राजविराज । आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै आईतवार नेपाली काँग्रेस सप्तरीले राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अगुवाईमा प्रदेश सभा सदस्य मो. समिम, सचिव रामकुमार यादव, विष्णुपुर तथा राजगढ गाउँपालिकाका प्रमुख सहित करिब दुई सयको संख्यामा पार्टी कार्यालयबाट निस्केको जुलुस पक्राउ परेका कार्यकर्ताको रिहाई माग्दै बजार क्षेत्रमा प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगि ज्ञापन पत्र समेत बुझाएका छन् ।
गत २१ माघमा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह सहित केही कर्मचारी माथि हातपात गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाका निवासी अमरेन्द्र कुमार यादव, अर्जुन कुमार यादव र राजिव कुमार रायलाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि अमानविय व्यवहार अन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाई छ । काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको दावी गर्दै रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी ज्ञापनपत्र मार्फत दिइएको बताए । उनले डाक्नेश्वरी नगरपालिकाका प्रमुख साहलाई भेट्न जाँदा उपप्रमुखका पति ओम प्रकाश यादवले आफ्ना कार्यकर्ता माथि दुव्र्यवहार गरेको तथा फसाउने नियतले उल्टै प्रहरीमा झुठो उजुरी दिएको दावी गरे । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनिल खनालले सो घटना ’bout विस्तृत जानकारी लिई आवश्यक निर्णय लिने बताएका छन् ।






