पर्यटन प्रवद्र्धनको पर्खाइमा अजिरकोट

अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १ हजार ९८ दशमलव शून्य ५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका समुन्द्र सतहदेखि करिब ३ सय मिटरदेखि ८ हजार मिटरसम्म रहेको छ । यो क्षेत्र गाउँपालिकाका पँचवटा वडाहरू घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १३ हजार २ रहेको छ । यसको राजनीतिक सिमाना पूर्वमा शूलीकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ । अजिरकोट दरौंदी नदीय पूर्वीपाटो र च्यावन (चेपे) नदीतर्फको पश्चिमी पाटोको ठीक मध्यबिन्दु डाँडामा अवस्थित पौराणिक कालदेखि वर्तमानसम्मको ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरका रूपमा प्रसिद्ध गढी-कोट हो ।

यहाँको चेपे तथा दरौंदी नदी धार्मिक, कृषि, सिँचाइ, जलविद्युत् आदिबाट महत्वपूर्ण छन् । चेपे नदीका सन्दर्भमा आफ्नै इतिहास छ । राजा द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरी शाहलाई ईष्र्या भयो । उनले ‘भाइ द्रव्य शाहले मेरै सरदारका रूपमा गोरखा विजय गरेकाले गोरखामाथि लमजुङकै अधिकार हुन्छ’ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरी शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथि आक्रमण गर्ने लगायतका योजनाहरू बनाई पटकपटक आक्रमण प्रयास ग¥यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । दुई भाइबीच झगडा भएपछि दुवै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाई दुई भाइलाई सीमा छुट्ट्याएको किंवदन्ती छ । यसै कारणले पनि चेपे नदीको ठूलो इतिहास छ ।

नागपोखरी डाँडामा प्याराग्लाइडिङ तथा जिपलाइनजस्ता साहसिक खेलको सम्भावना रहेको छ

थोरै समथर टारहरू र अधिकांश पहाड हरियाली वातावरण र हावापानीसहित जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकामा हावापानीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत सबै जात, जाति, वर्ग र समुदायका संयुक्त बसोबास रहेको छ । जसमा ब्राह्मण, क्षेत्री, अदिवासीहरू, घले शेर्पा गुरुङको प्रमुख बसोबास रहेको छ । यो भूमि ऐतिहासिक, धार्मिक, आयुर्वेदिक, सांस्कृतिक दृष्टिले समेत विविधता र सम्भावनाले भरिपूर्ण रहेको छ । हिमचुली हिमाल, दूधपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितुमाढी, सप्रोमाढी, नार्गोमाढीलगायतका यहाँ विशाल माढीहरू छन् । यी माडीबाट तराईको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । दरौंदी र चेपेजस्ता ऐतिहासिक महत्व बोकेका नदीहरू पनि यसै क्षेत्रमा छन् ।

डिहीटार, बुधसिंहटार, नौबिसेटार, पोखराटार र मुच्चोकटारलगायत यस गाउँपालिका क्षेत्रभित्रका प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँपालिका हो, अजिरकोट । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३९ कोटहरू छन्, त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपाताल, नागेपोखरी, माडीक्षेत्र, दूधपोखरी, नारदपोखरीलगायत मनास्लु हिमालको मनोरम दृश्यको अवलोकनसमेत यहाँबाट गर्न सकिन्छ । कोटमार्गका लिगलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । गोर्खा जिल्लाको अजिरकोटमा रहेको पुरानो कालिका मन्दिरको संरचना हटाई पुनः सुन्दर मन्दिर निर्माण गरिएको छ । सो मन्दिर त्यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

बाईसे–चौबिसे राज्यको समयमा अजिरगणको रूपमा रहेको सो स्थान हाल अजिरकोट नामबाट प्रसिद्ध छ । पर्यटकीय दृष्टिकोणबाट निकै सम्भावना बोकेको सो क्षेत्रबाट हिमचुली, बौद्ध, अन्नपूर्ण, गणेश हिमाल, चेपे नदी, दरौंदी र अन्य कयौं दृश्यावलोकन गर्न सकिन्छ ।

अजिरकोट क्षेत्रको महत्वपूर्ण पर्यटकीयस्थल नागेपोखरी पनि हो । यसलाई नागहरूको पोखरी भएकाले नै नागेपोखरी भनिएको हो । सत्ययुगमा देवीदेवताहरूले नाग कन्याका रूप लिएर विहार गरेको हुनाले नागेपोखरी भनेको भनी गण्डकी महात्म्यमा चर्चा गरिएको पाइन्छ । मनोरम सय मिटर लामो र ५० मिटर चौडाइ भएको यस पोखरीको पानीको प्रत्यक्ष निकास देखिँदैन । रमणीय यस पोखरीडाँडाबाट चितवनसम्म देख्न सकिन्छ । हिमाली दृश्यावलोकन गर्न सकिने यस पोखरीमा मूल देखिँदैन, गुराँसको फेदमा नागपूजा गरिन्छ । नीलो आकारको यस पोखरीमा बस्तुभाउले छेउबाट मात्र पानी खान्छन् । सो ठाउँमा प्याराग्लाइडिङ तथा जिपलाइनजस्ता साहसिक खेलको सम्भावना रहेको छ । यस ठाउँलाई पर्यटकीय रूपबाट गन्तव्य बनाउन आवश्यक छ । किंवदन्ती अनुसार च्यवन ऋषिको तपोथलो बांगेओडारलाई मानिन्छ । यहाँ नागपञ्चमीमा विशेष पूजा गर्ने प्रचलन छ ।

यस क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दूधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृंखला जान सकिन्छ । दूधपोखरी जानका लागि सिरानडाँडा, दोबाटो, ठूलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धूपीखोला, मपुरमाडी, तुइखर्क, बांगेरह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ ।

नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हँदै पुग्न सकिन्छ । दूधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्छ । दूधपोखरी र नारदपोखरीमाथिसम्म पनि भेडाखर्क देखिन्छ । यो क्षेत्र जडिबुटीको खानी हो ।

यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचऔंले, नीरमसी, जटामसी, भूतकेश, यार्सागुम्बा, पाखनभेद, रथविरथ, हर्राे, बर्राे, जुर्गाे, लेमनग्रास, तिते, अलैंची, कुरिलो, बोजो, कम्मरी लहरा, हात्तीपाइलेजस्ता अनगिन्ती जडिबुटी पाइन्छ । वनस्पतिमा गुराँस, चिमल, चाँप, धूपी, भोजपत्र आदि पाइन्छ । फलफूलमा भुइँचुत्रो, भोटेचुत्रो, भक्मिलो, काफल, मेल, नाल्चे आदि फलफूल पाइन्छ । तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाइन्छन् । जीवजन्तुमा काँडेभ्याकुर, मृग, हिमचितुवा, कस्तुरी, थार, बाघ, ब्वाँसो, हिमाली खैरो भालु, भालु, बाँदर, फ्याउरो, दुम्सी, वनबिरालो, मुनाल, डाँफे, कालिज, ल्याँचे, वनकुखुरा आदि पाइन्छन् ।

अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेंडीगोठ र हिमाली दृश्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वाभाविकै हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनास्लु उत्तर, रउला हिमाल, श्रृंगी हिमाल आदि साथै नागबेली आकारमा चेपे र दरौंदी नदी तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ ।

हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्राह्मण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहुरीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, बोलीवचन, साइनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताका आफ्नै निजी सम्पत्ति हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने