कर्णालीमा मात्र बनाइने हाते तान व्यवसाय लोप हुँदै

हुम्ला । हुम्लाको उच्च हिमाली क्षेत्रमा तान बुन्ने पेसा लोप हुँदै गएको छ । युवाहरू शहर तथा वैदेशिक रोजगारका लागि विभिन्न देशमा जान थालेपछि परम्परागत तान बुन्ने पेसा लोप हुँदै गएको हो । भेडाको ऊनबाट तान बनाउने गरिएपनि जिल्लामा भेडा पालन पनि कम हुँदै गएकाले पेसा नै लोप हुँदै गएको तान बुन्दै आएका व्यवसायीहरु बताउँछन् ।

जिल्लामा भेडा, बाख्रा चरिचरन गर्ने वनको अभाव हुँदा व्यवसाय संकटमा परेको र तान पेसा हराउँदै गएको सिमकोट ७ का किसान धाजित शाहीले बताए । उनले बर्खा महिनामा भेडाको ऊन काटेर हिउँद महिनामा ऊन बाटेर तानबाट लिउ, पेरुवा, बख्खु, कामल्ला बनाउने गरिएको जानकारी दिए । तानबाट ऊनीका कपडा बनाएर विभिन्न जिल्ला गएर बिक्री गरेको सम्झिँदा अहिले त्यो सपना जस्तो लाग्ने सिमकोट ७ का किसान हरिबाने शाहीले बताए । उनले अहिले रेडिमेड कपडा भित्रिएका कारण पनि यो पेसा संकटमा परेको बताए ।

पहिला हिल्सा, यारी, चुवहा खोला, पञ्चमुखी हिमाल र सैपाल हिमाल जस्ता उच्च हिमाली क्षेत्रमा भेडा बाख्रा चरिचरनका लागि उपयुक्त ठाउँ हुँदा ऊन पनि धेरै हुने भएकाले तान पेसा चल्दै आएको थियो । उक्त वनमा चरिचरन गर्न नदिँदा भेडा, बाख्रा पालन घट्दै गएपछि तान पेसा पनि लोप हुँदै गएको छ ।

ऊनीबाट बनेका कपडा मानिसले रुचाउने भएपनि अहिले बनाउनै छाडेको सिमकोट ३ का किसान छिरिङ लामाले बताए । स्थानीय लामाका अनुसार लामा जातिको पुर्खौली पेसा तान बुन्ने भएपनि अहिले आफ्नै जातिले यो पेसा छाड्दै गएको बताए । पेसा लोप हुँदै गएपछि अहिले गाउँ घरमा हुने मेला, पर्वमा ऊनीका कपडा लगाउनेको संख्या पनि निकै कम हुँदै आएको किसान युटल लामाले बताइन् ।

उनका अनुसार हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्ने हुनाले ऊनबाट बनेका कपडाको मूल्य महँगो हुन्थ्यो । आधुनिक प्रविधिसँगै विभिन्न प्रकारका कपडा भित्रिन थालेपछि स्थानीय उत्पादनले बजार पाउन नसक्दा चीनबाट आयात हुने ऊन पनि अहिले नआउने उनले बताइन् । तान बुनेर ऊनको कपडा बनाउन धेरै झन्झटिलो र धेरै समय लाग्ने हुँदा पछिल्लो समय उत्पादन हराउँदै गएको पाइन्छ ।

तान प्रयोग गरेर बनाइएका कपडाको मूल्य अन्य कपडाभन्दा महँगो पर्ने भएकाले स्थानीयको रोजाइमा पनि अन्य कपडा पर्ने गरेको छ । पहिले भेडा, बाख्रा पालेर ऊन संकलन गरी तानबानट कपडा बनाएर वर्षमा दुईदेखि तीन लाख रुपैयाँसम्मका बख्खु बिक्री गर्दै आएको भएपनि अहिले आफैंले खाेजेर किन्नु परेको सिमकोट गाउँपालिका ७ का कृषक भैबहादुर शाहीले बताए ।

सर्केगाड गाउँपालिकाका स्थानीय रबिन्द्र शाहीले नयाँ पुस्ताले सीप नसिक्दा परम्परागतरुपमा तान बुन्ने पेसा लोप हुँदै गएको बताए । उनले केही वर्ष अगाडि विदेशमा तानबाट बनाएको कपडा माग हुने गरेको भए पनि अहिले घटेको बताए । पहिले एक परिवारले कम्तीमा वर्षमा तानबाटै ४५ थान ऊनीका कपडा बनाउने गरेको भएपनि अहिले घटेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्