वीरगन्जमा पूर्वराजालाई नागरिक अभिनन्दन गरिने

वीरगन्ज । संघीय गणतन्त्रको चौतर्फी आलोचना भइरहेको समयमा वीरगन्जमा पनि राजावादीहरु जुर्मूराएका छन् । विभिन्न २० वटा उपगुटमा विभक्त उपसमिति बनाई राजाका सर्मथकहरु एक ठाउँमा उभिदै पूर्व राजाको स्वागत तथा नागरिक अभिनन्दन गर्न जर्मूराएका हुन् ।

पूर्व राजाको स्वागत तथा नागरिक अभिनन्दन गर्न बनेको मूल समारोह समिति अन्तर्गत २० वटै उप–समिति खडा गरी अभियानमा जुटेको मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले बताए । दलगत स्वार्थको खिल्ली उडाउँदै यो व्यवस्थाले उब्जाएको भ्रष्टाचारको तीखो आलोचना गर्ने राजाका समर्थकहरु २० गुटमा विभक्त देखिएका छन् । तथापि वर्तमान व्यवस्था उल्टाउने उद्घोष सहित उनीहरुले आगामी माघ १३ गते वीरगन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत र नागरिक अभिनन्दन गरी शान्तिपूर्ण आन्दोलनको विजारोपण गरिने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक भने नेपाली कांग्रेस नेता वीरेन्द्रलाल नेपाली रहेका छन् । उनी कांग्रेस निकट विद्यार्थी संगठनका संस्थापक अध्यक्ष समेत हुन् । ‘मेरो कांग्रेस पार्टी राजा सहितको २०४७ को संविधानका पक्षमा लागिसकेको छ’ नेता नेपालीले पत्रकार सम्मेलनमा बताए । राजनीति उल्टो दिशामा अगाडी बढ्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा उनले २०७२ साल जारी संविधानलाई अवैध संविधान भएकोले भन्दै जनताको एजेण्डा विनाको संविधान उल्टिने दावी गरे । २०४७ को संविधान नै यो मुलुकको लागि हितकर हुने तर्क वरिष्ठ अधिवक्ता समेत रहेका नेता नेपालीको छ । हाम्रो शान्तिपूर्ण आन्दोलन सुरु गरिने नेता नेपाली सहित पूर्व राजाका समर्थकहरुको पनि कथन छ ।

बाराको सिमरामा निवासको प्रवन्ध गरी पूर्व राजा ज्ञानेन्द्रको यहि मंसिर २८ गते सिमराबाट सर्लाहीको बरहथवा मुक्तेश्वर महादेवमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको पनि मूल समारोह समितिका महासचिव हिराबहादुर चन्दले बताए । मधेशका सर्लाही, रौतहट, बारा र पर्सामा १५ दिनको अवधिमा पूर्व राजा ज्ञानेन्द्र शाहको विभिन्न कार्यक्रम तय भइसकेको उनको भनाइ छ । सो तालिका अनुसार मंसिर २८ गते सर्लाहीको मुक्तेश्वर महादेव मन्दिरमा पूजा अर्चना, पुस २ गते १.३० गते सिमराबाट रौतहट शिवनगरस्थित शिव मन्दिरमा पूजा अर्चना, पुस ४ गते १.३० गते सिमराबाट बाराको गढिमाई मन्दिरमा पुगी पूजा अर्चना र माघ १३ गते वीरगन्ज स्थित लालबंगलामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भइसकेको मूल समारोह समितिका संयोजक नेता नेपाली र महासचिव चन्द लगायतले सार्वजनिक गरे ।

मूल समारोह समिति अन्तगर्त राजाका समर्थकहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मञ्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद्, शिव सेना नेपाल, वीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समूह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समूह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पूनस्र्थापना समिति, विश्व हिन्दु परिषद्, राप्रपा नेपाल, नेपाल जनता पार्टी, वजरंग दल, २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल र संघ संस्थाहरुको प्रतिनिधि समिति संयोजक र सदस्यहरु समेतको उप–समिति बनेको सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह