खोटाङ बजारमा ५८ हजारको म्याद नाघेको खाद्य सामग्री जफत

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा भारी मात्रामा म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सोमबार गरिएको बजार अनुगमनका क्रममा ५८ हजार ४२८ रुपैयाँ मूल्या पर्ने म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ ।

इलाका प्रशासन कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय खोटाङबजार, खोटेहाङ गाउँपालिका र उद्योग वाणिज्य संघ खोटाङबजारको संयुक्त टोलीले बजार अनुगमन गर्ने क्रममा म्याद नाघेको मरिच, सुकमेलदेखि डिउ र क्यान बियरसम्म फेला परेको छ । सबैभन्दा बढी १३ हजार पाँच सय रुपैयाँ मूल्य पर्ने म्याद नाघेको खाने तेल नष्ट गरिएको छ । १० हजार ८५० रुपैयाँको आटा र छ हजार तीन सयको ठूलो चिया बरामद गरेर नष्ट गरिएको अनुगमन टोलीका सदस्य युवराज बिकले जानकारी दिए ।

म्याद नाघेको अवस्थाका चार हजार पाँच सय रुपैयाँको अजिना, तीन हजार छ सयको टप बिस्कुट, दुई हजार चार सयको बटर नाइस, दुई हजार १३५ को सानो चिया, दुई हजार २० को बिस्कुट, एक हजार ५६० को डिउ, एक हजार ४९५ को ज्वानो, एक हजार २६० को मेथी, एक हजार दुई सयको ल्याक्टो चकलेट, एक हजारको मधु, नौ सय रुपैयाँको सस नष्ट गरिएको छ ।

यस्तै, ७२० रुपैयाँको बेसार, सात सयको डेरी मिल्ड चकलेट, सात सयको बडी स्प्रे, पाँच सय ५० को इनामेल, पाँच सय १० को स्ट्रीङ जुस, चार सय ५० को क्रीम, ४५० को भ्यास्लिन, चार सय १० को चिज बल, चार सयको पानी पुरी मसला, दुई सय ९५ को क्यान बियर, १७५ को मःम मसला, एक सयको मरिच, ९० रुपैयाँको भुजा, ४८ रुपैयाँको पेष्ट र २० रुपैयाँको सुकमेल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । दशैं तिहार नजिकिँदैगर्दा इलाका प्रशासन कार्यालयका प्रमुख मोहनबहादुर राई संयोजकत्वको टोलीले बजार अनुगमन गरेको हो ।

खोटाङबजारमा जफत गरिएको म्याद नाघेको खाद्य सामग्री नष्ट गर्दै अनुगमन टोली । तस्बीर सौजन्यः युवराज कालिकोटे

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोले रच्यो इतिहास