लाइन छ ।
अहिलेसम्मको सम्झौताले १० वर्षसम्ममा १० हजार मेगावाट निर्यातलाई वैधानिक आधार प्रदान हुने अपेक्षा गरिएको छ ।
१० हजार मेगावाट विद्युत् नियमित रूपमा निर्यात गर्न सकेको खण्डमा एक वर्षमा नेपालले करिब ९ खर्ब रुपैयाँ आम्दानी गर्न सक्छ । तर, यसका लागि भने नेपालको उत्पादन क्षमता २५ हजार मेगावाट पुग्नुपर्ने बताइएको छ । अहिले नेपालमा विद्युतको जडित क्षमता करिब २८ सय मेगावाट पुगेको छ । जसमा जलविद्युत् २६ सय ३३ मेगावट, सौर्य विद्युत् ८७ मेगावट, थर्मल ५३ दशमलव ४ मेगावट, अफ ग्रिड सोलार र लघु जलविद्युत्, ८३ मेगावट, बगास अर्थात् उखुको खोस्टाबाट उत्पादित ऊर्जा ६ मेगावट रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले नै हाल मुलुकभर १ लाख ३० हजार मेगावट विद्युत् उत्पादन क्षमता रहेको प्रक्षेपण गरेको छ ।
१० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने राष्ट्रिय चाहना पूरा गर्न बैंक तथा वित्तीय संस्थाले पुँजीका रूपमा समेत लगानी गर्न सक्ने र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आवश्यक हेजिङ, लगानी तथा लाभांश र लगानी फिर्तासम्बन्धी नीतिनियम सहज हुनुपर्ने धारणा जलविद्युत् उत्पादकले भन्दै आएका छन् ।