आकाशीय संकेत : ज्योतिषजगत भित्रका गुढ रहस्य

प्रा. माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’

मूल वैदिक यज्ञादी कर्ममा कालशुद्धिका लागि प्रादुर्भूत भएको वेदाङ्गभूत ज्योतिषशास्त्र प्रकारान्तरले समाज तथा व्यवहारमा पनि सहायक सिद्ध भएको छ । मानवजीवनमा आइपर्ने विभिन्न गतिविधिको मार्गदर्शक यन्त्रका रूपमा पनि ज्योतिषशास्त्र प्रयुक्त हुनपुगेको छ । यसमा रहेको गणितका सहायताले ग्रहगति आदिको ज्ञान गरेर समाज तथा व्यक्ति व्यक्तिमा समेत तिनका शुभाशुभ प्रभावका विषयमा फल विवेचन गर्ने गरिन्छ । यसबाट निर्दिष्ट पथमा चल्दा मानवले आफ्नो जीवनलाई सहज बनाउन सक्छ र व्यक्ति तथा समाजलाई विकास, सुख र शान्तिको मार्ग पहिल्याउन सजिलो हुन्छ ।

सम्प्रति
यस विद्याको गहिरो अध्ययन–अध्यापन, साधना र प्रयोग गर्न सहज छैन । अध्येतामा हुुनुपर्ने आवश्यक गुण र साधनाको न्यूनताले गर्दा पछिल्लो समय यसको गहिराइमा पुग्नेको संख्या निरन्तर घटिरहेको छ ।

त्यसैले गर्दा अल्पज्ञानकै भरमा आफूलाई ठुलै विज्ञका रूपमा ठूलाठूला बोर्ड मार्फत विज्ञापन गर्ने गराउने व्यक्ति वा समूह र तिनका क्रियाकलाप तथा अभिव्यक्तिलाई आधार बनाएर वर्तमानमा समग्र ज्योतिषशास्त्र माथि नै आक्रमण भइरहेको छ र भ्रम फैलिरहेको छ ।

मार्गदर्शन
फलकथनमा सफल हुनका लागि प्रथमतः योग्य गुरुबाट सम्बद्ध ग्रन्थको विधिगत अध्ययन–अभ्यास र आफ्नो इष्टदेवताको साधना गर्नु जरुरी हुन्छ । आफू सदाचारमा रहेर नियमित ग्रन्थसाधना–अभ्यास र इष्टदेवको आराधना गर्नेले मात्र फलित शास्त्रमा केही हदसम्म पार पाउन सक्छ ।

जन्मकालिक ग्रहस्थिति
जीवले जन्मजन्मान्तरमा आर्जन गरेको कर्मअनुसार र सञ्चित परिणामका आधारमा उसले नयाँ जन्म लिन्छ । पूर्वजन्महरूमा गरेका कर्म परिणतिका अनुसार उसले स्वभाव प्रवृत्ति प्राप्त गर्छ । निजी कर्म परिणतिनुसार उसले प्राप्त गर्ने कर्म प्रवृत्ति संकेत गर्ने खालका ग्रहस्थिति रहेका समयमा उसले यस धरातलमा जन्म लिन्छ । त्यसमा ग्रहले कुनै प्रभाव पार्ने र जीवनलाई प्रभावित पार्ने होइन, तिनले केवल उसले गर्ने र पाउने केके रहेछ भनेर देखाउने मात्र काम गर्छ । जसरी सिसाले अनुहार देखाउन सहायता गर्छ, ठीक त्यसैगरी जन्मकालिक ग्रहले उसले गरेका र अब गर्ने कर्म प्रवृत्तिलाई देखाउँछ मात्र । त्यसमा कर्म परिणति र तिनका मात्राका अनुसार कर्ममा शिथिलता वा दृढता जानेर त्यसनुसार व्यक्तिले स्वयंलाई सुधार्नसक्ने अवसर थाहा पाउनका लागि ग्रहस्थिति जान्नु बुद्धिमानी हुन्छ ।

