इटहरी । झापाबाट लुकिछिपी सुनसरी हुँदै भारतको विहार राज्य हिँडेका १४ जना भारतीय नागरिकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक विनोद शर्माले दिएको अनुसार उनीहरु झापा हुँदै आएका र सुनसरीको भण्टाबारी हुँदै विहार राज्य हिँडेका हुन् ।
‘उनीहरु झापाबाट तरकारी बोक्ने गाडीमा आएका रहेछन्,’ डीएसपी शर्माले फोन सम्पर्कमा भने, ‘बाहुनडाँगीमा काम गर्ने भारतीय नागरिक रहेछन्, हामीले पक्राउ गरेर आवश्यक सोधपुछ गरी फिर्ता पठाएका छौँ ।’
उनले उनीहरुलाई पक्राउ गरी उनीहरुसँग सोधपुछ गरी झापा नै पठाएको जानकारी दिए । अन्य केही मिडियाले भने भारतबाट नेपाल आएको उल्लेख गरेपनि ती मानिसहरु नेपालमै मजदूर गर्ने गरेको र लकडाउन भएपछि खान बस्न कठीन भएकाले विहार स्थित आफ्नो घरतिर जाँदै गर्दा अाँफूहरुले नियन्त्रणमा लिएको उनले बताए । ‘उनीहरुको घर चाहि विहारमा रहेछ,’ डीएसपी शर्माले भने, ‘रातको समयमा आएका थिए, हामी २४ घण्टा नै चेकजाँजमा रहेका छौँ ।’
उनीहरुलाई इनरुवा ३ सखुवागाछीबाट सुरक्षामा खटिएका प्रहरीले रातको समयमा नियन्त्रणमा लिएको शर्माको भनाई रहेको थियो ।
मोरङ सुन्दरहरैँचा नगरपालिका ७ का शम्भु विश्वकर्माले चलाएको तरकारी बोक्ने पिकअप भ्यानमा उनीहरु आएका थिए । विश्वकर्माले आँफूले तरकारी ल्याएको बताएपनि गाडीमा त्रिपालले छोपेर भारतीय नागरिकलाई ल्याईँदै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । रातको समयमा अन्य ठाउँमा चेकिङको क्रममा किन पक्राउ परेनन् भन्ने प्रश्नमा डीएसपी शर्माले भने, ‘पुलिसहरुले नै गाडीमा हालेर पठाइदिन्छन्, समस्या छ ।’ उनले अन्य ठाउँमा चेकिङ गरेपनि केही प्रहरीहरुले नै फट्याईँ गरिदिने बताए । सुनसरीमा एकपछि अर्को भारतीय नागरिकको आवतजावत् बढेपछि सुनसरी प्रहरी कडा रुपमा प्रस्तुत हुने शर्माको भनाई थियो ।
यता, आज मात्रै इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ११ जना भारतीय नागरिकलाई कोरोना भाइरसको नमूना परीक्षण गरी राखिएको छ । क्वारेन्टाइनमा रहेका ११ जना भारतीय नागरिकलाई प्रहरीले सुनसरीको बर्जुस्थित एक मस्जिदबाट पक्राउ गरी कोरोना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानमा आवश्यक नमूना स्वाब परीक्षणपछि उनीहरुलाई इटहरीको क्वारेन्टाइनमा पठाईएको थियो ।