काठमाडौं । सरकारले लकडाउनको बेला बन्द भएको सीमा नाका नखोल्ने जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सरकारले सीमानाका बन्द रहने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लकडाउनका बेला सीमा नाका नखोलिने बताए । सरकारले कूटनीतिक पहल गरेर जुन व्यक्ति जुन देशमा छन्, सोही देशको सरकारले उनीहरूको व्यवस्थापन गर्ने सहमति गरेको छ ।
‘कूटनीतिक पहल गरेर सरकार लकडाउनको बेला सीमा नाका नखोल्ने निष्कर्षमा पुगेको हो,’ भट्टराईले भने, ‘भारतमा हुने नेपालीको भारत सरकारले र नेपालमा हुने भारतीयको नेपाल सरकारले नै व्यवस्थापन गर्ने सहमति भएको छ ।’
यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीलाई एकपटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
सोहीअनुसार ११ चैतमा एकपटकका लागि सीमा नाकामा रहेका नेपाली नेपाल प्रवेश गरेका थिए । तर, अझै हजारौं नेपाली सीमा नाकामै अलपत्र परेका छन् । अलपत्र परेका ती नेपालीलाई सीमा नाकामै राख्ने र उनीहरूको खानपानलगायतको व्यवस्थापन गरिने सरकारको तयारी रहेको छ ।
लकडाउनका बेला सीमा नाका नखोल्ने प्रधानमन्त्री स्तरबाट भएको निर्णयअनुसार अब नेपालमा रहेका भारतीयको नेपाल सरकारले सम्पूर्ण व्यवस्थापन गर्नेछ । त्यस्तै, भारतमा रहेका नेपालीको खानपानलगायत सम्पूर्ण कुराको व्यवस्थापन भारतीय सरकारले गर्ने बताइएको छ ।
नेपाल प्रवेश गर्न खोज्ने नेपाली र सुरक्षाकर्मीबीच यसअघि झडपसमेत भएकाले सरकारले एकपटकका लागि नेपाल प्रवेश गराएको थियो । त्यसरी प्रवेश गर्ने नेपाली अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्थाअनुसार उनीहरू अहिले क्वारेन्टाइनमै रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।
नेपालको पूर्व र पश्चिमका नाकामा कतिपय नेपाली भारतबाट फर्किन खोज्दा अलपत्र परे पनि उनीहरूका लागि सीमा नाकामै खानपानसहितको व्यवस्थापन गरिने भएको छ ।
पश्चिमी नेपालको सीमा नाकामा रहेका नेपालीहरूको खानपानलगायतको व्यवस्थापन भारतीय सरकारले गरिरहेको र अन्यत्र पनि सोहीअनुसार व्यवस्थापन गरिने भट्टराईले जनाए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल सरकारले २५ चैतसम्म लकडाउन गरेको छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विभिन्न देशका सरकार जुटेका छन् । नेपाल, भारतसहित विभिन्न देशमा अहिले लकडाउन गरिएको छ ।