गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जनाले सेवा पाएका छन् । गाउँपालिकाले आइतबार पालिकाको वडा नम्बर ३ हाडहाडेमा एकीकृत घुम्ती सेवा संचालन गरेको थियो ।
जसमा पशुसेवाअन्तरगत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राको लागि औषधी वितरण गरिएको छ । दुई सय पाँच कृषकलाई पशुसम्बन्धि परामर्श दिइएको छ भने २५ वटा एन्टिरेविज भ्याक्सिन वितरण गरिएको छ ।
कृषि सेवाअन्तरगत २४७ जनालाई विउपल वितरण गरिएको छ । स्वास्थ्य सेवा अन्रतगत एक सय ७८ जनालाई निःशुल्क बिरामी जाँच तथा औषधी वितरण गरिएको छ । १६ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे तथा ८० जनालाई आयुर्वेद उपचार गरिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिए ।
शिविरमा ८० जनालाई आयुर्वेद उपचार, २० जनालाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण एवं एक सय ३० जनाको आँखा परीक्षण गरिएको छ । पालिकाका सम्बन्धित शाखाका कर्मचारी तथा प्राविधिकहरुले सेवा प्रदान गरेका थिए ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सबै वडामा घुम्ती सेवा प्रदान गरिने बताए । ‘नागरिकलाई घरदैलोमै सेवा दिने उदेश्य हो ।’ पोखरेलले भने ।






