वैकल्पिक लोकतान्त्रिक दलको आवश्यकता र सम्भावना

२०४६ सालको जनआन्दोलनले सफलता प्राप्त गरेपश्चात् सैद्धान्तिक हिसाबले मुलुकले लोकतन्त्र पाएको हो । तर, अल्पअवधिमा लामो त्याग र तपस्या गरेका नेपालका राजनीतिज्ञहरूले लोकतन्त्रलाई व्यवहारमा उतार्न सकेनन्, यो ध्रुवसत्य हो । अल्पअवधिमै राष्ट्रिय राजनीतिमा पकड जमाएका साम्यवाद र लोकतन्त्रवादीका हिसाबले प्रस्तुत भएकाहरू जनताबाट आलोचित बन्दै गएका हुन् । नेपालको भूराजनीति र सत्तामा रहनेहरू जनतासमक्ष जवाफदेही नहुँदाकै परिणाम मुलुकले १० वर्षको द्वन्द्व सामना गर्नुपरेको हो । ठूलो धनजनको क्षति भएको यस द्वन्द्वले पनि शान्तिपूर्ण राजनीतिमा आउने निर्णय लिइसकेको छ । आतंकवादको सिर्जना गरेर शासन सत्तामा पुग्न असहज हुने पाठ द्वन्द्वरत पक्षले सिकेको अवस्था छ । अबको राजनीति जनताकेन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरू स्पष्ट छन् । तर, यी राजनीतिक दलहरू सच्चिनुपर्ने अवस्था छ । यो लक्षण प्रायः सबै राजनीतिक दलमा देखिएको छैन । जनता वैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षामा देखिएका छन् । अबको वैकल्पिक राजनीतिक शक्ति कुन हुन सक्छ त ? यस’boutमा केन्द्रित रहेर संक्षिप्त चर्चा गरौं ।

के लोकतन्त्रको विकल्प सम्भव छ ?
नेपालमा वैकल्पिक शक्तिका रूपमा स्वघोषित दलले जनताका बीचमा केही हदसम्म आफ्ना धारणाहरू जोडदार रूपले राख्दै आएका छन् । यस दलले लोकतन्त्रवादी र साम्यवादी दुवै दलको कडा आलोचना गरिराखेका छन् । यसप्रकारका आलोचनाहरूले पटकपटक सत्तामा पुगेका दलहरूलाई चुनौती थपिएको छ । कम्युनिस्ट पार्टीको जस्तो बलपूर्वक सत्ता कब्जा गर्ने नीति नयाँ दलले लिएका छैनन् । लोकतान्त्रिक रणनीतिको अवलम्बन गर्दै राज्यका अंगहरूको लोकतान्त्रीकरणका माध्यमबाट सत्तामा पुग्ने लक्ष्यका साथ अघि बढेका छन् । नयाँ शक्तिको उदय हुनु भनेको त्यस मुलुकका ऊर्जावान् युवाहरूले राजनीतिलाई अवलम्बन गर्नु हो । यो नयाँ पुस्ताको राजनीतिमा देखिएको चासो हो । यो नेपालका लागि मात्र नयाँ हो, विश्वका धेरै मुलुकका युवाहरू यसप्रकार राजनीतिमा आएका छन् ।

पुराना दलका कार्यशैली र ढाँचा आवश्यकताभन्दा बढी उदार, अलोकतान्त्रिक र भ्रष्ट आचरणमा लिप्त छन्

परम्परागत दलहरूलाई विस्थापित गर्ने उद्देश्यसहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा पश्चिमा मुलुकहरू र भारतमा समेत यसप्रकारका नयाँ शक्तिहरूको उदय भएको छ । उनीहरूको नारा, सिद्धान्त, आदर्श हेर्दा वामपन्थी वा लोकतान्त्रिक कुनै खेमामा मात्र सीमित बनेको छैन । उदार लोकतन्त्र र बहुलवादी समाजलाई आत्मसात गर्दै उनीहरूले आफूलाई राजनीतिक मैदानमा उतारेका छन् । आधुनिक विश्वले क्रमशः साम्यवादी सिद्धान्त र निश्चित व्यक्ति वा समूहको सत्ता सञ्चालनमा एकाधिकारलाई अस्वीकार गरिआएको छ । वैकल्पिक शक्तिका रूपमा प्रस्तुत हुनेहरूले यही कोणबाट राजनीति गरिराखेका छन् ।

