लमजुङ । लमजुङमा अग्रज कलाकार ठाडोभाका सम्राज्ञी नन्दमाया दुरासहित सात जना सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला समितिले २३ औँ वार्षिक साधारण सभा ती स्रष्टाहरू लाई सम्मान गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रले देशभरका जिल्ला शाखामा एकै दिन साधारण सभा सम्पन्न गर्न निर्देशन दिए बमोजिक सो साधारण सभा भएको हो ।
सो अवसरमा लमजुङ जिल्लाका दुई जना अग्रज स्रष्टा, कार्यसमितिको उत्कृष्ट सदस्य र गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरूलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– ११ सिंदुरे निवासी अग्रज स्रष्टा ठाडोभाका सम्राज्ञी नन्दमाया दुराका साथमा बेसीशहर नगरपालिका– ५ निवासी अग्रज स्रष्टा रोशन गुरुङलाई सम्मान गरेको हो । सुमधुर स्वरकी धनी ७२ वर्षीया नन्दमाया दुरालाई २०७६ सालमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले ‘ठाडोभाका सम्राज्ञी’ उपाधिका साथ सम्मान गरेको थियो ।

त्यसैगरी सम्मानित हुनेहरूमा लमजुङ जिल्लाबाट गण्डकी प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधित्व गर्ने प्राज्ञ सदस्यहरू क्व्होलोँथार गाउँपालिका– २ मालिङका गजेन्द्र गुरुङ, क्व्होलासोँथार गाउँपालिका– ८ घाम्राङका केयरसिंह गुरुङ र मध्यनेपाल नगरपालिका– ८ डडुवाका राजबहादुर गुरुङलाई सम्मान गरेको हो ।
सम्मानित स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले संयुक्त रुपमा दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
प्रतिष्ठानले जिल्ला कार्यसमितिबाट दुई जनालाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताए । उनका अनुसार कार्यसमिति सदस्य चित्र दुरा र किशोर बिकलाई उत्कृष्ट वर्ष सदस्यको उपाधि सहित सम्मान गरिएको हो ।
सो कार्यक्रममा बेसीशहरमा रहेका विभिन्न टोलका आमा समुह तथा विद्यालय बाट नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्मानति व्यक्तित्व नन्दमायाँ दुरा, प्रतिष्ठान लमजुङका कार्यसमिति सदस्य नविन बरालले ठाडोभाका प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेको प्रतिष्ठान लमजुङका सचिव प्रशान्त तामाङले बताए ।
सो अवसरमा अग्रज लोक गायिका माया गुरुङ, लोकप्रिय कलाकार पूजा परियार शेर्पा, बिबेक धिताल लगायतका कलाकारले सांगीतिक कोशेली प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव प्रशान्त तामाङले गरेका थिए ।






