काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा करिब ४५ दिन छायांकन गरेर तयार गरिएको चलचित्र पशुपति प्रसाद २ ः भष्मे डन पशुपति क्षेत्रकै सेरोफेरोमा तयार भएको छ । पशुपति प्रसादको सफलतापछि यो दोस्रो शृंखला निर्माण गरिएको हो । आगामी महिना बडादसैंको अवसर पारेर ४ कात्तिक फूलपातीको दिनबाट यस चलचित्र प्रदर्शनमा आउने भएको छ ।
यही चलचित्रको दोस्रो गीत प्रेम शरणम…को भिडियो शनिबार सार्वजनिक गरिएको छ । चलचित्रका अभिनेता विपीन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रेमभावमा यस गीतको भिडियो केन्द्रित छ । पशुपतिनाथको दर्शन, भजन कीर्तनमा यी दुईको माया प्रेम बसेको यस गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।
¥यापको समिश्रण रहेको यस गीतमा कृष्ण भारद्धाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्धाजको शब्द रचना छ । गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालले स्वर दिएका छन् । सार्वजनिक गीतमा संगीतकार भारद्धाज आफैंले -यापमा स्वरसमेत भरेका छन् ।
भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । निरज कँडेलको डीओपी र कृष्णबहादुर थापाको छायांकनमा यस गीतको भिडियो तयार गरिएको हो । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको पशुपति प्रसाद २ ः भष्मे डनमा विपीन र स्वस्तिमा खड्कासँगै सौगात मल्ल, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको मुख्य भूमिका छ ।
चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको जिकिर गरे ।
चलचित्रलाई नेपालमा डीसीएन, टी फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दै छन् । टुकी आर्ट्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।