बझाङ । कक्षा ३ भन्दामुनि अध्ययनरत अधिकांश बालबालिकालाई ‘आफैंले हात धुनुपर्छ’ भन्ने साखै ज्ञान हुन्न । जस्तोसुकै फोहोरमा खेल्दा पनि खाना पाकेको समय अभिभावकले उनीहरूलाई बोलाएको खण्डमा सरसफाइ नगरेरै भान्छामा पुग्छन् र हतारहतार खान सुरु गर्छन् ।
केही समयअघि यस्तै गर्दै आएका सुर्मा गाउँपालिका–२ का बालबालिकाको आनीबानीमा अहिले परिवर्तन आएको छ । परिवर्तन सुरुवाती घर नभई विद्यालयबाट भएको हो ।
विद्यालय जाने शिशुदेखि माथिका सबै कक्षामा अध्ययनरत बालबालिका अहिले खाना खानुअघि अनिवार्य हात सरसफाइ गरेर मात्रै खान बस्छन् । विद्यालयमा दिवाखाजा कार्यक्रम लागू भएपछि आईडीएस नेपालले बालबालिकाको सरसफाइ मध्यनजर गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै फोहोर व्यवस्थापन’bout विद्यार्थी तथा शिक्षकलाई जानकारी गराएपछि सरसफाइप्रति रुचि बढेको पाइएको छ ।
चौथो घण्टीपछि विद्यालयमा दिवाखाजा खान सुरु गर्दा केही समयअघि मात्रै बालबालिका भान्छामा पुगेर हात सरसफाइ नगरेरै खान सुरु गर्थे । अहिले भने लामबद्ध भएर हातको सरसफाइपछि पालैपालो खाजा खाने गरेको प्रधानाध्यापक धनबहादुर बोहरा बताउँछन् ।
कक्षा ३ मा अध्ययनरत छात्रा निर्मला बोहरा केही समयअघि हात सफा नगरेरै खाजा खान्थिन् । अहिले उनले अनिवार्य हात सफा गरेर मात्रै खाने गरेकी छन् । आफूभन्दा साना भाइबहिनी र साथीहरूलाई पनि खानुअघि ‘हात सरसफाइ गरेर मात्रै खाना खानुपर्छ’ भनेर सिकाउँछिन् उनी ।

विद्यालयको हाफटाइममा सुरु दिवाखाजा विद्यालयमा खानेपानी समस्या भएका कारण पनि पहिलापहिला केहीले हातको सरसफाइ गरेर खाने र केहीले नगरेरै खाने गरेका थिए ।
आधारभूत माविका प्रधानाध्यापक धनबहादुर बोहरा अहिले आईडीएस नेपालले बालमैत्री धारा निर्माण गरी दिएपछि विद्यार्थीलाई सरसफाइ गर्न सहज भएको सुनाउँछन् ।
पहिले विद्यालयमा एउटै धारा थियो । हाफटाइम समय सबै विद्यार्थी त्यसै धारामा जान्थे र ससाना बालबालिकालाई समस्या हुन्थ्यो । त्यसकारण पनि बालबालिका हात सफा नगरेरै खाजा खान बाध्य थिए ।
अहिले आईडीएस नेपालको आर्थिक सहयोगमा बालमैत्री धारा निर्माण भएको छ । ७ देखि ९ विद्यार्थीले सहजै एकैपटक हात सरसफाइ गर्न सकिने तरिकाले धारा निर्माण गरिएको छ ।
बालमैत्री धारा निर्माण भएर पनि विद्यार्थीमा हात धुने बानी विकास भएको अभिभावक तथा बुद्धिजीविको अनुभव छ ।
वडा २ अध्यक्ष तथा समाजसेवी सुरेन्द्रबहादुर बोहराले धारा निर्माणपछि विद्यालयमा सरसफाइ गर्ने बानी विकास भएको बताए ।
‘पहिला विद्यालयमा दिवाखाजा खाँदा प्रायः धेरैजसोले सरसफाइ गरेको देखेको थिइनँ । एउटा विद्यालयमा खानेपानीको एउटै धारा थियो । त्यसमा पनि हाफटाइमको समय ठुला विद्यार्थी जम्मा हुने र ससानाले पालो नै पाउँदैनथे,’ उनी भन्छन्, ‘यस्तो समस्याले हात नधोएरै खाना खाने गर्थे । तर, अहिले बालमैत्री धारा निर्माण तथा सरसफाइसम्बन्धी जनचेतनाले धेरै परिवर्तन आएको छ ।’
विद्यालयमा मात्रै नभएर ससाना बालबालिकामा अहिले घरमै पनि हात सरसफाइ गरेर मात्रै खाना खाने बानी विकास भएको आफूले पाएको बोहरा सुनाउँछन् ।
आईडीएस नेपालले स्वास्थ्य र स्वच्छता अभ्यास सुधारिएको ज्ञान दिन, पोषणसम्बन्धी ज्ञान वृद्धि गर्न, सफा पानी, सरसफाइ सेवा, पहुँचमा वृद्धि र स्वास्थ्य समस्या रोकथाममा पहुँच बढाउने उद्देश्यले बझाङका १२ वटै पालिकामा रहेका ४ सय ५५ विद्यालयमा ‘विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम’ ल्याएको हो ।
आईडीएस नेपालका बझाङ संयोजक सुरेन्द्र जैरुले विश्व खाद्य कार्यक्रमको सहयोगमा एकीकृत विकास समाज नेपालले कार्यक्रम सञ्चालनमा ल्याएको बताए । कार्यक्रमको समग्र लक्ष्य बालबालिकाको शारीरिक, शिक्षा, मानसिक, भावनात्मक विकास रहेको उनले जानकारी दिए ।






