बर्दिया । लकडाउनको मौका छोपेर निकुञ्जमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएपछि तस्करहरु धमाधम पक्राउ पर्न थालेका हुन । गत शुक्रबार राती निकुञ्जले ८ जना तस्करलाई पक्राउ गरेको छ ।
लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा तस्करहरु वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएपछि निकुञ्जले सुरक्षामा थप कडाइ गरेको जनाएको छ ।
निकुञ्जले काठ तस्करीमा संलग्न बारबर्दिया नगरपालिका– ९ कर्तनियाका २ जना, अवैधरुपमा बालुवा चोरी निकारी गर्ने बासगढी–४ ककौराका २ जना, नदीमा विषादी प्रयोग गरि माछा मार्ने ४ जनालाई पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
यसैगरि वन्यजन्तुको शिकार गर्न प्रयोग गरिएको १ थान भरुवा बन्दुकसमेत निकुञ्जले बरामद गरेको छ । निकुञ्जको गस्ती टोलीले शिकार गर्न गएको व्यक्तिलाई पक्राउ गर्न खोजे पनि शिबारी बन्दुक छाडेर भागेको निकुञ्जले जनाएको छ । फरार शिकारीको खोजी भईरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा अवैधरुपमा माछा मार्न प्रयोग भएका ५ वटा डुंगा, १६ वटा जाल र २२ वटा बल्छी बरामद गरि नष्ट गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
यसअघि निकुञ्जले लकडाउन सुरु भएयता वन्यजन्तु र काठ तस्करीमा लागेका २८ जनालाई निकुञ्जले पक्राउ गरि सकेको छ । निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको छ ।
वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीखेर सेना र निकुञ्जका कर्मचारी परिचालन गरी निकुञ्जभित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङजस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जले जनाएको छ । वन्यजन्तुको चोरीशिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको प्रमुख संरक्षण अधिकृत बराल बताउँछन् ।