काठमाडौं । अभिनेता आर्यन सिग्देलको शिर्ष भूमिका रहेको नेपाली चलचित्र ‘के घर के डेरा ः घर नम्बर २’ आगामी ९ जेठमा रिलिज गरिने भन्दै प्रचार थालिएको थियो ।
अव यो चलचित्र ९ जेठमा नभएर त्यो भन्दा एक साता अघि २ जेठमा रिलिज हुने यसका निर्देशक दीपेन्द्र के. खनालले जनाएका छन् ।
यो चलचित्रका वितरकको सल्लाह बमोजिम के घर के डेरा ः घर नम्बर २ को रिलिज ९ जेठबाट एक हप्ता अगाडि सरिएको निर्देशक खनालले बताएका छन् । यसका वितरक करण श्रेष्ठले पनि अब यो चलचित्र २ जेठमै रिलिज हुने सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।
चलचित्र के घर के डेरा ः घर नम्बर २ लाई बुद्धि सागरले लेखेका हुन् । यो चलचित्रको छायांकारमा कृष्णबहादुर थापा रहेका छन् । जसमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यता दिनेश राउत निर्देशित चलचित्र महाभोजको रिलिज १५ जेठमा गरिने निर्माण पक्षले यसै साता तय गरियो । सो चलचित्रमा पनि आर्यन सिग्देलकै मुख्य भूमिका रहेको छ । यसरी दुई साता भित्र लगातार आर्यन सिग्देलकै चलचित्र रिलिज हुँदा ब्यापारमा असर पर्ने भनाई वितरक करण श्रेष्ठको छ । सोही कारण आफुले चलचित्र के घर के डेरा ः घर नम्बर २ को रिलिज एक साता अघि सारेको उनले प्रकाश पारेका छन् ।
उता ९ जेठमै अभिनेता राजेश हमालको शिर्ष भूमिका रहेको चलचित्र नरसिंहा अवतार रिलिज हुँदैछ । एकै मितिमा दुई ठुला चलचित्र नजुधाउने निस्कर्ष सहित के घर के डेरा ः घर नम्बर २ को रिलिज ९ जेठबाट अघि सारिएको पनि निर्माण पक्षको कथन छ । २ जेठमा अर्को ठुलो व्यानरको नेपाली चलचित्र नभएकाले सो मितिमा यो चलचित्रलाई सारिएको रहेछ ।






