इलाम । इलाम फाकफोकथुम गाउँपालिका–३, आमचोक सल्लेरीकी १९ वर्षीया गर्भवती विमला कट्टेल (गिरी) को हत्यार आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी उनैका श्रीमान उमेश गिरीलाई हत्या आरोपमा सार्वजनिक गरेको हो ।
हत्यापछि कच्ची सडकमा पुरेर श्रीमति हराएको भन्दैहिडे उमेश
विमला हराएको सूचना चैत १ मा आमचोक प्रहरीमा निवेदन पाएपछि प्रहरीले विशेष टोली बनाएर उनको खोजतलास थालेको थियो । दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब दुई घन्टाको पैदल दूरीमा रहेको फाकफोकथुम गाउँपालिका दुईको धार्नेखोप स्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव माटोमुनि गाढिएको पायो ।
विमला हराएको घटनाको अनुसन्धानक्रममा प्रहरीले उमेशलाई केही दिनअघि नै नियन्त्रणमा लिइसकेको थियो । र, विमलाको शव बीच सडकमा गाढिएको पनि उमेशले नै देखाएपछि घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ । विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको छ । प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार उमेश विवाहेत्तर सम्बन्धमा रहेको र त्यसैकारण पत्नी हत्या गरेको हुनसक्ने देखिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले त्यसअघि पनि घरमा पति–पत्नीको सामान्य घरझगडा हुने गरेपनि हत्याको धम्की दिनेगरेको चाहिँ नखुलेको बताए । उनीहरुले एक वर्ष अघि मात्रै विवाह गरेका थिए ।
‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाँऔं भनी घरबाट लगेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छ, पत्नी सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेको र खाडल खनेर गाढेको देखिन्छ ।’ तर कसरी त्यहाँ पुर्यायो, खाल्डो खन्न के प्रयोग गर्यो भन्नेकुरा प्रहरीले खुलाएको छैन अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको बताएको छ ।
गर्भवती पत्नीको हत्या गरी सडकको बीचमा लगेर गाढ्नेजस्तो संवेदनशील घटनाले आफू पनि चकित भएको एसपी कोइराला बताउँछन् । ‘घटनाको प्रकृति हेर्दा यो सामान्य हत्यामात्रै होइन,’ एसपी कोइरालाले भने, ‘गर्भवती पत्नीलाई हत्या गरेर बीच सडकमा गाढ्नु अत्यन्त्र हिंस्रक र गम्भीर प्रकृतिको घटना हो । विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन् ।
घटनामा उमेशबाहेक अरूको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । तर घटनाको प्रकृति र महिला गाडेको स्थान, घरबाट हिनेको समय र घर परिवारले नै थाहा नपाई बुहारी घरबाट हराउनु र छोराले नै बुहारी मारेको खुल्नुले पनि यो घटना निकै गम्भीर देखिएको छ । तर प्रहरीले हत्याको विस्तृत विवरण भने अनुसन्धान भइरहेको भन्दै केहिदिनमा आउने बताएको छ ।






