बर्दिया । ठाकुरबाबा नगरपालिकाले ठाकुरबाबा र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीको खैलारमा ह्यिुमपाइप निर्माण गरेको छ । ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका नागरिकलाई सुरक्षित एवं छोटो दुरिमा आवतजावत गर्नका लागि बबई नदीको खैलारमा ह्युमपाइप राखेर अस्थायी संरचना निर्माण गरिएको पालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिकाले बबई नदिको खैलार घाटमा ह्युमपाइप राखेर अस्थायी रुपमा संरचना निर्माण गरेपछि बारबर्दिया र ठाकुरबाबा नगरपालिकाबासिलाई आवतजावतमा सहज भएको छ ।
दुबै पालिकालाई जोड्ने यो मार्ग सुरक्षित एवं छोटो दुरिमा पर्छ । ठाकुरबाबा–९ मा रहेको ठाकुरद्धारा मन्दिरमा माघ १ गते विशेष मेला लाग्ने गर्गछ । सोही मेलामा ठाकुरबाबा मन्दिरमा दर्शन गर्न तथा परम्परागत माघि मेलामा आवतजावत गर्न सहज होस् भन्ने उदेश्यले बबई नदीको खैलार घाटमा ह्युमपाइप राखेर अस्थायी संरचना बनाइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
स्थानीयका अनुसार बबई नदीमा अस्थायी संरचना निर्माण भएपछि हिउँद अवधिभर बबई नदिमा पानीको सतह नबढेसम्म आवतजावतमा सहज हुनेछ । ह्युमपाइप राखेर अस्थायी संरचना बनेपछि नागरिकलाई आवतजावत गर्न सहज भएको स्थानिय दिपककुमार बुढाथोकले बताए । नदिमा पानिको सतह नबढेसम्म हिउँदमा ओहोरदोहोर गर्न सहज भएपनि छिट्टै बबई नदीको खैलार घाटमा पक्की पुल निर्माणका लागि स्थानीयले माग गरेका छन् । बबई नदीको खैलार घाटमा पुल निर्माणकार्यको तयारी पनि भइरहेको र आगामी वर्ष बजेट छुट्याउन पहल भइरहेको नगर प्रमुख लम्सालले बताए ।
बारबर्दियाको कतर्निया हुँदै ठाकुरबाबा नगरपालिकाको खैलार, मिर्चैया, नगर अस्पताल नेउलापुर, गोदाना हुँदै ठाकुरद्वारालाई जोड्ने वैकल्पिक सडक निर्माणका लागि ९५ करोडको टेन्डर आह्वान गर्ने तयारी भइरहेको पालिकाले जनाएको छ । उक्त सडक निर्माण भएमा यस क्षेत्रको कृषि, शिक्षा, उद्योग, पर्यटन तथा व्यापार व्यवसायमा ठूलो टेवा पुग्ने स्थानियको आशा छ ।