नयाँ शक्तिहरूले सबैलाई समेटेर लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै जनतालाई केन्द्रबिन्दुमा राखेर गुणस्तरीय सेवा प्रवाह गर्दै जनताको समर्थन प्राप्त गर्ने उद्देश्य राखेका छन् । पुराना दलहरूका कार्यशैली र ढाँचा आवश्यकताभन्दा बढी उदार अलोकतान्त्रिक र भ्रष्ट आचरणमा लिप्त भएकाले उनीहरूलाई राजनीतिको मूल प्रवाहबाट विस्थापित गर्नुमा मात्र राष्ट्रको भलाइ हुने उनीहरूले धारणा राख्दै आएका छन् । यी शक्तिले राजनीतिक सिद्धान्तलाई कम महत्व दिँदै जनताका आवश्यकताहरूको परिपूर्ति व्यवहारमै गर्ने दाबी गरिराखेका छन् । यी दलहरूले राज्य शक्तिको प्रकृतिमा नै परिवर्तन गरी राज्य व्यवहारमै बढी लोकतान्त्रिक हुनुपर्ने र जनताप्रति जवाफदेही हुनैपर्ने पैरवी गरिराखेका छन् । उनीहरू राज्यका सबै अंगहरू गैरजिम्मेवार, अकर्मण्य भएकाले राज्यका सबै अंगहरूका पुनर्संरचना अत्यावश्यक भएको देखिराखेका छन् । यही परिवेशमा भारतमा आमआदमी पार्टीको जन्म भएको हो ।

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदय भएकाहरूले जनताबाट अनुमोदित हुन निर्वाचनमा जनताको विश्वास आर्जन गर्न सक्नुपर्ने, शासकीय शक्तिको बृहत् रूपमा विकेन्द्रित गर्नुपर्ने र लोकतान्त्रिक संस्थाहरूको पुनर्संरचना गर्दै पूर्ण रूपमा पारदर्शी र जवाफदेही बनाउनुपर्ने हुन्छ । यो अवस्था नेपालमा पनि समान देखिएको छ । आमआदमी पार्टीकै लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा उत्रिएको छ । पुराना दलहरूबाट निराश भएका नागरिकहरूलाई नयाँ आशा र उत्साहका साथ सत्ता सञ्चालन गर्ने उद्घोष गरिराखेको छ ।

वैकल्पिक दलका लागि केही सुझाव
रास्वपाको वर्तमान समयको पार्टी सञ्चालन शैली हेर्दा यो दलमा पनि व्यक्ति हावी भएको अवस्थाको चर्चा भइराखेको छ । दलका अध्यक्षमाथि विवादका चाङ लागेका छन् । मिसन २०८४ सालको लक्ष्य राखेर हिँड्ने गरेको र त्यसको माध्यम पुराना दलहरूको कुशासनलाई मानिराखेको यो दल पनि यिनै आलोचित दलहरूले नेतृत्व गरेको सरकारमा पटकपटक सहभागी बनेको छ । सरकारमा जाँदा विकृतिहरू सुधार गर्न यस दललाई असहज हुने अवस्थाको आँकलन गर्न सक्नुपथ्र्यो । विभिन्न अपराधहरूमा संलग्न भएका ठूला अपराधीहरूलाई कानुनको कठघरामा ल्याउन नसक्ने अवस्थाको पूर्वानुमान हुन सकेको देखिएन । प्रतिपक्षमै बसेर सरकारको स्वस्थ र कडा आलोचना गर्दै मिसन २०८४ सालको प्रतीक्षा गर्दा जनतामा परेको सकारात्मक प्रभावले निरन्तरता प्राप्त गर्न सकिने अवस्था बन्ने थियो । सरकारमा सहभागी हुनैपर्ने अवस्थामा दलका अध्यक्षले गृह मन्त्रालय नलिई अन्य महत्वपूर्ण मन्त्रालय लिएर आफ्नो दललाई मजबुद बनाउन क्रियाशील हुनुपर्ने अवस्था थियो । सरकारमा गएका मन्त्रीहरूलाई स्वार्थ बाझिने मन्त्रालयमा नराखेर पोर्टफोलियो परिवर्तन गरेर मिलाउन सकिने थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गरेको अपुष्ट सूचना सम्प्रेषण भएको छ । नेपालको वर्तमान राजनीतिलाई नजिकबाट नियाल्दा यसलाई विश्वास गर्न सकिने आधारहरू छन् । त्यसैले, यदि सरकारमा सहभागी हुनैपर्ने अवस्थामा प्रधानमन्त्री स्वीकार गर्दा आफ्नो एजेन्डानुसार अघि बढ्न सहज हुने थियो । यी सबै कमी कमजोरीका कारण यस दललाई इलामका मतदाताहरूले अस्वीकार गरेका हुन् । यसबाट दलको साख केही हदसम्म गिरेको छ । यसमा सन्देह रहँदैन । यी विकल्पमा यो दल चुकेकै हो ।

रास्वपा विवादमा आइरहने, पुराना दलहरूमा सुधार नआउने दुर्भाग्यपूर्ण अवस्थाबाट मुलुकको राजनीति अघि बढेको छ

हालसम्मको यस दलको राजनीतिक प्रस्तुतीकरणको अध्ययन गर्दा कुनै सिद्धान्तलाई आत्मसात गर्नुभन्दा ज्यादा पुराना दलहरूका कमी कमजोरीलाई उजागर गर्दै जनताका बीचमा अस्वीकार्य बनाइ आफ्नो दललाई स्थापित गराउने रहेको छ । लामो समयदेखि सत्तामा रहेका पुराना दलहरूको कडा आलोचना गर्दै जनतालाई आफ्नो पक्षमा समाहित गर्ने लक्ष्य राखेको छ ।

आमनागरिकलाई कुन दलले के कस्तो सिद्धान्त अवलम्बन गरेका छन् ? कुन दल साम्यवादी, लोकतन्त्रवादी वा अन्य के हो ? यसमा खासै चासो रहँदैन । उनीहरूलाई नेपालको राजनीतिले आमन्त्रण गरेको विकृति र विसंगतिको सुधार हुनुसँग चासो रहन्छ । नेपालको संविधानमा भएका विशेषगरी मौलिक अधिकारहरूको कार्यान्वयनमा खरो बन्न सक्दा जनताको समर्थन मिल्नेमा सन्देह रहँदैन । सुशासनका लागि पर्याप्त व्यवस्था वर्तमान संविधानले गरेको छ । मिसन २०८४ सालका लागि आफ्नो अवधारणापत्र बनाउँदा यी महत्वपूर्ण पक्षहरूलाई समेट्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धका ’boutमा समेत प्रस्ट पार्नु जरुरी हुन्छ ।

तर, सुशासनका दिशामा अघि बढ्दा सबैभन्दा असहज पक्ष भ्रष्टाचार नियन्त्रण गर्दै गुणस्तरीय सेवा प्रदान गर्नु हो । रास्वपाको एकल प्रयासबाट भ्रष्टाचार नियन्त्रण गर्न कठिन छ. । यसका लागि स्रोत साधन, विज्ञता, प्रविधि, समर्पणभाव र इमानदारिताको आवश्यकता पर्छ । जनताका नजरमा आलोचित नबनेका अन्य राजनीतिक शक्तिहरूसँग एकता हुनु जरुरी छ । संयुक्त प्रयासका लागि देशव्यापी राजनीतिक सञ्जालको विस्तार र व्यवस्थापन गर्नु जरुरी छ । संयुक्त प्रयासमा जुटेका राजनीतिक शक्तिहरू सबैको साझा उद्देश्य मुलुकमा विद्यमान संस्थागत भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्नु हो । तर, वैकल्पिक शक्तिका रूपमा अघि बढेको दलमाथि नै जनता आलोचनामा उत्रिन थालेका छन् । यस अवस्थामा राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन जनस्तरमा प्रभाव पर्ने प्रकारले गरिनु अत्यावश्यक छ ।

तर, पुराना स्थापित शक्तिहरू स्रोतसाधन सम्पन्न छन् । मुलुकभर राजनीतिक दलको सञ्जाल विस्तार भएको छ । लोकतन्त्रका लागि लामो समय योगदान गरेका छन् । सिद्धान्त र आस्थालाई परित्याग गर्दै नयाँ शक्तिसँग संलग्न हुन असहज मान्ने मतदाताहरूको संख्या पनि उल्लेख्य छ । वैकल्पिक दलको दाबी गरिराखेको दलका अध्यक्षलाई प्रमुख प्रतिपक्षी दलले संगीन आरोप लगाएको छ । जनताले यस नयाँ दललाई समेत शंकाको दृष्टिले हेर्न थालेका छन् । यस अर्थमा रास्वपालाई कुनै प्रकारको गल्ती गर्ने छुट छैन । पुराना दलहरू सच्चिनुपर्छ । तर, राजनीतिक परिस्थितिको अध्ययन गर्दा रास्वपा विवादमा आइरहने, पुराना दलहरूमा सुधार नआउने दुर्भाग्यपूर्ण अवस्थाबाट मुलुकको राजनीति अघि बढेको छ । यस परिस्थितिमा कुनै अर्को वैकल्पिक दलको उदय हुन सक्छ । यसो भएमा मात्र वैकल्पिक शक्तिमा जनताको आस्था र विश्वास रहन्छ । मुलुकले विश्वास गर्नलायक वैकल्पिक शक्तिको प्रतीक्षा गरिराखेको अवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै