धनगढीले गर्ने भयो, उत्कृष्ट सामुदायिक विद्यालयलाई हरेक महिना पुरस्कृत

धनगढी । धनगढी उपमहानगरपालिकाले हरेक महिना एक उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । उपमहानगरपालिका र सरकारी (सामुदायिक) विद्यालयबीच भएको कार्यसम्पादन सम्झौतामा हरेक महिना एक उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने उल्लेख छ ।

सम्झौताअनुसार हरेक महिना तोकिएका शैक्षिक क्रियाकलाप र उपलब्धि हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिनेछ । महिनाको एक पटक प्रधानाध्यापक बैठकमा महिनाभरि हासिल गरेका उपलब्धिको प्रस्तुति दिनुपर्ने पनि सम्झौतामा भनिएको छ ।

धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले सामुदायिक विद्यालयले गरेका गतिविधि र प्राप्त उपलब्धिका आधारमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने बताए । उनले भने– शैक्षिक सत्र २०८१ सुरू हुनपूर्व नै विद्यालयहरूसँग कार्यसम्पादन सम्झौता गरेका छौ । सम्झौतामा विद्यालयले गर्नुपर्ने सबै गतिविधि उल्लेख छन् ।

उनले गत चैत ८ गते विद्यालयहरूसँग ७२ बुँदे कार्यसम्पादन सम्झौता भएको र अहिले विद्यालय प्रशासनले शिक्षकहरूसँग कार्यसम्पादन सम्झौता गरिरहेको बताए ।

यसैबीच, उपमहानगरपालिकाले शिक्षकहरूको क्षमता विकासका लागि तालिम सञ्चालन गर्न विभिन्न चारवटा संस्थासँग सम्झौता गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले काठमाडौं विश्वविद्यालय, टिच फर नेपाल, आइडीआइ र कारखाना समूहसँग सम्झौता गरिएको जानकारी दिए ।

उनका अनुसार यस वर्षको शैक्षिक सत्र सुरू भएको पहिलो दिन (बैशाख २ गते) देखि ८६ जना शिक्षकहरूलाई १६ घण्टे तालिम प्रदान गरिएको छ । उनले भने– काठमाडौं विश्वविद्यालयले धनगढीका बालविकास, आधारभूत तह र माध्यमिक तहका शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माण, अंग्रेजी शिक्षण तथा कार्यगत अनुसन्धान सम्बन्धी चार दिने तालिम दिइसकेको छ ।

उनले आगामी दिनमा अनलाइन माध्यमबाट समेत शिक्षकहरूका लागि तालिम दिने व्यवस्था मिलाएको बताए । त्यस्तै, काठमाडौं विश्वविद्यालय, आइडीआइ, टिच फर नेपाल र कारखाना समूहले शिक्षकहरूका लागि तालिम प्याकेज समेत निर्माण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 592 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क