खोटाङ । पोखरीमा डुबेर खोटाङमा एकैघरका दाजुबहिनीको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका वडानम्बर(३ बाङाका गईन्द्र राईका ६ वर्षीय छोरा संगम राई र ३ वर्षीया छोरी संवृद्धि राईको सिँचाई पोखरीमा डुवेर मृत्यु भएको हो ।
संगम र संवृद्धि सोमबार दिउँसो करिब २ बजेतिर घरबाट हराएका थिए । नानीहरूको खोजी गर्दै जाँदा उनीहरुकी आमा ममता राईले साँझ करिब ५ः४५ बजेतिर घरदेखि केही टाढा रहेको भुतिया खोला नजिकैको सिँचाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेकी थिइन् ।
सामान्य रूपमा हात खुट्टा चलाइरहेको अवस्थामा उद्धार गरेर घरमा ल्याएको केही समयमा नै बच्चाहरु मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले बताए । प्रहरी चौकी च्यास्मिटारले सूचना पाउनासाथ प्रहरी सहायक निरीक्षक जबर बहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले तत्काल घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिइएको छ ।
मृतक संगम स्थानीय कलङ्का आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत थिए । बच्चाहरूका बुबा गईन्द्र भने हाल रोजगारीका लागि विदेशमा रहेका छन् ।






