काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै राजनीतिक दलका नेताको समय घरमै बित्ने गरेको छ । दलका शीर्ष नेताले सामाजिक सञ्जालको माध्यमबाट जनतालाई सुरक्षित रहन आह्वान गरिरहेका छन् ।
कोभिड–१९ को सम्भावित संक्रमणको जोखिमका कारण मुलुकमा लकडाउन भएपछि नेताहरूले आन्तरिक भेटघाटसमेत गर्न छाडेका छन् । पार्टी कार्यालयमा हरेक दिनजसो भीडभाड हुने गरेका प्रमुख दलका कार्यालयसमेत सुनसान बनेको छ । दलका नेताले आवश्यक छलफल र परामर्शलाई टेलिफोनमा मात्रै सीमित गरेका छन् । दलका शीर्ष नेताकहाँ अत्यावश्यक कामले भेटघाट गर्न पुग्नेहरूले पनि आफ्नो निवासमा प्रवेश गर्दा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपरेको छ ।
‘विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो । तर, सरकारको लकडाउनले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक छ । कोरोनाबाट सुरक्षित हुँदा हुँदै कोही कसै पनि भोकमरीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु । जय नेपाल !’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुक स्टाट्समा लेखेका छन् ।
सरकारले लकडाउनको घोषणा गरेपछि धेरैजसो नेताहरू सेल्फ क्वारेन्टाइनमा छन् । भेटघाट, कार्यक्रम तथा छलफलहरू अवरुद्ध छन् । एक हिसाबले फेसबुकमा स्टाटस् लेखेर उनीहरूले जनतालाई सचेत र सरकारलाई घचघच्याएको जस्तो दखिए पनि उनीहरू आफैंले के गर्दै छन् भन्ने प्रश्न उनीहरूको स्टाटस्मा देख्न सकिन्छ ।
१४औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले आफ्ना सबै कार्यक्रम स्थगित गरेपछि नेताहरूका जिल्ला दौडाहा पनि रोकियो । हरेक दिन कार्यकर्ताको भीडभाड हुने कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पनि सुनसानजस्तै भएको छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार केही दिनयता सभापति देउवाले अत्यावश्यकबाहेकका भेटवार्तामा रोक लगाएपछि निवासमा कार्यकर्ता आउन छाडेका हुन् । ‘सभापतिज्यूले अत्यावश्यक र पहिले नै समय लिएर आएका कार्यकर्तासँग मात्रै भेटघाट गर्नुभएको छ,’ उनले भने, ‘योसँगै ठूलो संख्यामा कार्यकर्ता पनि आउन छोड्नुभएको छ ।’
देउवाले मात्रै होइन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले पनि फेसबुकमा स्टाटस् लेखेका छन् । नेपालको स्टाटसमा लेखिएको छ, ‘विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारलाई खाना उपलब्ध गराउन तथा अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षण गर्दछु ।’ अर्का वरिष्ठ नेता खनालले पनि स्टाटस् लेखेर हात धुन सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्,’ ‘कोरोना भाइरसबाट बच्न घरमै बस्नुहोस्, साबुन पानीले हात धुनुहोस्, हेन्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस् । आशा गरौं, महामारीको भय चाँडै अन्त्य हुनेछ ।’
नेपाली कांग्रेसका सभापति देउवा र नेकपाका वरिष्ठ नेताहरू नेपाल र खनाल तीनै जना पूर्वप्रधानमन्त्री पनि हुन् । सरकारले लकडाउनको घोषणा गरेपछि धेरैजसो नेताहरू सेल्फ क्वारेन्टाइनमा छन् । भेटघाट, कार्यक्रम तथा छलफलहरू अवरुद्ध छन् । एक हिसाबले फेसबुकमा स्टाटस् लेखेर उनीहरूले जनतालाई सचेत र सरकारलाई घचघच्याएको जस्तो दखिए पनि उनीहरू आफैंले के गर्दै छन् भन्ने प्रश्न उनीहरूको स्टाटस्मा देख्न सकिन्छ । यसैगरी, मिर्गौला प्रत्यारोपण पछि बालुवाटारमै स्वास्थ्य लाभ लिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनतालाई घरभित्रै बस्न आग्रहसहितको ट्वीट गरेका छन् । उनले बारम्बार जनतालाई सुरक्षित हुन आह्वान गरिरहेका छन् । कतिपयले प्रधानमन्त्रीको आग्रहको प्रशंसा पनि गरेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पनि सुनसान बनेको छ । नेता पौडेलले प्रेस विज्ञप्ति नै जारी गरी अत्यावश्यकबाहेक भेटघाटमा नआउन र टेलिफोनबाटै संवाद गर्न आह्वान गरेपछि सुनसान बनेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । उनले विज्ञप्तिमा भनेका छन्, ‘कोभिड–१९ भाइरस संक्रमणबाट सावधानी अपनाउनुपर्ने आवश्यकता महसुस गरी म आफ्ना सबै मित्रलाई आह्वान गर्न चाहन्छु । हामी सबैले स्वयंबाट सामाजिक दूरी कायम गर्न सुरु गरौं । आत्यावश्क काम-कुराकानी टेलिफोन सम्पर्कबाटै गर्न सुरु गरौं ।’
प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवास पनि सुनसान छ । उनले सामाजिक दुरी कायम राख्ने विषयलाई बढी महŒव दिएका छन् । ‘अहिले कार्यकतासँग भेटघाट छैन,’ उनले भने, ‘आवश्यक परेमा नेताहरूसँग फोनमार्फत नै कुराकानी गर्ने गरेको छु ।’ अर्को महामन्त्री पूर्णबहादुर खड्का पनि कोरोनाको जोखिम बढ्दै गएपछि काठमाडौं निवासमा नै बसेका छन् । उनले कोरोनाबाट बच्न र बचाउन नेताहरूलाई सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताए ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि घरबाटै सक्रियता बढाउँदै आएका छन् । भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले कोरोनाबाट बच्ने र बचाउने सन्देश दिइरहेका छन् । उनले कोरोनाविरुद्ध जनचेतना फैलाउन गीतसमेत ल्याएका छन् । कांग्रेसका केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, धनराज गुरुङलगायतले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय सम्प्रेषण गर्दै आएका छन् ।






