आराध्यालाई देखेपछि मदनकृष्णलाई किन ‘झँझँ’ हुन्छ ?

हाँस्यसम्राट मदनकृष्ण श्रेष्ठलाई आराध्या लक्ष्मी खड्गी देखेपछि किन किन ‘झँझँ’ नै हुन्छ रे !

किन नि ? (राजधानीको प्रश्न)

‘मेरो डान्स नि ! मलाई देखेपछि मदन बा’लाई झँझँ हुन्छ रे !’ आराध्याको मुस्कानमा दन्तेलहर भल्किए, अनि थपिन्, ‘अर्थात् उहाँमा नृत्य उन्माद झंकार हुन्छ रे !’

त्यसो त, आराध्याले ‘मह जोडी’का मदनकृष्णसँग मात्रै हैन, हरिवंश आचार्यसँग पनि सहकार्य गरिसकिन् । हिरण्य भोजपुरेको शब्द, हरिवंश आचार्य र टिका प्रसाईंको स्वरकृत ‘म त फसें माकुरीको जालमा परेर…’ म्युजिक भिडियो आराध्याले निर्देशन नै गरिसकेकी छन् ।

कुनै एक दिन उनी असनको ‘ओपन कन्सर्ट’मा नाच्दै थिइन् । भीडमा हजार अनुहारसँगै तालीका पर्रा छुटिरहेका थिए, तर एउटा ताली फरक तालमा गुन्जिँदै थियो । ताली पड्काउने ती ‘फ्यान’ आराध्या स्टेजबाट ओर्लने व्यग्र प्रतीक्षा गरिरहेका रहेछन् ।

घटना बडो रोचक लाग्छ ।
कारण जान्न चाहनुहुन्छ ?

पक्कै पनि तपाईंभित्र कौतूहल उम्रियो होला ! आखिर ती ‘फ्यान’को चाहना के थियो त ?

अब लागौं गाँठी कुरातिर !

विशेष उपहारसहित भोज हिँडेका ती शुभचिन्तक अर्थात् ‘फ्यान’ले ढुकेरै भए पनि आराध्याको हातमा उपहार थमाए, र भने, ‘तपाईंको नृत्य हेरेर मनै आनन्द भयो, यस्तो महसुस मलाई कहिल्यै पनि भएको थिएन । यो उपहार स्विकार्नुहोला !’

त्यो क्षण आराध्याको मन–मस्तिष्कमा यसरी गढेको छ कि उनले बिर्सनै सकेकी छैनन् । अप्रत्याशित र असोचीय घटनाक्रमपछि आराध्या अक्क न वक्क परेकी थिइन् । ती ‘फ्यान’ खुला स्थानमा चलिरहेको सांस्कृतिक कार्यक्रममा एकाएक टक्क अडिएका थिए, जुनबेला आराध्या स्टेज उक्लँदै थिइन् ।

आखिर तिनको अप्रत्याशित उपहार के थियो त ?

‘गाचा थियो, त्यो उहाँले भोजमा जान शुभकार्यका लागि किन्नुभएको रहेछ, जुन मेरो कलाको सम्मानस्वरूप दिनुभएको थियो,’ आराध्या सम्झिन्छिन्, ‘त्यो क्षण मेरो जीवनकै अविस्मरणीयमध्येको हो ।’

नेपाल भाषा कलाफाँटमा आराध्यालक्ष्मीलाई नचिन्ने कमै होलान् । छोटो समय तर चर्चाको चुलीमा छिन् उनी । सानोभन्दा सानो पाटोमा गहिरिन मन पराउने आराध्या आफूलाई ‘कलाकी आराध्या’ भन्न रुचाउन्छिन् ।

असन जनबहालको त्यस दिनपछि अर्को वर्ष त्यस्तै अविस्मरणीय घटना भइदियो । पहिलो प्रस्तुति के सकिएको थियो, हुटिङ सुरु भइहाल्यो, ‘वान्स मोर, वान्स मोर !’

स्टेजबाट झर्नै लागेकी आराध्या आफ्नो ब्याग गायिका रोजी श्रेष्ठलाई जिम्मा दिएर फेरि उक्लिइन् । गायिका श्रेष्ठ उनको नृत्यमा यति मग्न भइन् कि झोला कसैले टिपेर लगेको भेउपत्तैसम्म पाइनन् । रोजी नृत्यमा झुम्दैझुम्दै स्टेजअघिल्तिर पुग्दा यता कुर्सीमाथि राखेको ब्याग ‘गायब’ भइसकेको थियो ।

हराएको ब्यागमा नगद, पेनड्राइभ, मेकअप सामग्रीलगायत थिए । तर, दर्शकको ‘वान्स मोर’सँगै ती सब बिर्सिदिइन्, आराध्या लक्ष्मीले ।
‘धन्न ! मोबाइलचाहिँ त्यसदिन ब्यागमा थिएन,’ आराध्याले हाँस्दै सम्झिइन्, ‘नत्र, त्यो पनि जान्थ्यो ।’

त्यसो त, मोबाइल हराओस् पनि कसरी ? उनी आफ्नै मोबाइलबाट बजिरहेको गीतमा नाचिरहेकी जो थिइन् । ‘यो पनि राम्रैका लागि भयो,’ उनी फेरि मज्जाले हाँसिन् र गीताको प्रेरणादायी पंक्ति टुंग्याइन्, ‘त्यसैले जे हुन्छ, राम्रैका लागि हुन्छ ।’

सम्झना ललितपुर पाटन सुन्धाराको हो, एउटी आमाले उनको हात च्याप्प समाउँदै भनिन्, ‘हिँड् मेरो घरमा तिमीलाई केही ख्वाएर पठाउँछु ।’ आराध्या केही क्षण भावविह्वल बनिन् ।

‘मेरो नृत्यले उहाँ निकै खुसी हुनुभएको रहेछ, कार्यक्रम सकेपछि मेरो हातै समाएर ती माँले घर जान आग्रह गर्नुभएको थियो,’ त्यो क्षण सम्झिँदै केही भावुक देखिएकी आराध्याले भनिन्, ‘तर मैले उहाँको इच्छा पूरा गर्न सकिनँ, त्यो सम्झिँदा अहिले पनि मनमा कसोकसो लागिरहन्छ ।’

फरक चाल । केही भन्न खोजिरहेका आँखाहरू । र, फरासिलो मुस्कान । फराकिलो गुलाबी अधर मात्रै होइनन्, उनको हृदय पनि फराकिलै प्रतीत हुन्छ । अझ उनको मोहिनी नृत्य नगढ्ने कुरै भएन । उनी बारम्बार भन्छिन् पनि, ‘धनकी नभए पनि म मनकी रानी हुँ ।’

नेपाल भाषा कलाफाँटपछि उनको परिचय अब बिस्तारै फराकिलो बन्दै छ । ‘नृत्यको नशा लागेपछि यस्तै हुन्छ,’ घरीघरी मुस्कुराइरहने उनले नृत्यभावमै सुनाइन्, ‘सायद यसैलाई ‘प्यासन’ भनिन्छ ।’

नृत्य त रक्तकोषमा छ नै, अभिनय पाटामा समेत उनले आफूलाई ‘अब्बल’ साबित गरिसकेकी छन् । यद्यपि, नृत्यमा अभिनय भएन भने ‘भाव’हीन भइदिन्छ । यसर्थ, अभिनय र नृत्य परिपूरक हुन् । आराध्यालाई पनि यस्तै लाग्छ । ‘पक्कै पनि भावबिना नृत्य अपुरै रहन्छ,’ उनले राजधानीसँगको कुराकानीमा भनिन्, ‘त्यसैले नृत्य र अभिनय सिक्काका दुई पाटा हुन् ।’

लागौं अभिनय पाटातिर !

मात्र ९ मिनेटको नेपाल भाषाको लघु चलिचत्र ‘इन्द्रायणी’ले अन्तर्राष्ट्रिय पुरस्कार नै जित्यो । जीवन्त अभिनय, सामाजिक कथावस्तु र पात्र चयन ‘इन्द्रायणी’का सबल पक्ष थिए । जसमा आराध्या प्रमुख भूमिकामा थिइन् । एकल संघर्ष गर्दै कला आत्मसात् गरेकी उनका लागि अन्तर्राष्ट्रिय पुरस्कार ‘ओस्कार’भन्दा कम थिएन ।

‘आफ्नै बलबुत्ताले यहाँसम्म आइपुगेकी छु, यात्रा धेरै लामो छ,’ हकी स्वभावकी आराध्या भन्छिन्, ‘अझै शून्यमै छु, गर्नुपर्ने काम सुरु भएकै छैनजस्तो लाग्छ ।’ त्यसो त, नेपाल भाषाका चलचित्र तथा म्युजिक भिडियोमा उनी ‘मोस्ट वान्टेड’मध्ये पर्छिन् ।

नृत्यमा पारंगत आराध्याको रहस्य पनि खोलिहालौं ।

जान्न चाहनुहुन्छ त्यो रहस्य के हो ?

हो, उनले नृत्य सिकेकै होइन । यस मानेमा नृत्य उनका लागि ‘गड गिफ्टेड’ जरुर हो । कुनै गायकगायिकाले जन्मँदै मीठो स्वर लिएर आएजस्तै आराध्याको सवालमा पनि नृत्य त्यस्तै बनिदिएको छ, ‘गड गिफ्टेड’ ।

गीतिभाव टपक्कै टिप्नसक्ने खुबीले उनलाई ‘नृत्यरानी’ नै बनाइदिएको छ । ‘डान्सिङ स्टेप’का सवालमा उनको नृत्यभंगी फरक लाग्छन् । स–साना ‘स्टेप’मा पनि मीठो भंगी बुन्नसक्ने आराध्याले नृत्यमा कसैलाई पनि ‘गुरु थपना’ गरेकी छैनन् ।

त्यसो भए ‘एकलव्य’ हुन् त आराध्या ?

प्रश्न सुनेर उनी केहीबेर हाँसिन् । अनि भनिन्, ‘अँ ! त्यस्तै भन्नुप-यो, जेजति सिकें हेरेरै सिकेकी हुँ ।’

सानो छँदा टिभीमा ‘हिरोहिरोनी’ नाचेको देखेर उनी पनि सँगसँगै कम्मर मर्काउँथिइन् रे ! फुच्ची छोरी नाचेको देखेर बुबाआमा मख्ख पर्थे, अनि फुक्र्याउँथे, ‘कति राम्रो नाचेको ।’ बालिका दंग पर्थिन् । ललितपुर बुङ्मतिमा जन्मेकी तिनै बालिका आज नृत्यकी ‘आराध्या’ बनेकी छन् ।

आराध्याको कलायात्रा माला उनेझैं लाग्छ, एकपछि अर्को जोडिँदै आउने । नृत्य पछ्यायो अभिनय झुल्किन्छ, अभिनय कोट्यायो कोरियोग्राफी, कोरियोग्राफी उप्कायो निर्देशन छचल्किन्छ । ‘मोडलिङ’ त छँदै छ । गत वर्ष संसार अनलाइनले उनलाई ‘बेस्ट मोडल अवार्ड’ नै प्रदान ग-यो ।

हो, उनै आराध्याले ‘कोरियोग्राफी डाइरेक्सन’ गरेको ‘सरर बग्यो हावा…र ‘यो मनमा सधैंभरि…’ले गत वर्ष ‘वल्र्ड बुक अफ रेकर्ड्स’मा स्थानै जमाए ।
अझ पछिल्लो समय उनले निर्देशनतिर पनि झुकाव बढाउन थालेकी छन् । नेपाल भाषाको उनको पछिल्लो म्युजिक भिडियो ‘हाकु पर्सी…’मा उनको निर्देशकीय क्षमता प्रस्टिएको छ । जसले दर्शकबाट सकारात्मक प्रतिक्रियासमेत पाइरहेको छ ।

‘निर्देशन पनि मेरो प्राथमिकता हो, भन्नेले सबै विधामा हात हाल्यो भन्लान्,’ विभिन्न विद्यालयमा नृत्य शिक्षिकासमेत रहेकी आराध्याले कुराकानी बिट मार्दै भनिन्, ‘तर, निर्देशन पनि गर्नसक्छु भन्ने ममा आत्मविश्वास छ ।’

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी