बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँका झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
दिनभर गाउँले त्रसित
आइतबार विहान ११ बजे गाउँलेहरु गाउँ नजिकै रहेको सामुदायिक वनमा झाडी सफा गर्न गएका थिए । झाडी सफा गर्ने क्रममा एक्कासी चितुवाले आक्रमण गरेको स्थानिय पोटन थारुले बताए । सामन्य घाइते भएकाहरुको ठाकुरबाबा नगर अस्पताल र गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ ।
सबै भन्दा पहिले चितुवाले झुती थारुलाई आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अन्यलाई पनि चितुवाले आक्रमण गरेको स्थानियबासीको भनाई छ । २ बच्चासहित चितुवा सामुदायिक वनमा रहेको प्रत्यक्षदर्शी डाक्टर थारुले बताए ।
घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारी घटनास्थल पुगेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जको टोली दिउँसो चितुवा खोजीका लागि हात्तीसहित सामुदायिक वनमा पुगेको थियो । साझसम्म हात्तीसहितको सेनाको टोली खोजी गर्दा पनि चितुवा फेला नपरेको निकुञ्जले स्रोतले जनाएको छ । खोजी कार्य जारी रहेको निकुञ्जले जनाएको छ । झाडी भएका कारण हात्तीले खोज्न असहज भएपछि डोजर लगाएर झाडी सफा गर्ने कार्य पनि भएको स्थानियले बताएका छन् ।
गाउँसँगै जोडिएको सामुदायिक वनमा चितुवा रहेको थाहा पाएपछि स्थानियबासी त्रसित भएका छन् । चितुवालाई जसरी भए पनि नियन्त्रणमा लिनु पर्ने स्थानियबासीको माग छ ।






