काठमाडौं । निर्माण घोषणा भएको ६ महिनापछि अब भने चलचित्र ‘रावायण’ छायाँकनमा जाने भएको छ । चलचित्रको छायाँकनका लागि सम्पूर्ण तयारी पुरा भएको यसका निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन् ।
असोजमा यो चलचित्रको छायाँकन तयारी हुँदै थियो । त्यतिबेला अभिनेता अनमोल केसीले स्क्रिप्ट पुनलेखन गर्नुपछ भनेपछि चलचित्रको छायाँकन केही समयका लागि स्थगित गरिएको थियो । यो अबधिमा रावायणको स्कृप्ट लगायत सबैकुरा पुनरावलोकन गरेर निर्माण पक्ष छायाँकनमा जान लागेको हो । अब यो चलचित्रको चैतको तेश्रो साताबाट छायाँकन सुरु हुने भएको छ ।
यो चलचित्रमा यतिबेला पल शाह र पूजा शर्मा जोडी बनेर प्रवेश गरेका छन् । चलचित्रमा पुजा निर्माताको रुपमा समेत जोडिएकी छिन् । सुदर्शनको निर्देशनमा अघिल्ला तीन चलचित्र म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २ जस्ता सफल फिल्ममा जोडी बनेका पुजा र पल फेरी सुदर्शनसँग यो चौथो चलचित्रमा जोडिएका हुन् ।
यो चलचित्रमा यस अघि रहेको अभिनेता अभिनेत्री अनमोल केसी र नीति शाहको ठाउँमा पल शाह र पुजा शर्मा अनुबन्धित भएका हुन् । यो चलचित्रमा यस अघि प्रदीप खड्कालाई लिने तयारी भए पनि प्रदीप अझै ६ महिना थप दुई फिल्म व्यस्त भएकाले पलले रावायणमा इन्ट्रि पाएका हुन् ।
पल र पुजासँगै यो चलचित्रमा यसअघि अनुबन्धित भएका प्रमोद अग्रहरी, पूर्व मिस नेपाल निकिता चण्डकसँगै प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल पनि अनुबन्धित भएका छन् ।
होलीको अबसरमा यो चलचित्रको फस्ट लुक्स सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यो चलिचत्रलाई आगामी २१ भदौमा रिलिज गरिने निर्देशक सुदर्शन थापाले बताएका छन् । बिगतका झै यो चलचित्रलाई पनि सुदर्शनले आफ्नो जन्मदिन पारेर रिलिज गर्ने भएका छन् ।
यो चलचित्रको छायाँकारको रुपमा सौरभ लामा, लेखकमा शिवम् अधिकारी, कोरियोग्राफरमा विक्रम स्वाँर र रामजी लामिछाने, द्वन्द्व निर्देशका श्री श्रेष्ठ छन् ।
यो चलचित्रको संगीतको सम्पूर्ण काम मुम्बईमा भइसकेको छ । एक्सन–लभस्टोरी कथामा बन्न लागेको फिल्ममा पल शाहको दोहोरो भूमिका हुनेछ । एउटा सकारात्मक र अर्को नकारात्मक चरित्रमा उनी हुने बताईको छ ।






