चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
साहारा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ ४७ पैसा ठगी भएको अभियोगपत्रमा उल्लेख
साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा संलग्न रहेको भन्दै लामिछानेसहित थप १५ जनाविरुद्ध मंगलबार पूरक अभियोग दायर भएको हो । पूरक अभियोग दायर हुनेमा रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।
साहारा बहुउद्देश्यीय सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ ४७ पैसा ठगी भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १ सय ३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ ।
अभियोगपत्रमा बिगो भने कुल ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ मागदाबी गरिएको छ । मूल अभियोगपत्रबाट कुल ४ सय ४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ १ पैसा गरी सो रकम बिगो कायम भएको अभियोगपत्रमा उल्लेख छ ।
साहारा सहकारी ठगीमा यसअघि गत ८ असोजमा सो सहकारीका संस्थापक गीतेन्द्रबाबु (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
पूरक अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ । ‘विभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ,’ अभियोपत्रमा भनिएको छ ।
लामिछानेमाथि यसअघि कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराधमा समेत मुद्दा दर्ता भएकामा चितवनमा भने ठगीमा मात्रै मुद्दा चलाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको हो ।
लुइँटेलले भने, ‘सहकारीको रकम गएकामध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरूलाई पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ, लामिछाने भने एउटा कम्पनीमा मात्र सञ्चालक देखिएकाले उनलाई ठगीमा मात्रै मुद्दा चलाइएको हो ।’
लामिछाने गोरखा मिडियाका तत्कालीन शेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक हुन् । हाल निलम्बित रहेका लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट विजयी सांसद पनि हुन् ।
सरकारी वकिलको कार्यालयले लामिछानेसहित खनाल, अछामी, रिमाल, सिद्धिकी, विशाल र कविता तामाङविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको हो ।
मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पु¥याए ठगी गरेको मानिने भनिएको छ । सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिमाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ ।
संगठित अपराध र ठगी दुवैमा भने गीतेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, कुमार रम्तेल, सागर केसी, हेमन्त अधिकारी, आशिष रानामगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, दीपक लामा र नेत्रप्रसाद बाँस्तोलासमेत गरी १२ जनालाई मुद्दा चलाइएको छ ।
अभियोगपत्रमा जीबी राईले ४१ लाख ३० हजार, सिद्धिकीले ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङबाट २ करोड ६४ लाख व्यक्तिगत रूपमा सहकारीलाई भर्नुपर्ने मागदाबी लिइएको छ ।
अदालतमा दायर अभियोगपत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ गएको देखिएको छ । गोर्खा मिडियामा गएको रकममध्ये जीबी, जोशी, लामिछाने, रम्तेल र जिबी ग्रुप अफ कम्पनीबाट भराउनुपर्ने मागदाबी अभियोगपत्रमा गरिएको छ । गोर्खा मिडियामा जीबी अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए ।
यस्तै, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, नेचर हब्र्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८ सय ९७, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३ रुपैयाँ, नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३ सय २२ र गोरखा ग्रुप अफ मल्टी इन्भेस्टमेन्टमा १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ । अन्य कम्पनीमा गएको रकमसमेत त्यसका सञ्चालकबाट भराउनुपर्ने मागदाबी लिइएको छ ।
लामिछानेबाहेक चितवनको साहारा सहकारीबाट लामिछानेपत्नी निकिता पौडेल र गोपीकृष्ण मुभी कम्पनीमा समेत रकम गएको देखिएको छ । निकिताको खातामा ५९ लाख ३८ हजार २ सय ५१ र गोपीकृष्ण मुभीको खातामा ८१ लाख २५ हजार रुपैयाँ गएको खुलेको हो ।
तर, चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा लामिछानेले अन्यत्रझैं रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । उनले पहिले आफू सहकारीको रकम ल्याउने काममा संलग्न नरहे पनि सञ्चालक रहँदा खर्च भएको रकमको जिम्मेवारी लिन तयार रहेको सार्वजनिक रूपमै बताएका थिए । अहिले चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा उनले अन्यत्रझैं रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।
लामिछानेले टेलिभिजनमा रकम ल्याउने कार्यमा सञ्चालकका रूपमा जिबी नै जिम्मेवार रहेको भनेका छन्, ‘कम्पनीका चेकमा हस्ताक्षर गर्ने व्यक्तिमध्ये म एक भए पनि कम्पनीको लगानीकर्ता म थिइनँ, मेरो जिम्मेवारी भनेको ग्यालेक्सी फोरके टिभीमा प्रसारण हुने सामग्रीमा केन्द्रित थियो ।’
लामिछानेलाई सहकारी रकम अनियमिततामा जिम्मेवार बनाउनुपर्ने भन्दै एमाले सांसद् सूर्य थापाको नेतृत्वमा गठित संसदीय विशेष समितिले ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखिएको भनिएकामा २२ करोड ४६ लाख रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानोपाइला, स्वर्णलक्ष्मी, समानता र साहारा सहकारीबाट जम्मा भएको देखिएको थियो । ४३ करोड ७ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा जम्मा गरेको देखिएको निष्कर्ष निकालिएको थियो ।
लमिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाडेको थियो । कास्की र काठमाडौं जिल्ला अदालतले उनलाई क्रमशः धरौटीमा छाड्ने आदेश दिएपछि लामिछानेले बाहिरै रहेर मुद्दाको प्रक्रियालाई सघाउने सुविधा पाइरहेका छन् ।
चितवनमा मुद्दा दर्ता भएसँगै उनी अदालत हाजिर भएपछि उनको मुद्दामा थुनछेक बयान र बहस हुनेछ । त्यसपछि साधारण तारेखमा छाड्ने, धरौटी तोकेर छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश न्यायाधीशले गर्नेछन् । चितवनपछि पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुने क्रममा छ ।







