झापा कपको फाइनलमा न्युरोड र चर्च ब्वाइजको भेट

झापा कपको फाइनलमा न्यु रोड टिम (एनआरटी) प्रवेश गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।

भर्खरै सम्पन्न इलाम गोल्डकपमा पनि यिनै दुईटिम बिच फाइनलमा भेट भएको थियो । न्युरोडले तीन शुन्य गोल अन्तरले इलामको उपाधी हात पारेको थियो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ भने इलाम गोल्ड कपको हारको बदला लिने अवसर चर्च ब्वाइजले पाएको छ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरे । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो । खेलको २१ औँ मिनेटमा अञ्जनले अवसर सदुपयोग भएन ।

२८ औँ मिनेटमा नेमारले गोल गर्न सकेनन् । खेलको ४२ औँ मिनेटमा एनआरटीका अञ्जन विष्टको प्रहार जागृतिका गोलरक्षक निरज चौधरीले बचाए । ७६ औँ मिनेटमा शिशिर लेखीले डिबक्सममा पाएको पासलाई फ्रेममा पार्न सकेनन् । ८३ औँ मिनेटमा नेमारको क्रसमा लेखीको हेडर गोलरक्षक चौधरीले पञ्च गरेर बचाए ।

जागृतिका लागि ५० औँ मिनेटमा खमिर गिल्सन कन्दङवाको कडा प्रहार एनआरटीका गोलरक्षक विशाल सुनारले पञ्च गरेर बचाए । ८२ औँ मिनेटमा योगेन्द्र कार्कीले २५ यार्ड टाढाबाट गरेको प्रहार फ्रेममा पर्न नसक्दा खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान