काठमाडौं । नेपाल र थाईल्याण्डबीच चलचित्र संस्कृति आदन प्रदानको लागि काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ ।
दूतावासले पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जनाएको छ । नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले यो महोत्सब बिगत एक दशकदेखि रोकिएको भए पनि अब यसलाई निरन्तता दिने बताएका छन् ।
हामीले यो महोतसब यही भदौ १४ गते शुक्रबारदेखि काठमाडौंका ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा सुरु गर्दैछौं । तीन दिनको यो महोत्सब भदौ १६ गते आइतबार समापन हुनेछ ।’ राजदुत सिरिसोर्नले भने,‘यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो, जसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो ।’
राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन यो महोत्सब आयोजना गरिएको बताए । भविष्यमा पनि यो फेस्टिभल निरन्तर आयोजना गरिने जानकारी गराउँदै महोत्सबमा यसपटक दर्शकले उत्कृष्ट थाई चलचित्र हेर्न पाउने जनाए।
यस फेस्टिभलमा थाई चलचित्र बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा चलचित्रहरू प्रदर्शन गरिने पनि राजदूत सिरिसोर्नले बताए, ‘हामीले विभिन्न जनरातका चलचित्रलाई यो महोत्सबमा प्रदर्शन गर्दैछौं । महोत्सबमा दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका चलचित्रहरूको आनन्द लिनुका साथै निःशुल्क हाम्रो थाई खानाको पनि स्वाद दिन पाउनु हुनेछ ।’
फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ५ः३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शनसँगै हुनेछ। त्यसपछि सोही साँझ ‘प्याड थाई द मुभी’ देखाइनेछ। भदौ १५ गते मध्यान्ह १२ः१५ बजे ‘टुगेदर द मुभी’ र दिउँसो ३ बजे ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ। अन्तिम दिन भदौ १६ गते साँझ ५ः३० बजे ‘ड्रिम अ लिटिल ड्रिम’ र त्यसपछि साँझ ७ बजे ‘ब्रोकन सोर्ड हिरो’ चलचित्र प्रदर्शन हुनेछ। फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।