व्यक्ति पूर्वजन्महरूका कर्मनुसार जन्म लिन पुग्छ । त्यसैले, प्राप्त जन्म सुधार्न व्यक्तिले सक्दैन तर जन्मिसकेपछि अगाडिका गतिविधि र परिणतिलाई सुधार्नसक्छ । त्यसका लागि यस जन्मका जन्मकालिक ग्रहस्थिति हेरेर पूर्वजन्ममा रहेका न्यूनता जान्न तथा अब आउने समयलाई सुधार्न सहायता पुग्छ ।

जन्मान्तर
यहाँ पटकपटक पूर्वजन्मको प्रसंग उठेको छ । यसलाई कतिपयले अविश्वास व्यक्त गरेको पनि देखिन्छ । त्यस्ता पाठकले उपनिषद्हरूको अध्ययन गरेर त्यसमा स्पष्ट हुन जरुरी देखिन्छ ’cause वेद, उपनिषद् आदिकै अनुसरण गर्ने शास्त्र हो, ज्योतिष । यसमा वर्णन, विश्लेषण, विवेचन र प्रयोग गरिने सबै पक्ष वेदानुसृत हुन्छन् । त्यसैले, यसमा आउने विभिन्न प्रसंगलाई त्यसैगरी बुझ्न पनि जरुरी छ र त्यसका लागि पूर्ववर्ती शास्त्रको अध्ययन अनुशीलन गरिनु बुद्धिमानी हुनेछ ।

ग्रहफल
ग्रहले भाग्य बनाउने र बिगार्ने वा सपार्ने होइन, जन्मकालिक ग्रहस्थिति हेरेर सम्बद्ध व्यक्तिमा र कर्ममा न्यूनता थाहा पाउने र त्यस न्यूनतालाई हटाउने उपाय जान्न तथा त्यसनुसार अत्मरक्षा गर्न मार्ग प्रशस्त हुन्छ । साथै, पूर्वकर्ममा पनि दृढ कर्म अदृढ कर्म र दृढादृढ कर्म गरी कर्मका यी तीन अवस्था हुन्छन् । यीमध्ये कुनखालका ग्रहस्थिति बढी प्रभावित छन् भन्ने कर्म परिणतिलाई जानेर अदृढ कर्म परिणतिलाई निर्बल वा सबल बनाउन सकिने उपायहरू पनि शास्त्रीय रूपमै प्राप्त गर्न सकिन्छ ।

योजना
अनेकौं जातकहरूका जन्मकालिक ग्रहस्थिति हेरेर तीमध्ये विशिष्ट प्रतिभाहरूको पहिचान गरी तिनको गणितीय दृष्टिले निर्देश गरेनुसारका निश्चित विषय तथा क्षेत्रतर्फ तिनलाई केन्द्रित गराएर राज्यले आफ्नो आवश्यकताअनुकूल क्षेत्रको विज्ञका रूपमा तिनलाई सानैदेखि नै लगाउनसक्छ । त्यसो गर्दा यस शास्त्रको उपयोगिता, देशको आवश्यकता र उत्पादित जनशक्तिको मूल्यांकन पनि हुन्छ । यस तहको योजना बनाएर जनशक्ति तयार गर्न सकिन्छ । यस शास्त्रका माध्यमले यस्ता अनेकौं सम्भावनाको खोजी गर्न सकिन्छ । त्यसका लागि सरकारी, गैरसरकारी संघसंस्था तथा समाज र व्यक्तिसमेतले यसप्रति चासो राख्नु व्यक्तिगत र सामाजिक जीवनका लागिसमेत अति सान्दर्भिक हुन्छ ।

यस साता
यस साताका लागि वर्तमान आकाशको केही परिदृश्य र तिनका फल संकेत यसप्रकार रहेका छन् । समाजका अग्रपंक्तिका व्यक्तिको वाणीमा संयम, प्रत्यक्ष अर्थव्यवस्थापन र नागरिकका समस्याका विषयमा यस महिना अझ सकारात्मक हुनसकेको छैन तापनि कात्तिक सुरु भएपछि केही समाधानका लक्षण र चिन्तन कार्यगत रूपमा देखिनेछन् । विगतको तुलनामा समयमा गतिशीलता थपिनेछ । मुलुकले अग्रसरता देखाउनेछ । सबल नेतृत्वको परिचय देखिनेछ । अर्थबजार फेरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई