खोटाङ । खोटाङको दिक्तेलबजारमा नेपाल सहित १४ देशका राष्ट्रिय झण्डा फहराइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारदेखि सुरु भएको पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का लागि आएका १४ देशका चित्रकारको स्वागतमा १४ देशकै राष्ट्रिय झण्डा फहराइएको हो ।
दिक्तेलबजारको किरातचोक (रत्नपार्क)देखि बेस क्याम्पको बीच सडकको दायाँ–वायाँ बसेका विद्यार्थीले विभिन्न १४ देशका राष्ट्रिय झण्डा फहराउँदै स्वागतका नारा घन्काएका थिए । उनीहरुले हातमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामको झण्डा बोकेर ‘वेल कम इन दिक्तेल’ भन्दै स्वरमा स्वर मिलाएका । यस्तै, नागरिक समाज, कर्मचारी, जातीय भेषभुषामा सजिएका स्थानीयले फूलको गुच्चा दिएर चित्रकारको स्वागत गरेका थिए । चित्रकारको स्वागतमा राई समुदायले साकेला नाचेका थिए । दिक्तेल भित्रिएका स्वदेसी र विदेसी चित्रकारलाई भव्य स्वागत गरिएको छ । बजारमा ओर्लिएको भीडले चुनावको विजय ¥यालीको झल्को दिलाएको थियो ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीका लागि २० जना विदेसी र १७ जना स्वदेसी चित्रकार दिक्तेल आइपुगेका छन् । स्वदेसी तथा बिदेशी चित्रकारको स्वागतमा महुरे, नुनथला, मुढे, रत्नपार्क, सपिङ कम्प्लेक्स, बेस क्याम्प, त्रिबेणीचोक र शंखधर शाख्वा चोकमा स्वागतद्वार तयार पारिएको थियो ।
चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीमा सहभागीताका लागि नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार दिक्तेल आइपुगेका छन् । लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी अन्तरगत स्वदेश र विदेशका चित्रकारले असोज १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई प्रत्यक्ष क्यानभासमा उतार्ने छन् । १८ लाख खर्च हुने लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सय वटाको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने मेयर तीर्थराज भट्टराईले बताए ।
खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो । लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु-याउने दावी गरिएको छ ।
कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको मेयर भट्टराईले बताए । चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा तयार पारिएका क्यानभासलाई संग्रहालय बनाएर राखिने छ ।
चित्रकला कार्यशालामा जिल्लाका छात्र÷छात्रालाई पनि सहभागी गराइने छ । गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवानगरपालिकाका १५ वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्व सहितका तस्बिरहरु प्राथमिकीकरण एवं छनौट गरिएको छ । यस्तै, जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बीरहरु समेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने नगरपालिकाले जनाएको छ ।