दार्चुला । आफ्नो देशको प्रवेशद्धारमा ताला लागेपछि नेपालीहरु महाकाली नदी तरेर धमाधम नेपाल फर्किदैछन् । भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि उनीहरु त्यहाँबाट भाग्दै नेपाल प्रवेश गरिरहेका छन् ।
बुधबार श्रीवगड भएर नौगाड गाउँपालिका ३ का पदमसिह ठगुन्ना, लालसिह ठगुन्ना र जनकसिह धामी महाकालीमा पौडिएर नेपाल प्रवेश गरेका छन् । यस्तै सदरमुकाम खलंगाको तिंकर खेडा नजिकैबाट खलंगाकै स्थानीय गणेश भुल महाकालीमा पौडिएर नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
बैधानिक रुपमा झोलुंगे पूल भएर नेपाल प्रवेश गर्न नपाएपछि नपालीहरु ज्यानको बाजी लगाएर महाकालीबाट प्रवेश गरेका हुन् । ‘हामीलाई विदेशीलाई जस्तो अपमान गरे, आफ्नै देसमा छिर्न दिएनन्’ नौगाडका पदम ठगुन्नाले भने, ‘आफ्नो देश आउन ज्यान दाउँमा राखेर आयौं ।’
भारतले आफ्नो देशमा नेपाली लैजाउँ भन्दा पनि नेपाल सरकारले ल्याउँन नचाहेको भन्दै आक्रोश व्यक्त गर्दै उनले भने ‘हामी रहरले भारत गएका थिएनौं । आफ्नो देशमा काम पनि नदिने अनि भारत गएर मजदुरी गर्दा स्वदेश आउने ढोका बन्द हुने कस्तो सरकार हो ।’ उनको प्रश्न थियो ।
मंगलबार बैतडी पूच्र्यौडी नगरपालिका कमल ऐर, दिपक साउँद, दमन ऐर र डिलाशैनी गाउँपालिकाका लालबहादुर धामी, हर्क धामी, अमरसिह धामीले महाकाली पौडिएर नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई बुधबार सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा राख्ने गरी पठाइएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए ।
यस्तै व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा हामफालेर नेपाल प्रवेश गरेका नौगाड गाउँपालिका २ जना, मार्मा गाउँपालिकाका ८ जना, अमरगढी नगरपालिका डडेल्धुराका १ जना, आलीताल गाउँपालिकाका ३ जना बैतडी डिलाशैनी गाउँपालिकाका ५ जना र पुर्चाैडी नगरपालिका बैतडीका ८ जनालाई बुधबार सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।
‘पौडीन सक्नेले महाकालीमा हाम फालेर दिनुह नेपाल प्रवेश गरिरहेका छन्’ बझाङ कपलसेराका देवेन्द्र कामीले भने, ‘महाकालीमा पौडीन नसक्ने सयौँ नेपालीहरु हामी अहिले पनि भारतले राखेको क्वारेन्टाइनमा कोचिएर बसेका छौ ।’
‘आफ्नै ओड्ने विच्छयाउने भएकाहरुले राम्रोसँग सुत्न पाएका छन्, बाकीको अहिले पनि उहि धारचुलाको बगरकै जस्तो बसाई छ’ उनले भने ।
मार्मा गाउँपालिका ५ का दिलेन्द्र महता बजारमा चाउँचाउँ विस्कुट किन्न पनि नपाउँदा भोक मेटाउन नसकिएको बताउँछन् ।
भारतमा पनि २१ दिन लामो लकडाउन जारी छ । भारतको लकडाउन नखुलेसम्म नेपालीहरु नेपाल प्रवेश गराउन नसकिने पिथौरागढका जिल्ला अधिकारी विजय कुमार जोगदण्डेले मंगलबार धारचुलामा बोल्नुभएको थियो ।
नेपालीलाई अलपत्र पारेको भन्दै सरकारविरुद्ध सर्वोच्चमा रिट
महाकाली पारी नेपालीलाई अलपत्र पारेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । ६ जना अधिवक्ताले बुधुबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
अधिवक्ता मनिष कुमार श्रेष्ठ, रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दिपकराज जोशी र किर्तिनाथ शर्माले रिट निवेदन दर्ता गराएका हुन् । प्रधानमंत्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौँ, गृहमंत्री, गृहमंत्रालय सिंहदरवार, नेपाल सरकार रक्षा मंत्रालय, र परराष्ट्र मंत्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलय कैलाली, उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समितिको कार्यालयविरुद्ध रिट दर्ता गरिएको हो ।
नेपालभित्र आउने नपाउने गरी विपक्षीले गरेको निर्णय उत्प्रेणको आदेशले बदर गरी नेपाली जनतालाई देशका वभिन्न सिमानाकाबाट नेपाल प्रवेशमा कुनै किसिमको रोक नलागउनु भनी परमादेश जारी गरी पाउ भन्दै रिट दर्ता गरिएको हो ।
भारतको मदकोटमा नेपाली मजदुरको मृत्यु
भारत उत्तराखण्डको मदकोट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपालीको मृत्यु भएको छ । मार्मा गाउँपालिका वडा नम्बर २ ठुलथला घर भएका ४२ वर्षीय अगबरसिह ठगुन्नाको मृत्यु भएको हो ।
लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुंगेपूल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिक महिनामा मजदुरीको लागि मदकोट गएका ठगुन्ना झोलुंगे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको आफन्त प्रमानन्द ठगुन्नाले बताए ।
३०,३५ जनाको समूहमा नेपालीहरु मदकोटबाट घर फर्किदै थिए । सडकमा काम गर्न गएका उनीहरु नेपाल भारत जोड्ने झोलुंगे पूल खुल्ने भन्दै घर फर्किएका हुन् । गाउँमा काम नपाएपछि भारतमा मजदुरी गर्नका ठगुन्नाको मृत्यु’bout सँगै काम गर्न गएका आफन्तले खबर गरेका थिए ।
घट्ना’bout जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने जानकारी प्राप्त नभएको डिएसपी दिपेन्द्र बहादुर शाहीले बताए ।
यसैबीच मृतकका आफन्तहरुले भारतमा रहेको शव ल्याउने तयारी गरेका छन् । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै शव नेपाल ल्याउने पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् ।
मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, ‘हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौ, नेपाल भारत जोड्ने झोलुंगे पूल खुलाउने व्यवस्था गराइदिनुपर्यो ।’
भारतमा मजदुरको मृत्यु भएको कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार मृतकका आफन्तलाई भारतबाट ल्याउनको लागि भारत प्रवेशको लागि अनुमति बनाइ दिएको छ । भारतीय प्रशासनलाई पत्र लेख्दै विशेष कारण मृतक ल्याउनुपरेको भन्दै अनुमति जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिए ।






