ललितपुर । पहिलो संस्करणको ‘खो–खो विश्वकप’ प्रतियोगिता सोमबारबाट भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ । पुरुषको प्रतिस्पर्धा सोमबारबाटै सुरु भए पनि महिलाको प्रतिस्पर्धा भने मगलबारबाट सुरु हुनेछ ।
नेपाल र भारतबीचको उद्घाटन खेल राती साढे ८ बजे
प्रथम खो खो विश्वकप २०२५ को उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतीय समय अनुसार राती साढे ८ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा हुनेछ ।
पुरुष तर्फ नेपालले समूह ए मा प्रतिस्पर्धा गर्नेछ । यो समूहमा नेपालसँगै भारत, भुटान , पेरु र ब्राजिल रहेका छन् ।
नेपालले मंगलबार पेरुसँग, बुधबार ब्राजिलसँग र बिहीबार भुटानसँग समूहचरणमा खेल्नेछ । समूहका विजेता र उपविजेता क्बार्टरफाइनलमा पुग्नेछन् ।
समूह ए मा बलियो रहेको भारतलाई विश्व विजेताको दाबेदारका रुपमा हेरिएको छ । यही समूह ए मा रहेको नेपाललाई पनि प्रतियोगिताको एउटा मजबुद टोलीका रुपमा लिइएको छ । नेपाल खो खो संघका अध्यक्ष प्रदीप मर्हजन नेपालले च्याम्पियनका लागि प्रतिस्पर्धा गरेपनि उपविजेतासम्मको संभावना नेपालको प्रबल रहेको बताउँछन् र्। भारत बलियो टोली छ , दाबेदार पनि हो तर नेपाल पनि कमजोर पक्कै छैन, उनले भने, ‘उपाधी नजिते पनि उपविजेतासम्म नेपाल हुनसक्ने संभावना अधिक छ । उनका अनुसार यो खोखो खेलको पहिलो विश्वकपमै सहभागी हुन लागेको नेपाललाई अलिक चुनौती दिएर रोक्नसक्ने बंगलादेश पनि रहेको छ । सन् २०२३ मा भारतको गुवाहटीमा भएको एशियन च्याम्पियनसीपमा नेपाल , भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो ।
समूह एबाट कम्तिमा दोस्रो हुँदै क्बाटरफाइनल, त्यसपछि सेमिफाइनल र त्यहाँबाट पनि अगाडी बढे फाइनलमा संभवत् भेट भारतसँग नै हुने देखिन्छ ।
विश्वकपको समूह बि मा दक्षिण अफ्रिका , घाना , अर्जेन्टिना , नेदरल्याण्ड्स र इरान रहेका छन् । यस्तै समूह सि मा बंगलादेश, श्रीलका , दक्षिण कोरिया , अमेरिका र पोल्याण्ड रहेका छन् ।
यसैगरी समूह डि मा इंगल्याण्ड, जर्मनी , मलेसिया र केन्या रहेका छन् । टिमका कप्तान हेमराज पनेरुले आफूहरुले राम्रो नतिजा पस्कने बताए र्। प्रशिक्षकहरूले आधुनिक रूपमा अभ्यास र प्रशिक्षण गराउनु भएको छ , प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो नै आउनेमा हामी विश्वस्त छौँ ।, उनी भन्छन्, ‘ जानु अघि चर्चा नभएपनि नतिजा पस्केर हामी चर्चा दिलाउनेछौँ । ’
कूल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदैछन् ।
यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भनेपनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको सख्या २३ पुगेको अन्र्तराष्ट्रिय खोखो महासंघले जनाएको छ ।
पुरुष खो खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसियसनले जनाएको छ । नेपाली टोली शनिबार दिउँसो नयाँ दिल्लीतर्फ प्रस्थान गरेको थियो ।
खो खो पुरुष टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा ।
पुरुष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
अर्का प्रशिक्षक: कयामुद्दिन मन्सुर
विश्वकपमा महिला टोलीको खेल मंगलबार
विश्वकपमा समूह सि मा परेको नेपाली महिला टोलीले मंगलबार भुटानसँग विहान १० बजे खेल्नेछ । त्यही दिन ४ बजे जर्मनीसँग पनि खेल्नेछ ।
यो समूहमा नेपाल, जर्मनी र भुटानसँगै श्रीलंका र बंगलादेश पनि रहेका छन् । बुधबार श्रीलकासँग र बिहीबार बगलादेशसँग नेपालले खेल्नेछ ।
तुलनात्मक रुपमा नेपाल सहज समूहमा परेको छ , अन्तिम आठमा पुग्नका लागि । तैपनी बंगलादेशले पनि नेपाललाई चुनौती दिने संभावना छ । क्बार्टरफाइनल या सेमिफाइनलमा नेपालको भेट भारतसँग नभएको खण्डमा उपविजेतासम्मको संभावना हुनेछ भने अन्यथा त्यहीबाट यात्रा पनि सकिनसक्ने संघका अध्यक्ष मर्हजन बताउँछन् ।
महिला विश्वकपको समूह ए मा भारत , इरान , मलेसिया र दक्षिण कोरिया रहेका छन् । समूह बि मा इगल्याण्ड , अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स रहेका छन् । यसैगरी समूह डि मा दक्षिण अफ्रिका , न्युजिल्याण्ड , पोल्याण्ड , पेरु र इण्डोनेसिया रहेका छन् ।
महिला खो खो टिम ः सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले ।
महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण बैद्य
अर्का प्रशिक्षक: उषा कवर मगर
सेफ दी मिसन: सुशीलमान व्यञ्जनकार
प्रतियोगितामा एसियाबाट नेपाल भारत, , भुटान, बंगलादेश, श्रीलंका, इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरिया रहेका छन् । अफ्रिकाबाट घाना, केन्या, दक्षिणसाउथ अफ्रिका, युगान्डा तथा युरोपबाट इंग्ल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, र पोल्यान्ड रहेका छन् । यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र पेरु तथा उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिका र ओसियाना क्षेत्रबाट अष्ट्रेलिया र न्युजिल्यान्डले भाग लिएका छन् ।
खो खो व्यापक रूपमा दक्षिण एसियामा खेलिन्छ र दक्षिण एसिया बाहिर दक्षिण अफ्रिका र इङ्गल्याण्ड जस्ता क्षेत्रहरूमा पनि यसको बलियो उपस्थिति छ। यो खेल “नेपाल खो खो संघ’ अन्तर्गत दर्ता छ । जुन राष्ट्रिय खेलकुद परिषद्मा ३६ नम्बरमा छ।







