धनगढी । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा धनगढीका सामुदायिक र संस्थागत विद्यालयहरूमध्ये सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल दस विद्यालयलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच सो विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान गरेको हो ।
एसईईमा सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण भएको भन्दै सिद्धनाथ माध्यमिक विद्यालय, पञ्चोदय माध्यमिक विद्यालय, राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलका प्रधानाध्यापकहरूलाई धनगढी नगर प्रमुख गोपाल हमालले सम्मान गरेका हुन् ।
एसईईमा सिद्धनाथबाट ६१ प्रतिशत, पञ्चोदयबाट ५९ प्रतिशत, बेहडाबाबाबाट ५३ प्रतिशत, राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयबाट ४० प्रतिशत र त्रिभुवन माध्यमिक विद्यालयबाट ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी, संस्थागत विद्यालयतर्फ गुरूकुल एकेडेमी, मयुर बोर्डिङ स्कुल, कैलाली विद्यानिकेतन, वाल्मीकि स्कुल, फूलबारी एकेडेमी र मिलन बोर्डिङ स्कुललाई पनि सम्मान गरिएको छ ।
शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल गुरूकुल र मयुर बोर्डिङ स्कुल सहित ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाली विद्या निकेतन, ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल वाल्मीकि र फूलबारी एकेडेमी तथा ९४ प्रतिशत उत्तीर्ण गराएर उत्कृष्ट नतिजा ल्याउन सफल मिलन बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपलहरूलाई समेत सम्मान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।






